भक्तपुर जिल्ला स्तरीय धिमे बाजा प्रतियोगितामा न्हुँ जः धिमे खलः प्रथम हुन सफल

भक्तपुर, माघ २६ गते
भक्तपुर जिल्ला स्तरीय धिमे बाजा प्रतियोगितामा न्हुँ जः धिमे खलः प्रथम हुन सफल भएको छ । भने महिलाको समूह ख्वप धिमे खलः दोस्रो भएका छन् |यसै गरी छालिंगको श्री गणेश दाफा भजन समूह तेस्रो हुन सफल भयो । सान्तोनामा भने द राइजिन कल्चर गुपको धिमे समूह तथा नगांचा धिमे बाजा खलः भएका छन् भने प्रोत्साहन पुरस्कारमा गुंगचिवा धिमे खल र पाँडु बजार धिम खलःले पाएका छन् । निर्णायक मण्डलहरुको तर्फबाट शारदा डंगोलले नतिजा प्रस्तुत गरेको सो प्रतियोगिताका उत्कृष्ठ भएका र सहभागि समूहलाई आजै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनतिज्ञ नारायणमान विजुक्छेले पुरस्कार तथा प्रत्रमाण पत्र वितरण गर्नु भयो ।
शनिवार र आइतवार भक्तपुर नगरमा भएको धिमेबाजामा जिल्लाभरीबाट ७७ वटा समूहले सहभागिता जनाएका थिए । भक्तपुर नगरबाट ६० वटा, मध्यपुर थिमी नगरबाट २ वटा, सुर्यविनायक नगरपालिकाबाट २ वटा र चाँगुनारायण नगरपालिकाबाट १३ रहेका थिए । दुधपाटीबाट शनिवार र्याली आयोजना गरी दत्तात्रय मन्दिर परिसरमा आयोजना गरेको स्थलगत मूल्यांकनमा ७२ समुहले सहभागिता जनाएको  आयोजकले जनाएको छ |

उत्कृष्ठ र सभागि भएका धिमे बाजा समूहलाई आज पुरस्कार वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल मजदुर किसान पाटीका अध्यक्ष नारायणमान विजुक्छेले गुरुहरुले राम्ररी सिकाएकाले नै उत्कृष्ठ प्रस्तुती हुन सकेको बताउँदै यो जनताको सम्पति भएको बताउनु भयो । टोल टोलमा धिमे बाजाको सिकाईले देश विदेशमा समेत यसको प्रभाव रहेको उल्लेख गर्दै महिला वर्ग र नयाँ पुस्ताले पनि सिकाई गर्न थालेकोमा प्रशंसा गर्दै यसबाट आर्थिकरुपमा पनि प्रगति गर्न सकिने विचार राख्नु हुँदै यो शिक्षाको एक अभिन्न अंग समेत रहेको बताउनु भयो । खेलकूदको विकाससँगै किसान वर्गका छोरा छोरीले पनि शिक्षा र सांस्कृतिक स्तरमा समेत विकास हुँदै आएको कुरा अभिभावक वर्गलाई समेत जानकारी भएको बताउनु भयो ।
भक्तपुरका हरेक मानिस कलाकार हुने बताउँदै अध्यक्ष विजुक्छेले चीनमा फैलिएको कोरना भाइरसले पुर्याएको प्रभावको समीक्षा गर्दै सरकारले ख्वप विश्व विद्यालय स्वीकृति दिएमा पर्याप्त डक्टरहरु उत्पादन गर्न सकिने विचार व्यक्त गर्नु भयो । ख्वप मेडिकल कलेजले १०।१५ लाखमै डाक्टर पढाउन सकिने उल्लेख गर्दै यसले मजदुर किसान एवं गरीवका छोरा छोरीले पनि डक्टर पढ्ेर सेवा दिन सक्ने विचार राख्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।
सभाको सभापतित्वमा रहनु भएका भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भक्तपुरलाई साँस्कृतिक नगरको रुपमा ज्ञानविज्ञानको केन्द्र, पर्यटकिय गण्तव्य स्थलको रुपमा बस्न योग्य सुन्दर नगरको रुपमा विकास गर्न व्यबहारिक अभ्यास गर्दै आएको बताउनु भयो । साँस्कृतिक पक्षमा नयाँ पुस्ताका बालबालिकालाई साँस्कृतिक सिप सिकाएर हस्तान्तरण गर्न सकेमात्रै युगौसम्म बचाइ राख्नका लागि सर्वप्रथम पाठ्यक्रममा यी विषयहरु समाबेस गरेको बताउनु भयो । कक्षा १ देखि १० सम्म अध्ययन गर्ने ३६ हजार ५ सय विद्यार्थीहरुका लागि भक्तपुरको जात्रा पर्व र संस्कृति एवं परम्परागत खानाका परिकारहरुको महत्व झल्किने गरी शिक्षण सिकाई भइरहेको उहाँले बताउनु भयो । साँस्कृतिक, राजनैतिक एवं विभिन्न पक्षमा योगदान गर्नेहरुको समेत जीवनी पढाई रहेको बताउनु भयो ।
बाजा गुरु एवं निर्णायक मण्डलका सदस्य शेष नारायण महर्जनले जंगली जनावरबाट सुरक्षित हुन बाजा संस्कृतिको विकास भएको उल्लेख गर्दै प्रतियोगिता उत्साहप्रद रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद सुरेन्द्रराज गोसाईले पहिले डर भागाउनका लागि बाजा बजाउने चलन रहेको सुनेको र अहिले राजनैतिक, सामाजिक एवं सरकारका बेठितिहरुको विरोधकालागि पनि बाजा बजाइ रहेको अनुभूति भएको बताउनु भयो । विरोघ गर्ने नयाँ शैलीको रुपमा पनि लिनसके हामी ठिक ठाउँमा पुग्ने विचार राख्नु भयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरलाई जीवन्तता दिन सांस्कृति प्रतियोगिताले थप योगदान पु¥याउने बताउनुहुँदै भक्तपुर महोत्सवमा समाविष्ट गरिने सांस्कृतिक कार्यक्रमहरुबारे जानकारी गराउनुभयो ।
उहाँले भक्तपुर भूकम्पीय जोखिममा रहेको क्षेत्र भएको नपाद्वारा सञ्चालित कलेजहरुमा भूकम्प इन्जिनियरिङ विषयको अध्ययन—अध्यापन भइरहेको छ भन्नुभयो । नयाँ पुस्तालाई कुलतबाट जोगाउन विभिन्न प्रतियोगिता र गतिविधिमा संलग्नता बढाइरहनुपर्ने बताउनुहुँदै उहाँले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा कुनै किसिमको लापरबाही हुनु नहुनेतर्फ सजग पार्नुभयो ।

कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष तथा धिमेबाजा प्रतियोगिता संयोजन समितिका सदस्य उकेश कवांले धिमेबाजाको विकास र प्रवद्र्धनमा अग्रजको भूमिका उल्लेखनीय भएको बताउनुहुँदै मानव सभ्यताको विकासको निम्ति निरन्तर लागिरहनुपर्ने बताउनुभयो । नयाँ पुस्तामा विदेशी वाद्यवादनमा आकर्षण बढिरहनु चिन्ताको विषय भएको औंल्याउनुहुँदै नेपालको गीत—संगीतलाई बचाइराख्न नयाँ पुस्तालाई क्रियाशील बनाइराख्नु आजको आवश्यकता हो भन्नुभयो ।

उक्त समारोहमा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले भक्तपुर देशकै सांस्कृतिक महत्व बोकेको ठाउँ भएको बताउनुहुँदै भक्तपुर नपाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी भएको स्रोत—साधनको अधिकत्तम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् धिमेबाजा प्रतियोगिता संयोजन समितिका सदस्य रबिन्द्र ज्याख्व, भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले पनि बोल्नुभएको थियो ।

प्रतियोगितामा प्रथम हुन सफल टोलीलाई नगद रु. ३०,०००।—, धिमे १ थान, भुछ्या १ जोडी, सिछ्या १ जोडी, द्वितीय स्थान हासिल गरेको टोलीलाई नगद रु. २५,०००।—, धिमे १ थान, भुछ्या १ जोडी, तृतीय स्थान ओगटेको टोलीलाई नगद रु. २०,०००।—, धिमे १ थान, सिछ्या १ जोडी र सान्त्वना हुन सफल दुईवटा टोलीलाई नगद रु. १०,०००।—, भुछ्या १ थान, धिमे १ थान प्रदान गरिएको थियो ।

त्यस्तै प्रतियोगितामा सहभागी सबै टोलीलाई भुछ्या १ जोडी र खाजा खर्च रु. २००० प्रदान गरिएको उक्त समारोहमा निर्णायक मण्डलका सदस्य, धिमेबाजा प्रतियोगिता संयोजन समितिका सदस्य, बजार परिक्रमा मूल्यांकनकर्ताहरुलाई मायाको चिनोसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।