देशमा दिगो शान्ति र धार्मिक सद्भाव आजको आवश्यकता‘– ऋषि धमला
काठमाडौँ । धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न जोड दिँदै काठमाडौँको माइतीघरमण्डलामा विभिन्न धर्मका गुरु तथा नागरिक अभियन्ताहरूको उपस्थितिमा शान्ति सभा आयोजना गरिएको छ । स्वतन्त्र नागरिक अभियानको आयोजनामा भएको कार्यक्रममा वक्ताहरूले सुनसरीको देवानगञ्जमा भएको दुःखद् घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न र देशमा दिगो शान्ति कायम गर्न सरकारसँग माग गरेका छन् ।
‘देशमा दिगो शान्ति र धार्मिक सद्भाव आजको आवश्यकता‘– ऋषि धमला
कार्यक्रममा स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले देशमा सामाजिक सहिष्णुता, धार्मिक सद्भाव र दिगो शान्ति आजको प्रमुख आवश्यकता रहेको बताएका छन् । अध्यक्ष धमलाले सुनसरीमा घटेको घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरे । उनले नेपाली जनताले हिंसा नभई एकता र मेलमिलाप चाहेको स्पष्ट पारे ।
‘सगरमाथा, बुद्ध र पशुपतिनाथको यो देशमा कसैले पनि हिंसा र द्वन्द्व चाहँदैनन्,’ सम्बोधनका क्रममा धमलाले भने, ‘सुनसरी राजनीतिक र ऐतिहासिक रूपमा सामाजिक सद्भाव कायम भएको जिल्ला हो। त्यहाँका जनता शान्ति र एकताको पक्षमा छन् ।’
उनले देश संकटमा परेका बेला राजनीतिक दलहरूले एक–अर्कालाई गाली गरेर समय खेर फाल्नुको सट्टा राष्ट्रिय सहमति र सहकार्यको बाटो रोज्नुपर्नेमा जोड दिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएर सकारात्मक पहल गरेको भन्दै उनले अब प्रधानमन्त्रीले पनि तत्काल सर्वदलीय बैठक डाक्नुपर्ने धारणा राखे।
धमलाले स्वतन्त्र नागरिक अभियानले छाया सरकारको भूमिका निर्वाह गर्दै सरकारका सकारात्मक काममा सहयोग र कमी–कमजोरीमा निरन्तर खबरदारी गर्ने बताए ।
उनले जेनजी आन्दोलनका क्रममा पक्राउ परेका निर्दोष नागरिकमाथिको झूटा मुद्दा फिर्ता लिन, सुनसरी घटनाका मृतकलाई शहीद घोषणा गरी राहत उपलब्ध गराउन तथा सहकारी, लघुवित्त र मिटरब्याजपीडितका समस्या तत्काल समाधान गर्न बालेन सरकारसँग माग गरे।
‘देशमा भ्रष्टाचारका ठूला काण्डहरूको पर्दाफास हुनुपर्छ र भ्रष्टाचारीलाई कारबाही गरिनुपर्छ,’ धमलाले भने, ‘सरकार जनताप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्छ।’
स्वतन्त्र नागरिक अभियानले जनताका समस्या बुझ्न र धार्मिक सहिष्णुताको सन्देश फैलाउन सातै प्रदेशका साथै सुनसरीको स्थलगत भ्रमण गर्ने कार्यक्रम रहेको समेत धमलाले जानकारी दिए ।
‘सबै मिलेर देश र धर्म-संस्कृतिको रक्षा गरौँ’ : रामचन्द्र अधिकारी
सभालाई सम्बोधन गर्दै विश्व हिन्दू महासंघका केन्द्रीय अध्यक्ष रामचन्द्र अधिकारीले सबै धर्म, सम्प्रदाय र संस्कृतिका नागरिकहरू एकजुट भएर देश बचाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए।
“हाम्रो देश नेपाल एउटै हो र सबैको योगदानको कदर गर्दै अघि बढ्नुपर्छ,” अध्यक्ष अधिकारीले भने, “पहिले देश बचायौँ भने मात्र हाम्रा धर्म, संस्कृति र परम्पराहरू जोगिन्छन्। त्यसैले सबैले एक-अर्कालाई सम्मान र कदर गर्ने परिपाटी बसाल्नुपर्छ।”
उनले माइतीघर मण्डलामा विभिन्न माग राखी अनशनमा बसिरहेका पीडित नागरिकहरूको आवाज राज्यले तत्काल सुन्नुपर्ने र उनीहरूका पीडाको स्थायी समाधान खोज्नुपर्ने मागसमेत गरे।
‘अपराधीको कुनै जात र धर्म हुँदैन’– समिम मियाँ अन्सारी
सभालाई सम्बोधन गर्दै मुस्लिम आयोगका संस्थापक अध्यक्ष समिम मियाँ अन्सारीले अपराध गर्ने व्यक्तिको कुनै जात र धर्म नहुने बताए ।
‘हिन्दू, मुस्लिम वा अन्य जो-कसैले गल्ती गरे पनि त्यसको ढाकछोप गरिनु हुँदैन, सरकारले दोषीमाथि कडा कदम चाल्नुपर्छ,’ अन्सारीले भने, ‘सुनसरी घटनाले सिंगो देशवासी दुःखी छन् । मृतकलाई तत्काल शहीद घोषणा गरी घाइतेको निःशुल्क उपचार गरिनुपर्छ ।’
