नगरकोट सडक नबन्नुमा दोषी को?, ठेक्केदार की सरकार!

नगरकोट सडक नबन्नुमा दोषी को?, ठेक्केदारकी सरकार!
भक्तपुर, भाद्र २३ गते
ठेक्का लागेको ११ वर्ष हुँदा पनि निर्माण कार्य पूरा नभएपछि नगरकोट सडकका पीडितहरुले आज सडक डिभिजन कार्यालय भक्तपुरमा धर्ना दिएका छन् । लांचा फल्चा देखि नगरकोटसम्मका पीडितहरुले डिभिजन कार्यालयमा धर्ना दिएपछि सडक विभागका प्रतिनिधी, सडकको ठेक्का लिएका शैलुन कन्स्ट्रक्सन प्रालिका प्रतिनिधी सहित आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पुगेर एक सम्झौता गरेका छन् । प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको रोवरमा भएको सम्झौता पछि धर्नाकर्मीहरु फर्केका थिए । आज भएको धर्ना कार्यक्रमका संयोजक रामकृष्ण ढुंगानाका अनुसार असोज १७ गते भित्र निर्माण पूरा नगरे असोज १८ गते पछि शैलुन कस्ट्रक्सनलाई म्याद थप गर्न नदिईने गरीे सहमति भएको जनाएका छन् ।
सम्झौतामा सडक सुधार तथा विकास योजना कार्यालयका ई. सुनीत के.सी र निर्माण कम्पनीको तर्फबाट रमेश सुवेदीले प्रजिअ श्रेष्ठ र पीडितहरुको सहभागितामा सो सम्झौता गरेको हो ।


निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरिदिने र सरकारले पटक पटक म्याद पनि थपि दिने कार्य निन्दनीय भएको भन्दै पीडितहरुले यसमा दोषी को हुन? भन्दै धर्नाको क्रममा नारावाजी गरेका थिए ।
गर्मीमा धुलो वर्षामा हिजो भोग्दै आएका समुदायले अहिले बनेका सडकहरु पनि कमसल भएको भन्दै आसपाल गुणस्तरको बनाउनुपर्नेमा जोड दिदै आज धर्ना दिएका हुन । पूर्व गृहमन्त्री, मन्त्री र सांसदहरुले पटक पटक निरिक्षण मात्र होइन, आम निर्वाचन जित्ने मसलाको रुपमा रहेको नगरकोट सडक निर्माणमा ठेक्केदार र सरकारी निकाय वीच मिलोमत्तोमा स्थानीयलाई दुःख दिई आएको भन्दै भ्रष्ट कर्माचारी तन्त्रको विरोध समेत गरेका थिए । धर्नामा प्रचण्डका घरवेटी भन्दै ठेक्केदार शारदाप्रसाद अधिकारीको विरोधमा प्लेकार्ड सहित विभिन्न नाराहरुका साथ धर्ना दिएका थिए । सडक डिभिजनले भने नगरकोट सडक आफ्नो कार्यालयको योजना नभएको भन्दै पन्छिन कोखेपछि कार्यालयको क्षेत्राधिकार भित्रको सडकको डिभिजन कार्यालयले जिम्मेवार र जवाफदेही बन्नुपर्नेमा धर्नाकर्ताहरुले जोड दिएका थिए।
प्रदेश सांसदको उप निर्वाचन जित्न नगरकोट सडक निर्माण पूरा गरिदिन्छु भनेर यातायता तथा भौतिक पुर्वाधार मन्त्री समेत भएका नेपाली कांग्रेसका पूर्व सांसद कृष्णलाल भडेलले समेत निर्वाचन जितेर सम्बन्धित मन्त्री बन्दा तथा सांसद र जनप्रतिनिधी समेत जितेर पनि सो सडक निर्माण गर्न नसकेको स्थितिलाई समीक्षा गर्दै आज पीडितहरुले सडक डिभिजन कार्यालयमा धर्ना दिन पुगेका थिए । सडक डिभिजन कार्यालयमा ताल्ला लगाईदिने तथा सल्लाघारी सडक नै जाम्म गरि दिन्छौं भन्दै पीडितहरुले नारावाजी गरेपछि आज सिडियो श्रेष्ठको रोहवरमा सो सम्झौता भएको थियो ।