नेमकिपाका अध्यक्ष रोहितसँग ललितपुर महानपाका प्रमुख चिरिबाबु महर्जनको भेट

नेमकिपाका अध्यक्ष रोहितसँग ललितपुर महानपाका प्रमुख चिरिबाबु महर्जनको भेट
२०७७ चैत्र १८ गते, बुधबार
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भेट गर्नुभयो । बुधबार अध्यक्ष बिजुक्छेँसँग उहाँको निवासमा भएको भेटमा ललितपुर महानपाले गरिरहेको गतिविधि तथा समसामयिक विषयमा कुराकानी भयो ।
भेटमा अध्यक्ष बिजुक्छेले जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने र जनप्रतिनिधिले इमानदारीपूर्वक देश र जनताको सेवा गर्दा जनताले सुख पाउने बताउनुभयो ।
प्राचीन र ऐतिहासिक सहर तथा सम्पदा क्षेत्रमा भारी सवारीसाधन प्रवेश निषेध गर्नुपर्ने र व्यवस्थित रुपले काम गर्न नगरपालिकामा कार्यरत निरीक्षकहरुलाई इन्जिनियरिङ तालिम दिनुपर्ने अध्यक्ष बिजुक्छेँले बताउनुभयो । उहाँले पुरानो सीप तथा प्रविधिहरुलाई संरक्षण गर्नुपर्ने बताउनुहुँदै भाषा तथा साहित्य क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई नगरपालिकाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
भेटमा ललितपुर महानपाका प्रमुख चिरिबाबु महर्जनले भक्तपुर नपाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा देशकै लागि उदाहरणीय कार्य गरिरहेको र ललितपुरले पनि सम्पदा बस्ती संरक्षण गर्ने हेतुले आवश्यक नीति–नियमहरु बनाउँदै अगाडि बढिरहेको बताउनुभयो ।
ललितपुरको सम्पदा संरक्षणमा महानपाले गरिरहेको कार्यहरुबारे अवगत गराउनुहुँदै प्रमुख महर्जनले सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारमा ठेकेदारलाई भन्दा स्थानीय उपभोक्ता समितिमार्फत गराउनुपर्ने महानपाले निरन्तर जोड दिँदै आएको बताउनुभयो । सो भेटमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको पनि उपस्थिति थियो ।
अध्यक्ष बिजुक्छेँलले नेमकिपाको पार्टी प्रकाशनहरु मायाको चिनोस्वरुप प्रमुख महर्जनलाई प्रदान गर्नुभएको थियो भने प्रमुख महर्जनले पनि उहाँलाई उपहारस्वरुप केही प्रकाशनहरु प्रदान गर्नुभएको थियो ।
भेटपश्चात प्रमुख चिरिबाबु महर्जन र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबीच नगरपालिकाको सभाकक्षमा दुई नगरपालिकाबीच अनुभव आदानप्रदान भयो । ललितपुर महानपाले सञ्चालनमा ल्याएको संग्रहालय व्यवस्थापन र महानगरले सञ्चालन गरिरहेको विविध विषयमा उहाँहरुबीच छलफल भयो । नगर प्रमुख प्रजापतिले प्रमुख महर्जनलाई भक्तपुरको प्रसिद्ध ‘‘मयुर झ्याल’ र नगरपालिकाका प्रकाशनहरु मायाको चिनोको रुपमा प्रदान गर्नुभएको थियो ।