भक्तपुर साहित्यिक समाजले प्राज्ञ कवि प्रतिसरा सायमीलाई नेपालभाषा र साहित्य क्षेत्रमा निरन्तर समर्पित भई पुर्याउनु भएकाे अमूल्य याेगदानकाे कदर गर्दै अभिनन्दन गरिएकाे छ ।
उहाँलाई प्रदान गरिएको अभिनन्दन पत्रमा भक्तपुर साहित्यिक समाजकाे विशिष्ट सदस्य भई समाजकाे उन्नयनकाे लागि मार्गनिर्देशन दिँदै आउनुभएका कवि प्रतिसरा सायमि हाल नेपाल प्रज्ञा प्रतिष्ठानकाे प्राज्ञ भई लाेक साहित्य र नारी लेखन विभागकाे विभागीय प्रमुखकाे महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु भएकाेले बधाई ज्ञापन तथा प्रतिष्ठानले लिएकाे मूल उद्धेश्य प्राप्तीमा सफलता मिलाेस् भनी कामना समेत गरिएकाे छ ।

भक्तपुर साहित्यिक समाजका अध्यक्ष राजुराम मुनंकर्मीकाे नेतृत्वमा भक्तपुर साहित्यिक समाजका सल्लाहकार काशिराम विरस, काेषाध्यक्ष गुहेश्वरी शाक्य, कार्यसमिति सदस्यहरू सुलाेचना सैंजु, सूर्यलक्ष्मी भाेमी र वसन्त नकर्मी सहितकाे टाेलीले उहाँकै निवास सितापाइला, काठमाडौँमा सगुन सहित सल ओढाई अभिनन्दन गरिएकाे हाे । उक्त कार्यक्रममा अध्यक्ष राजुराम मुनंकर्मी र सल्लाहकार काशिराम विरसले बधाई मन्तव्य राख्नु भएकाे थियाे भने सदस्य वसन्त नकर्मीले कार्यक्रम सञ्चालन गर्दै अभिनन्दन पत्र वाचन गरी सुनाउनु भएकाे थियाे । सबैकाे बधाई ग्रहण गर्नुहुँदै सम्मानित कवि प्रतिसरा सायमिले साहित्यिक क्षेत्रकाे विकासमा भक्तपुर साहित्यिक समाजले गर्दै आइरहेकाे गतिविधि प्रशंसनीय रहेकाे चर्चा गर्नुहुँदै प्रतिष्ठानकाे सम्मुनत विकास, देशकै विविध भाषा, साहित्य, कला, संस्कृतिलगायतकाे क्षेत्रकाे स्तराेन्नति र प्रवर्द्धन कार्यकाे लागि हालकाे टिम विशेष याेजना बनाई लागिपरेकाे चर्चा गर्नुभयाे ।














