‘पत्रकारिता क्षेत्र निष्पक्ष हुनुपर्छ’
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पत्रकार आचारसंहिताको अक्षरशः पालना गर्न पत्रकारिता क्षेत्रलाई आग्रह गर्नुभएको छ । उहाँले पत्रकारिता निष्पक्ष, सन्तुलित र सकारात्मक हुनुपर्नेमा जोड दिनुभयो । काठमाडौँ विश्वविद्यालयले आज यहाँ आयोजना गरेको आम सञ्चार माध्यममा आचारसंहितासम्बन्धी सम्मेलनमा उहाँले भन्नुभयो, “कुनै पनि विषयमा स्पष्ट जानकारी नभई समाचार बनाउँदा त्यसको नकारात्मक सन्देश जान्छ । निर्वाचनका समयमा स्पष्ट जानकारी बिना प्रकाशित भएका कतिपय समाचारले नकारात्मक सन्देश प्रवाह गरेको छ ।” अध्यक्ष मगरले मानवअधिकार आयोगमा पत्रकारको सुरक्षाका लागि उजुरी दिने सक्ने संयन्त्र स्थापना गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पत्रकारमाथि कुनै पनि प्रकारको दबाब र धम्की आएमा आयोगमा उजुरी गर्न सक्नुहुन्छ ।” सम्मेलनमा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष रामकृष्ण तिमल्सेनाले व्यक्तिको आचारणमा सुधार भए पत्रकारिताको आचारसंहिता स्वतः कार्यान्वयन हुने बताउनुभयो । उहाँले राष्ट्रिय सुरक्षाका विषयमा पत्रकारिता संवेदनशील हुनुपर्ने राय व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा आचारसंहिता पालना नगर्दा निष्पक्ष समाचार सङ्कलनमा कमजोरी देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनका समयमा हामीले निष्पक्षता कायम गर्न सकेनौँ, त्यसका लागि आचारसंहिता पालना महत्वपूर्ण हुन्छ ।” राष्ट्रिय समाचार समिति(रासस)का अध्यक्ष धर्मेन्द्र झाले निर्वाचनको समयमा राससले स्वनियमनको अभ्यास प्रभावकारीरूपमा कार्यान्वयन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कहिलेकाहीँ पत्रकारको व्यक्तिगत स्वार्थ हावी हुन सक्छ । आचारसंहिता मान्न अप्ठ्यारो मान्नेलाई स्वनियमनले प्रभावकारी बनाउँछ । निर्वाचनका समयमा राससले अवलम्बन गरेको स्वनियमनको अभ्यासले यसलाई पुष्टि गरेको छ । सम्पादकीय प्रक्रियामा जाँदा पनि आमसञ्चार माध्यम स्वच्छ र स्वतन्त्र बन्न सक्छ ।” त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभागका प्रमुख चिरञ्जीवी खनालले सीमित आर्थिक स्रोतका कारण आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सञ्चार संस्थासँग पर्याप्त स्रोत तथा बजेट छैन । आवश्यक स्रोत नहुँदा निर्वाचनका समयमा सबै ठाँउमा पुगेर पत्रकारले विषयवस्तु समेट्न नसकेको देखियो ।” कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक दिलभूषण पाठकले नेपालमा अभ्यास भइरहेको पत्रकारिता संसारकै उत्कृष्ट अभ्यास भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा संसारकै उत्कृष्ट पत्रकारिताको अभ्यास गरिरहेका छौँ ।” नेपाल समाचारपत्रका प्रधान सम्पादक कपिल काफ्लेले तुलनात्मकरूपमा अहिले भइरहेको अभ्यास सन्तोषजनक भए पनि आचारसंहिता कार्यान्वयनमा भने कमी देखिएको टिप्पणी गर्नुभयो ।












