गजल गोष्ठी गरी मनाइयो वागीश्वरीमा १५९ औ मोती जयन्ती

गजल गोष्ठी गरी मनाइयो वागीश्वरीमा १५९ औ मोती जयन्ती
भक्तपुर, १७ भदौ
वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानाजमेण्टको आयोजनामा युवाकवी मातीराम भट्टको १५९ औ जन्म जयन्तीको अवसरमा सोमबार गजल गोष्ठी कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि एवम् वागीश्वरी मा.वि. कक्षा ११÷१२ का संयोजक ज्ञानसागर प्रजापतिले गजल कार्यक्रममा प्रस्तुत गरेका गजललाई आफ्नो व्यवहारिक र सार्थक जीवनको लागि प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले साहित्यकारका हरेक रचना शोख र मनोरञ्जनका लागि मात्र नभएर समाज र जीवनमा सकारात्मक परिवर्तनका लागि हुनुपर्नेमा जोड दिनुभयो । साथै यस विद्यालयका विद्यार्थीहरुले साहित्यबाट जीवनपद्धतीमा रुपान्तरण गरेको बताउँदै साहित्यमार्फत भ्रष्टाचारको विरोध गर्नु जति सजिलो छ, भ्रष्टाचारीहरुको सामना गर्न निकै कठिन हुने चर्चा गर्नुभयो । उहाँले मोतीराम भट्टको चर्चा गर्दै भानुलाई विविध पक्षबाट चिनाउन सफल भएको बताउनुभयो ।


विद्यार्थीहरुबाट बाचन भएका गजलहरुको समीक्षा गर्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवम् वागीश्वरी मा.वि.का पूर्व शिक्षक चन्द्र प्रसाद ढकालले वागीश्वरीले प्रदान गरेको यस्तो मञ्च अन्य विद्यालयमा कमै पाएको चर्चा गर्नुभयो । यसबाट गजल विधामा उत्कृष्ट विद्यार्थी तयार गर्नसकेको स्पष्ट पार्दै उहाँले विगतका वर्षहरुमा गजल संगालो समेत प्रकाशन गरेको बताउनुभयो ।
प्रधानाध्यापक एवं कार्यक्रमका सभापति कृष्ण प्रसाद कर्माचार्यले वागीश्वरीले पाठ्यक्रममा मात्र सीमित नराखी विभिन्न अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरुलाई अघि बढाएको स्पष्ट पार्नुभयो । साथै यस गजल कार्यक्रमले विद्यार्थीहरुमा निखारता ल्याएको औल्याउनुभयो ।
नेपाली शिक्षक हिरालाल फुँयालले स्वागत गरेको उक्त कार्यक्रममा गजल गायक देनि निरौला, गितारबादक रमेश सुवेदी र तवलाबादक बद्री सेवाको सांगीतिक समूहबाट मिठासपूर्ण गजल प्रस्तुत भएको थियो ।
शिक्षक हरिप्रसाद ढकालले सञ्चालन गरेको उक्त कार्यक्रममा शिक्षकहरु रविन्द्र न्हेम्हाफुकी, नविन्द्रलाल कर्माचार्य, प्रजापति खनाल, गीता खनाल, गनु साम्पाङ राईले गीत तथा गजल प्रस्तुत गरेको थियो भने विद्यार्थीहरु क्रिषला प्रजापति, सृष्टि कार्की, प्रकाश रोकाया, रमेश गोरा, सरिना श्रेष्ठ, सुवान सुवाल, दावा तामाङ, हिरा तामाङ, देवराज विक, सुमित्रा श्रेष्ठ, गणेश विष्ट, मुकुण्ड रोकाया, सन्ध्या श्रेष्ठ, आभा प्रजापति, सुशान्त बुढाथोकी, झरना कुमारी विक, स्मृति घले, सुजन खत्री, निरुता श्रेष्ठ, विवेश धमला लगायतले गीत तथा गजल बाचन गर्नुभएको थियो ।
कार्यक्रम पश्चात प्रमुख अतिथिबाट सांगीतिक टोलीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।