कोरोना बीमा दाबीको आधाभन्दा बढीको भुक्तानी हुन बाँकी  ।

कोरोना बीमा दाबीको आधाभन्दा बढीको भुक्तानी हुन बाँकी  ।
लामो समयदेखि अन्यौलमा रहेको कोरोना बीमा भुक्तानी प्रक्रिया अझै शुरु हुन सकेको छैन । बीमा समितिले अर्थ मन्त्रालयबाट बीमा बापतको रकम रोकिएकाले भुक्तानी प्रक्रियामा समस्या भएको जनाएको छ । समितिका सूचना अधिकारी निर्मल अधिकारीले बिमितले भुक्तानी पाउन अझै कति दिन लाग्ने हो, अन्यौल नै रहेको बताउनुभयो ।

अहिलेसम्म सरकारले भुक्तानी गर्नुपर्ने रकम १० अर्बको हाराहारीमा रहेको अधिकारीले बताउनुभयो । प्रिमियमबाट उठेको साढे तीन अर्ब रुपियाँ भुक्तानी गरिसकिएको र केही रकम बीमा कम्पनीले पनि भुक्तानी गरेकाले अब बाँकी भुक्तानी १० अर्बको हाराहारीमा रहेको उहाँले बताउनुभयो ।

यसमा सरकार, बीमा समिति ,पुर्नबीमा कम्पनीलगायतको दायित्व छ । हालसम्म एक ४५ हजार जनाको बीमा दाबी परेको छ । तीमध्ये आधाभन्दा बढीलाई भुक्तानी गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

बीमा समितिले रकम निकासाका लागि अर्थमन्त्राललाई तीन पटकसम्म लिखित पत्र काटेको र मौखिक रुपमा अर्थमन्त्रीलाई जानकारी गराए पनि अहिलेसम्म मन्त्रालयबाट कुनै औपचारीक जवाफ नआएको अधिकारीले बताउनुभयो ।