भक्तपुर जिल्लास्तरीय धिमे बाजा प्रतियोगिताका चालिस समूहको मूल्यांकन सम्पन्न

भक्तपुर, माघ २५ गते

‘पूर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ उद्घोष गर्नेे भक्तपुर नगरपालिकाले आयोजना गरेको दुई दिने भक्तपुर जिल्लास्तरीय धिमे बाजाको पहिलो दिनमा ४० वटा धिमे समूहको मूल्यांकन सम्पन्न गरेको छ । दुधपाटीबाट धिमे र्याली आयोजना गरी दत्तात्रय मन्दिर परिसरमा आयोजना गरेको दोस्रो चरणको स्थलगत मूल्यांकनमा सहभागि ७७ समूह मध्ये ४० वटा समूहको आज मूल्यांकन सम्पन्न गरेको आयोजक समितिले जनाएको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले सांस्कृतिक प्रतियोगिताहरुले यहाँका कला र संस्कृति बचाइराख्न मद्दत पु¥याउने र प्रतियोगी टोलीमा उत्साह थप्नुका साथै आपसी सम्बन्ध कायम गर्न मद्दत पुग्ने बताउनुभयो ।


शक्तिशाली भूकम्पहरुमा माटो जडित घरबाट हुने क्षति र हानी सिमेन्टबाट बनेका घरको तुलनामा कम हुने र गुणस्तरीय काठ उपलब्ध गराएर सांस्कृतिक नगरको रुपमा विकास गर्न सरकारको ध्यानाकर्षण गराइ राखेको जानकारी दिदैै सांसद सुवालले भक्तपुरलाई ‘सांस्कृतिक राजधानी’ को रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

सम्पदा संरक्षणसँगसँगै भक्तपुर नगरलाई ‘सांस्कृतिक राजधानी’ रुपमा विकास गरी पर्यटन उद्योगको रुपमा विकास गर्ने योजना रहेको बताउँदै सांसद सुवालले सरकारले उपत्यकालगायतका सांस्कृतिक सम्पदा संरक्षणमा विशेष प्राथमिकता दिएर अगाडि बढ्नुपर्छ भन्नुभयो ।

भक्तपुरको दत्तात्रयमा भएको प्रतियोगिताको पहिलो दिनको समापन गर्दै आयोजक समितिका संयोजक एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको कला–संस्कृतिलाई अनन्तकालसम्म जोगाइ राख्न यहाँको कला, संस्कृति, भाषा आदिको संरक्षणमा नपाले अग्रणी भूमिका खेलिरहेको बताउनुभयो । भक्तपुरको सभ्यतालाई जीवन्त राख्न भक्तपुरका परम्परागत ज्ञानसिप, भाषा संस्कृति, खेलहरु, नाच गान एवं बाजाको प्रशिक्षण दिदै तथा सम्पदा संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्न तयारी गरिरहेको बताउनु भयो । भक्तपुरलाई साँस्कृतिक नगरको रुपमा विकास गर्न पुनर्निर्माणमा ३५ प्रतिशत अनुदान दिए पनि भवन संहिता अनुसार निर्माण नगर्दा कमैले मात्रै पाउन सकेको बताउनु भयो । कलात्मक रुपले घर बनाउनेहरु मध्ये अहिलेसम्म बढीमा ५ लाख ५० हजारसम्म नगरपालिकाबाट अनुदान पाइसकेको जनाउनु भयो ।


नपाको आयोजनामा भएको धिमेबाजा प्रतियोगितामा भक्तपुर जिल्लाभरीबाट ७७ वटा बाजा समूहको सहभागिता रहनु खुसीको कुरा हो– उहाँले भन्नुभयो ।
भक्तपुर महोत्सवमा पनि विभिन्न बाजा प्रतियोगिता गर्ने योजना रहेको उल्लेख गर्नुहुँदै उहाँले सरकारले घोषणा गरेको नपाल भ्रमण वर्ष २०२० सफल पार्न वर्षभरी पर्यटक केन्द्रित विभिन्न गतिविधि सञ्चालन गर्दैछ– उहाँले भन्नुभयो ।
भक्तपुरलाई अन्तराष्ट्रिय क्षेत्रमा प्रदर्शन गर्न लायक सहरको रुपमा विकास गर्ने लक्ष्य रहेको उहाँले बताउनु भयो ।
भक्तपुरको दुधपाटी इनागबाट शुरु भएको र्यालीमा सम्बोधनको क्रममा नेमकिपा बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले प्रतियोगिताको सफलताको कामनाका साथ सम्पदा र संस्कृति संरक्षणमा भक्तपुर नपाको कदम प्रशंसनीय भएको बताउनुहुँदै कला र संस्कृति संरक्षणमा जनताको हातेमोला आवश्यक भएको बताउनुभयो ।

हाम्रो कला, संस्कृति र सम्पदा नयाँ पुस्तलाई हस्तान्तरण गर्दै जानुपर्ने आवश्यकता औंल्याउँदै सांसद गोसाईले बाजागाजा र नाचगानले जीवन र सिङ्गो सहरलाई जीवन्त बनाउँछ भन्नुभयो ।
उपप्रमुख रजनी जोशीले संस्कृतिकर्मीहरुले आपूmले सिकेको कला नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुहुँदै भक्तपुरलाई कला र संस्कृतिको जीवन्त नगरको रुपमा परिचित गराउने उद्देश्य सहित नगरपालिका अगाडि बढिरहेको बताउनुभयो ।
धिमेबाजा प्रतियोगिताको उद्घाटन ¥याली भनपा–१ इनागबाट शुरु भई भार्वाचो–तेखापुखु– बंशगोपाल–नासमना–बुल्चा–टौमढी–क्वाछें–साकोठा–सुकुलढोका–गोल्मढी–इनाचो हुँदै दत्तात्रयमा पुगी सभामा परिणत भएको थियो । प्रतियोगीहरुले बाजा बजाएर नगर परिक्रमा गर्ने क्रममै मूल्यांकनकर्ताहरुले विभिन्न ठाउँहरुमा बसेर स्थलगत मूल्यांकन गरेका थिए ।
नगरपालिकाको आयोजनामा भएको धिमे बाजा प्रतियोगितामा भक्तपुर नगरपालिकाबाट–६०, चाँगुनारायण नपाबाट–१३, सूर्य्विनायक नपाबाट–२ र मध्यपुर थिमी नपाबाट–२ गरी ७७ बाजा समूह टोलीले सहभागिता जनाएका थिए । दुई दिनसम्म हुने प्रतियोगितामा पहिलो दिन ४० वटा बाजा समूहले र दोस्रो दिन ३७ वटा बाजा समूहले प्रस्तुति देखाउने कार्यक्रम रहेको छ भने प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम माघ २६ गते नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छेंको आतिथ्यता भनपा–९, दत्तात्रयमा हुनेछ ।
प्रतियोगितामा प्रथम हुन सफल टोलीलाई नगद रु. ३०,०००।—, धिमे १ थान, भुछ्या १ जोडी, सिछ्या १ जोडी, द्वितीय टोलीलाई नगद रु. २५,०००।—, धिमे १ थान, भुछ्या १ जोडी, तृतीय टोलीलाई नगद रु. २०,०००।—, धिमे १ थान, सिछ्या १ जोडी र सान्त्वना हुन सफल दुईवटा टोलीलाई नगद रु. १०,०००।—, धिमे १ थान प्रत्येक टोलीलाई प्रदान गरिनेछ ।