सन्धि–सम्झौता, समझदारीपत्र सार्वजनिक गर्न टिआई नेपालको माग

सन्धि–सम्झौता, समझदारीपत्र सार्वजनिक गर्न टिआई नेपालको माग
काठमाण्डौ, मंसिर ९ गते
ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपाल (टिआई) नेपालले सरकारले मित्रराष्ट्रहरु एवं अन्तर्राष्ट्रिय निकायहरूबीच भएका सन्धि सम्झौता, समझदारी, सम्झौताहरु सार्वजनिक गर्न जोडदार माग गरेको छ । टिआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माद्वारा एक विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन । विज्ञप्तिमा भिनएको छ ।

राष्ट्रको द्रुततर आर्थिक विकास गर्दै नागरिकको जीवनस्तर उच्च गर्नका लागि आवश्यक पर्ने साधन, स्रोत, प्रविधि र क्षमता अभिवृद्धिका निम्ति नेपाल सरकार र मित्रराष्ट्रहरू एवम् अन्तर्राष्ट्रिय निकायहरूबीच समय समयमा वित्तीय लगायत विभिन्न पक्षमा सहयोगका लागि समझदारी तथा सम्झौताहरू हुने गरेका छन् । यस्ता समझदारी एवम् सम्झौताहरूबाट राष्ट्रले प्राप्त गर्ने सहयोगका साथसाथै सरकारले देश, अर्थतन्त्र तथा नागरिकलाई दूरगामी आर्थिक एवम् अन्य असर पर्ने प्रतिबद्धता पनि स्वीकार गरेको हुन्छ ।

सरकारले गरेका सन्धि–सम्झौता, समझदारीहरू लगायतका काम कारवाहीको बारेमा सुसूचित हुने नेपाली जनताको अधिकार नेपालको संविधानले सुनिश्चित गरेको छ । यस परिप्रेक्ष्यमा, हाल चर्चामा रहेको नेपाल सरकार र मित्रराष्ट्र चीन सरकारबीच सन् २०१७ मा हस्ताक्षर भएको ‘बेल्ट एण्ड रोड इनिसिएटिव’ (बीआरआई) को समझदारीपत्र सार्वजनिक गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल जोडदार माग गर्दछ । साथै, विभिन्न मित्रराष्ट्र एवम् अन्तर्राष्ट्रिय निकायसँग नेपाल सरकारले गरेका र गर्ने समझदारी तथा सम्झौताहरू सार्वजनिक गरी सरकारको काम कारवाही पारदर्शी बनाउने अभ्यास स्थापित गर्न समेत ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल हार्दिक आग्रह गर्दछ ।