तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएपछि कफ्र्यु जारी

तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएपछि कफ्र्यु जारी
तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएपछि कफ्र्यु जारी गरिएको छ । व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा प्रर्दशनकारीहरुले आगजनी गर्ने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कफ्र्यु लगाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कफ्र्यु आदेश जारी गरेको हो । आजै राति १० बजेसम्म कफ्र्यु आदेश जारी भएको प्रशासनले जनाएको छ । प्रहरीकाअनुसार सुरक्षाकर्मी र दमकलमाथि नै आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कफ्र्यु लगाउने निर्णय गरिएको हो ।


गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसहितको छलफलपछि कफ्र्यु लगाउने निर्णय भएको हो। राजावादी समूहले काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेको छ । प्रर्दशनकारीहरुले पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यलयमा समेत आक्रमण र तोडफोडबो प्रयास गरेका छन् ।


प्रर्दशनकारीहरुले उनीहरूले तीनकुनेका विभिन्न घरभवनमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् ।अन्नपूर्ण पोष्टको कार्यालय रहेको भवनमा आगजनीको प्रयास समेत भएको छ । कोटेश्वरको भाटभटेनीमा समेत तोडफोड भएको छ । राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूहले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेको भाटभटेनी सुपरस्टोरका सीईओ पानु पौडेलले बताउनुभयो । प्रदर्शनकारीहरुले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा लुटपाट समेत गरेका छन् । तीनकुनेमा राखेको सभा नसकिँदै राजावादीहरू प्रहरी घेरा तोड्दै अघि बढेपछि अवस्था तनावग्रस्त बनेको छ । यसैबिच, प्रदर्शनकारीहरुले सिनामंगलस्थित नागरिक उड्डययन कार्यालयमा समेत तोडफोड गरेका छन् ।

काभ्रेबाट सवारी साधनलाई काठमाडौं उपत्यका प्रवेशमा रोक ।।
काभ्रेबाट काठमाडौं उपत्यका प्रवेश गर्न सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार, उपत्यकाको सिमाना साँगा भन्ज्याङ र नाला भन्ज्याङमा सवारी साधनमा रोक लगाइएको हो। बिपी राजमार्ग हुँदै काठमाडौं हिँड्ने गाडीलाई भकुन्डेबेशीमा रोकिएको छ भने, अरनिको राजमार्ग हुँदै काठमाडौं हिँडेका गाडीलाई पाँचखालमा रोकिएको छ। यो निर्णय काठमाडौं उपत्यका भित्रको सुरक्षा र व्यवस्थापनको लागि गरिएको प्रहरीको भनाइ छ ।