झौखेल, ताथली र बागेश्वरीमा चाँगुनारायण नगरपालिकाद्वारा विपद् तथा मनसुन पूर्वतयारी सम्बन्धि अभिमुखिकरण

झौखेल, ताथली र बागेश्वरीमा चाँगुनारायण नगरपालिकाद्वारा विपद् तथा मनसुन पूर्वतयारी सम्बन्धि अभिमुखिकरण
१ असार २०८०
भक्तपुर

चाँगुनारायण नगरपालिकाका वडा नं ३,७ र ९ का वडास्तरीय विपद् व्यवस्थापन समितिका पदाधिकारी, सदस्यहरु लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको लागि आयोजित १ दिने विपद् तथा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धि अभिमुखिकरण सम्पन्न भएकोछ ।
चाँगुनारायण नगरपालिका वडा नं ३ का वडा अध्यक्ष श्याम सुन्दर धिमाल, वडा नं ७ का वडा अध्यक्ष श्यामकृष्ण नयाँजु (श्रेष्ठ) र वडा नं ९ का वडाध्यक्ष गणेश त्यातको संयोजकत्वमा क्रमशः वडा नं ३,६ र ९ मा सम्पन्न अभिमुखिकरण कार्यक्रमहरुमा सहभागीहरुले वडा तथा नगरपालिकाले विपद् व्यवस्थापन कार्यलाई प्राथमिकताका साथ प्रभावकारी रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिनु भएको थियो । उहाँहरुले मनसुनको समय अगावै आवश्यक राहत सामग्रीहरु तयारी अवस्थामा राख्नको लागि वडा तथा नगरपालिकालाई आग्रह गर्नुभयो । साथै समुदायमा तत्काल कुनै विपद् आएमा तत्काल प्रतिकार्यको लागि तालिम प्राप्त जनशक्ति पनी समुदायस्तरमै तयारी आवस्थामा राख्नुपर्ने सुझाव पनि दिनुभएको थियो ।


चाँगुनारायण नगरपालिका वडा नं ९ का वडाध्यक्ष गणेश त्यातले वडा कार्यालयलाई रकमको सिमा तोकेर खर्च गर्नको लागि खाता खोल्ने ब्यवस्था मिलाउन सकेमा वडास्तरबाटै राहत सामग्रीहरु खरीद गरी वितरण गर्ने व्यवस्था गर्न सकिने बताउनुभयो । नगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको विषयमा प्राथमिकताका साथ गतिविधिहरु संचालन गर्न शुरु गरेकोमा खुशी ब्यक्त गर्नुहुदै वडा अध्यक्ष त्यातले तत्काल प्रदान गरीएको राहत सामग्री(प्लाष्टिक रोल) का कारण अघिल्लो वर्षको वर्षात्मा स्थानीयको घर जोगाउन सफल भएको कुरा पनि सुनाउनु भएको थियो ।
उहाँले आगामी वर्षको बजेटमा विपद् व्यवस्थापन सम्बन्धि कार्यक्रम तथा गतिविधिहरुको लागि वडाले बजेट विनियोजन गरी बार्षिक कार्य योजना बनाई गतिविधिहरु संचालन गरी समुदायर्का क्षमता तथा सचेतना अभिबृद्धि गर्दै लैजाने बताउनुभयो ।
वडा नं ३ का वडा अध्यक्ष श्याम सुन्दर धिमालले चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापन सम्बन्धि तयार गरेका ऐन, नीति, नियम, कार्याविधिहरुको आधारमा आगामी दिनमा विपद् जोखिम न्यूनीकरण सम्बन्धि गतिविधिहरु समुदाय र विद्यालयस्तरमा पनि संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाको विपद् व्यवस्थापन समितिको समन्वय र स्थानीय सरोकारवाला निकायहरुसंगको सहकार्यमा वडा भित्र विपद् पूर्वतयारीका कार्यक्रमहरु संचालन गरिने बताउनुभयो । समुदायमा विद्यमान पहिरोका जोखिमहरुको न्यूनीकरणका लागि वडाले पनि बजेट बिनियोजन गरी नगरपालिका समक्ष सहयोगको लागि अनु पर्याप्त नभएकोले नगरपालिकाले यस तर्फ ध्यान दिनुपर्नेकुरा बताउनुभयो ।
त्यसैगरी एक समुदाय एक प्रथम उद्धारकर्ता टोली तयार गर्ने चाँगुनारायण नगरपालिकाको नीति अनुरुप ९ वटै वडामा वडास्तरीय विपद् व्यवस्थापन समिति पूर्नगठन, खोज तथा उद्धार सामग्री भण्डारण, ग्रैह्र खाद्य राहत सामग्री भण्डारण लगायत द्रुत खोज तथा उद्धार टोली र प्राथमिक उपचार टोली गठन गर्न गइरहेको कुराको प्रशंसा गर्नुहुदै वडा नं ७ का वडाध्यक्ष श्यामकृष्ण नयाँजु श्रेष्ठले बागेश्वरीमा पहिरो र बाढीको जोखिम भएकाले दिगो रुपमा रोकथाम एवं न्यूनीकरणका लागि बजेट बिनियोजनका लागि चाँगुनारायण नगरपालिका समक्ष अनुरोध गर्नुभयो । उहाँले विपद् व्यवस्थापनका क्षेत्रमा कार्य गर्ने गरी प्रत्येक वडाले कम्तीमा २० लाख रुपैया आगामी २०८०÷०८१ को बजेटमा विनियोजन गर्नुपर्ने बताउनुभयो ।
मनसुनको समय आइरहेकोले सम्भावित शहरी बाढी, पहिरो, महामारी र आगलागी लगायतको प्रकोपको जोखिम रहेका क्षेत्रहरुको पहिचान गरी पूर्वतयारीका गतिविधिहरु संचालनका साथै प्रतिकार्यका लागि तयारी रहन, आगामी आर्थिक वर्षको नीति तथा योजना र बजेटमा विपद् जोखिम न्यूनीकरण सम्बन्धि कार्यक्रम तथा गतिविधिहरु समावेश गर्नको लागि सुझाव संकलन गर्ने उद्धेश्यले चाँगुनारायण नगरपालिकाको आयोजना तथा आइसेट नेपाल र डिसिएको साझेदारीमा संचालित नेक्सस परियोजनाको सहयोगमा संचालित अभिमुखिकरण कार्यक्रममा नगरपालिकाकोे विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ बमोजिम वडास्तरीय विपद् व्यवस्थापन समितिको पूर्नगठन, विपद् जोखिम न्यूनीकरण एवं मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण, आर्थिक वर्ष २०८०÷०८१ मा विपद् व्यवस्थापनमा समेट्नुपर्ने कार्यक्रम तथा गतिविधि सम्बन्धि विषयमा सहभागीहरु बीच छलफल र समुह कार्यहरु गरि सुझाब संकलन गरिएको थियो ।
२०८० साल जेठ ३१ गते वडा नं ७ र असार १ गते वडा नं ९ र ३ मा संचालित अभिमुखिकरणमा चाँगुनारायण नगरपालिकाका विपद् जोखिम न्यूनीकरण परामर्शदाता दिनेश थापा, प्रशिक्षकहरु राजकुमार लम्साल, भरत ढुंगाना र ऋषि खड्काले सहजिकरण गर्नु भएको थियो । अभिमुखिकरणमा कार्यक्रममा ३१ महिला र ६४ पुरुष गरी जम्मा ९५ जनाको सहभागीता रहेको थियो ।