बौद्धमा गाईजात्रा तथा रोपाई जात्राको भव्य तयारी हुँदै

बौद्धमा गाईजात्रा तथा रोपाई जात्राको भव्य तयारी हुँदै
काठमाण्डौ, श्रावण २२ गते
विश्व सम्पदास्थल बौद्धमा रोपाई दिवस मनाइने भएको छ । गाईजात्रा पर्वको अवसरमा पारेर तामाङ्ग समुदायको प्राचिन पर्व घोनाई पर्व मनाउन लागेका हुन । तामाङ्ग भाषामा घोनाई जात्राको नेपाली अर्थ रोपाई जात्रा भएको भन्दै आयोजक समितिले आज एक पत्रकार सम्मेलन आयोजना गरी रोपाई जात्रामा सहभागि उत्कृष्ठ साँस्कृतिक टोलीहरुलाई पुरस्कृत गर्ने बताएका छन् । नेवार र तामाङ्ग समुदायको साझा गाईजात्रा तथा रोपाई जात्रालाई सभ्य र भव्य रुपले मनाउन रु. २० लाख ७५ हजार लागत इष्टिमेटमा श्रावण २६ गते ऐतिहासिक बौद्ध स्तुपा परिसरमा गाईजात्रा तथा रोपाईजात्रा (घोनाई जात्रा) आयोजनाको तयारी भएको जनाएको हो ।


प्राचिन काल देखि तामाङ्ग समुदायले मनाउँदै आएको घोनाई जात्रा कालान्तरमा नेवार संस्कृतिसँग मिसिएर गाईजात्रा तथा रोपाई जात्राको रुपमा मनाउन थालिएको आयोजक समितिले जनाएको छ । सर्वसाधारण जनताले आफ्नो संस्कृतिको रुपमा मनाउँदै आएको यो जात्रालाई व्यवस्थित गर्न स्थानीय वडा कार्यालयसँगको सहकार्यमा गाईजात्रा तथा रोपाई जात्रा (घोनाई जात्रा) मूल समारोह समिति २०८२ले यस वर्षको रोपाई जात्रा कार्यक्रमको रुपरेखा सार्वजनिक गरेको छ । गाईजात्रामा हलगोरु, युवा बाउसे, युवा रोपार, बाल रोपार, हाँस्य, व्यङ्ग्य, लाखे, झाँकी, घोडा नाँच देखि विभिन्न विद्यालयहरुको प्रस्तुती सहित १२ विद्याहरु प्रस्तुत गरिने कार्यक्रम रहेको छ । श्रावण २५ गते घिनतिङनाका कार्यक्रम, श्रावण २६ गते रोपाइँ जात्रो र्याली( शोभा यात्रा) र औपचारिक तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरी यसपालिको गाईजात्रा पर्व सम्पन्न गर्ने समितिको तयारी रहेको संयोज कजयमंगल लामाले जनाएको छ ।