उनले रोहिंग्या शरणार्थी भित्र्याउनमा नेपाली मुस्लिम समुदायको कुनै हात नरहेको स्पष्ट पार्दै सीमा सुरक्षा कडा बनाउन सरकारसँग माग गरे। मदरसा केवल धार्मिक विद्यालय भएको उल्लेख गर्दै उनले मुस्लिम समुदाय देशमा शान्ति र सद्भावको पक्षमा रहेको बताए। सामाजिक सद्भाव कायम राख्न धार्मिक गुरु, नागरिक अभियन्ता र सञ्चारकर्मीहरू एक हुनुपर्ने उनको भनाइ थियो।
‘अहिंसा र करुणाको बाटोबाटै समृद्धि सम्भव’ – डा. शुभमंगल
सभालाई सम्बोधन गर्दै बौद्ध धर्मका अभियन्ता डा. शुभमंगलले बुद्धको भूमिमा हिंसाका घटना हुनु अत्यन्तै दुःखद् भएको बताए ।
‘आगोले आगो निभाउन सकिँदैन, साना विवादले उग्र रूप लिँदा जनधनको ठूलो क्षति हुन्छ,’ बुद्धको दर्शन स्मरण गराउँदै डा. शुभमंगलले भने, ‘जुन देश धार्मिक हिंसामा फस्छ, त्यो देश विकासमा अघि बढ्न सक्दैन। त्यसैले हामीले नमिल्ने कुरा छाडेर मिल्ने कुराबाट सुरुवात गर्दै दया, प्रेम र करुणा जगाउनुपर्छ ।’
नयाँ सरकार गठन भएको भर्खर चार महिना मात्र भएको उल्लेख गर्दै उनले सुनसरीमा घटेको घटनाको निष्पक्ष छानबिन गरी शान्ति र सद्भाव कायम गर्न सरकारसँग आग्रह गरे।
‘पीडितका समस्या समाधान गरी देश बचाउनुपर्छ’– कुमार बस्नेत
सभामा बोल्दै नागरिक अभियन्ता कुमार बस्नेतले नेपाली जनताले सधैँ शान्ति नै चाहेको उल्लेख गर्दै देशको धर्म, संस्कृति र अस्मिता रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताए ।
‘हामीले २००७, २०१७, २०४६, दशवर्षे द्वन्द्व र २०६२–६३ जस्ता धेरै राजनीतिक परिवर्तन र सङ्घर्षहरू देख्यौँ। अब देशलाई शान्तिको बाटोमा अघि बढाउनुपर्छ,’ बस्नेतले भने, ‘पशुपतिनाथ, दक्षिणकालीसहित सम्पूर्ण मठ–मन्दिर, गुम्बा र देवालयहरूको संरक्षण गर्नु हाम्रो दायित्व हो।’
उनले लघुवित्त, सहकारी तथा बैंक पीडितहरूको समस्या समाधान गर्न सरकारसँग जोडदार माग गरे। उनले सरकारले सडकमा आएका सबै पीडित नागरिकलाई न्याय दिनुपर्नेमा जोड दिए।
‘अराजक तत्वलाई कानुनबमोजिम कारबाही गरियोस्’ मौलाना नजमुल हुसेन
सभामा बोल्दै मौलाना नजमुल हुसेनले नेपाल परापूर्वकालदेखि नै शान्तिभूमि र ‘वसुधैव कुटुम्बकम्’को भावना बोकेको देश भएको उल्लेख गर्दै जुनसुकै समुदायको नागरिकको रगत बग्नु वा क्षति हुनु सिंगो देशको क्षति भएको बताए।
‘इस्लामको अर्थ नै शान्ति हुन्छ,’ मौलाना हुसेनले भने, ‘धार्मिक गुरुहरूले शान्तिको सन्देश आ–आफ्नो समुदाय र सुनसरी घटना प्रभावित क्षेत्रसम्म पुर्याउन आवश्यक छ।’
उनले अपराधीलाई कुनै धर्म वा समुदायको आँखाबाट नहेरी सरकारलाई विशुद्ध कानुनको नजरले हेरेर कारबाही गर्न आग्रह गरे। ‘कसैले गल्ती वा अपराध गरेको छ भने उसलाई धर्म र समुदायबाट अलग राखेर कानुनबमोजिम निष्पक्ष कारबाही गरियोस्। भेदभाव नगरी समातेपछि अराजक तत्वहरूले टाउको उठाउन सक्दैनन्, उनले थपे।
कार्यक्रममा एसके लम्साल, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका ब्रह्मकुमार रामसिंह ऐर, शंकराचार्य पीठ परिषद्का अध्यक्ष दयाराम पाण्डेलगायतका वक्ताहरुले आ–आफ्ना विचार व्यक्त गर्दै सर्वधर्म समभावमा जोड दिएका थिए । उनीहरुले देशमा शान्ति र अमनचैन कायम गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
यसैबीच, स्वतन्त्र नागरिक अभियानले धार्मिक सद्भावमा जोड दिँदै सुनसरीका बासिन्दाहरु आफैँ एकजुट भएर निषेधाज्ञा र कर्फ्यु हटाउन पहलकदमी लिनुपर्नेमा जोड दिएको छ ।
उक्त कार्यक्रमको सञ्चालन स्वतन्त्र नागरिक अभियानका सचिव हेमराज अधिकारी ‘कश्यप’ले गरेका थिए ।














