‘नेपाल स्काउटलाई विद्यालयस्तरसम्म पु¥याइने’
नेपाल स्काउटलाई विद्यालयस्तरसम्म पु¥याइने भएको छ । नेपाल स्काउटको ७१औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा स्काउटका केन्द्रीय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले नेपाल स्काउटलाई अब प्रत्येक विद्यालयसम्म पु¥याउने बताउनुभएको हो । “नेपाल स्काउटलाई नयाँ ढङ्गले अगाडि बढाउन प्रत्येक पालिका र विद्यालयमा पुग्नेछौँ”, उहाँले भन्नुभयो । एक घर, एक स्काउट अभियानलाई कार्यान्वयनमा लाने उहाँको भनाइ थियो । संयोजक भण्डारीले स्काउटका विभिन्न फोरममा स्काउट लिडरको उल्लेखनीय सहभागिता रहँदै आएको उल्लेख गर्नुभयो । स्काउटको आगामी अभियानअन्तर्गत प्रत्येक घरमा एकजना बालबालिकालाई एक दिन अनिवार्य स्काउट शिक्षा लागू गरिने संयोजक भण्डारीले बताउनुभयो । स्काउटको मुलुकभर रहेका सम्पत्तिको संरक्षण गर्नु स्काउटको प्रमुख दायित्व भएको उहाँको भनाइ थियो । स्काउटको स्थापना दिवसका अवसरमा नेपाल स्काउटको विकास र विस्तारमा अतुलनीय योगदान प्रदान गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । स्काउटले ७१औँ स्थापना दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रमको आयोजनासमेत गरेको छ ।














