माटोको सुगन्ध

शिर्षक ः     माटोको सुगन्ध

माटोको सुगन्ध

हिमाल हाँसेको देश हो यो,

नदी बगेको भेष हो यो।

पसिनाले लेखिएको कथा,

वीर नेपालीको देश हो यो।

कान्लाकान्लामा धान फुल्दा,

पाखापाखामा फूल खुल्दा,

मादल बज्छ गाउँको चौतारो,

मन किन नाच्दैन गीत सुन्दा?

आमाको हातको भात मिठो,

बारीको सागको स्वाद मिठो।

परदेशका महलभन्दा पनि,

आफ्नै छानोको छायाँ मिठो।

हलोजुवा बोकेको काँध,

देश बनाउने बलियो बाँध।

यही माटोमा पसिना पोख्दा,

यहीँ फुल्छ सुनौलो साध।

युवाका आँखा सपनाले भरून्,

खाली खेतमा बीउहरू छरून्।

परिश्रमलाई पूजा मानी,

आफ्नै गाउँमा भविष्य गरून्।

मेची बोलोस्, महाकाली बोलोस्,

हिमालसँग तराई डोलोस्।

जाति, भाषा, भेष अनेक भए पनि,

नेपाली मन एउटै होस्।

झगडा होइन हातेमालो गरौँ,

अँध्यारो होइन दीप बालौँ।

अरूले बनाइदेला भनेर होइन,

आफ्नै हातले नेपाल सजाऔँ।

देश भनेको नक्सा मात्रै होइन,

माटो मात्रै, ढुङ्गा मात्रै होइन।

आमाको आँसु, बाबुको पसिना,

सन्तानको सपना—देश यही हो।

जति टाढा पुगे पनि मन,

नबिर्सियोस् आफ्नो आँगन।

जन्मभूमिको ऋण तिर्ने हो भने,

सत्य र श्रम बनोस् जीवन।

लेखक ः गोबिन्द राज ओझा (राजन)