समाज र देशको चिन्ता गर्ने नेतृत्व तयार पार्न सहकारीलाई आग्रह
भक्तपुर, कार्तिक ५ गते
समुदायमा आधारित सहकारी संस्थाहरुले समाज र देशको चिन्ता गर्ने नयाँ पुस्ता तायर पार्नुपर्नेमा जोड दिएका छन् । श्रमिक बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै नेमकिपाका बैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले समुदायको घर दैलोसम्म सम्बन्ध गाँसिएको सहकारी संघ संस्थाले समुदायको संकटमा र प्रगतिमा सहयोग पुर्याउन सकिरहेको छ कि छैन? समीक्षा गर्नुपर्ने बेला भएको बताउनु भयो । सहकारीले नाफा घाटा भन्दा पनि अहिले संक्रामकरुपमा फैलि रहेको डेंगुले प्रभावित समुदायलाई कस्तो सहयोग पुर्याउन सकियो? पल्स सिद्धान्तले जस्तै सामाजिक उत्तरदायित्व बहनमा सहकारीले कतिको ध्यान दिदै आएको छ? त्यसको मुल्यांकन गर्नुसके सहकारी संघ संस्था समुदायमा आधारित बनाउन सकिने विचार राख्नु भयो ।

संस्थाका जेष्ठ सदस्यहरुलाई सम्मानित गर्दै अतिथी चवालले विदेशीपूजीका लागि मगन्ते प्रबृति हटाउन सहकारीले भूमिका खेल्नुपर्नेमा जोड दिनु भयो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव जगनाथ प्रजापतिले एक ब्यक्ति एक सहकारी नीति ब्यवहारिक नभएको भन्दै सघंबाट सहकारी संघ संस्थामा भइरहेका बिक्रृति बिसंतिहरुको विरोध गर्दै आएको बताउनु भयो । अहिले बजारमा सहकारी संघ संस्थाहरु खसी बोका जस्तै किन बेच भइरहनु समुदायमा आधारित सहकारीको भावना विपरित भएको र यसले समुदायको बचतको अबमूल्यन र जोखिममा पर्ने भएकोले यसको पनि विरोध गर्दै आएको उहाँले बताउनु भयो ।
किसान नेता लक्ष्मी भक्त कवांले मंसिर ४ गतेको आम निर्वाचन नजिक आइरहेको बेला सहकारी संस्थाका सदस्यहरुले आफ्नो मताधिकारको सही प्रयोगले मात्रै जनताका प्रतिनिधी चयन हुने बताउनु भयो भने संस्थाका कानुनी सल्लाहकार विकल प्रजापतिले बिगतका निर्वाचनहरुमा पनि पद् र पैसाको चलखेल भएको र सच्चा मजदुर किसानले त्यस्तो चलखेल बिरुद्ध जनपक्षिय कदम चालेको उहाहरणहरु प्रस्तुत गर्नु भयो । संस्थाका अध्यक्ष राजाराम गोसाईको सभापतित्वमा भएको सो कार्यक्रममा जेष्ठ सदस्य दशनारायण बाला, संस्थापक अध्यक्ष कृष्णनारायण मचामसी, गणेशराम सुवाल, साजन दुवालले पनि बोल्नु भएको थियो ।














