प्रधानमन्त्री प्रचण्ड पदमुक्त, नयाँ सरकार गठन प्रक्रिया सुरु ।।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त हुनुभएको छ । प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै उहाँ पदमुक्त हुनुभएको हो । प्रधानमन्त्री प्रचण्डले राख्नुभएको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त हुनुभएको हो । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिनेमा प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र परेको थियो भने उहाँको विपक्षमा १९४ मत परेको छ । मत दिन्न भन्नेमा १ मत परेको छ । आजको बैठकमा २५८ जना सांसदको उपस्थिति थियो । उहाँलाई माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका सांसदले मात्र मत दिएका हुन् । २०७९ साल १० पुस गते प्रधानमन्त्री हुनुभएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदा उहाँको पक्षमा २६८ र विपक्षमा २ मत मात्र परेको थियो । त्यस्तै, २०७९ सालकै चैत ६ गते दोस्रोपटक विश्वासको मत लिँदा उहाँले १७२ मत पाउनुभयो । त्यसैगरी २०८० साल फागुन ३० गते र जेठ ७ गते विश्वासको मत लिँदा उहाँले समान १५७ मत पाउनुभएको थियो ।
यसै बीच प्रधानमन्त्रीले विश्वासको मत गुमाएपछि नयाा सरकार गठनको लागि प्रक्रिया सुरु भएको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरिले गोरखापत्र अनलाइनसँग कुरा गर्दै मतदानबाट प्राप्त नतिजासम्बन्धी पत्र तयार भइरहेको छ र सो पत्र आजै राष्ट्रपति कार्यालयमा पेश गरिने बताउनुभयो ।














