नेपाल मजदुर किसान पार्टीका नेता, कार्यकर्ता एवं समर्थकहरुले यसपालि भक्तपुर काण्डको स्मरण भर्चियोल माध्यमबाट गरेका छन् । २०४५ साल भाद्र ९ गतेको सो घटनालाई कालो दिनको रुपमा लिदै आएको नेपाल मजदुर किसान पार्टीका नेता, कार्यकर्ता र समर्थकहरुले अनलाई माध्यमबाट भक्तपुर काण्डको स्मरण गर्दै तत्कालिन राज्यले गरेको षदयन्त्रको भर्त्सना गरेका छन् । सो पार्टीका विभिन्न वर्गीय संगठन एवं कलेज, विद्यालय तथा सरोकारवाला समुदाय समेतले २०४५ सालको भक्तपुर काण्ड(ह्योजू काण्ड)ले नेमकिसंलाई समूल नष्ट गर्न पञ्चायत शासकले गरेको दमनको विरोध गर्दै भर्त्सना गरेका हुन ।

हरेक वर्ष झै यस वर्ष पनि भक्तपुर काण्डको संस्मरण गर्नेक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुर काण्डमा शिक्षाको कमिले गर्दा जनताले धेरै दुःख खेप्नुपरेको बताउनु भयो । राजनैतिक कार्यकर्तालाई राजनैतिक र नागरिक भावनाका साथ देशको ऐन कानुन अनुसार जनताको सेवामा लगाउनुपर्नेमा जोड दिनु भयो ।
भक्तपुर काण्डको नाममा तत्कालिन नेपाल मजदुर किसान संगठनका अध्यक्ष नारायणमान विजुक्छे सहित सो पार्टीका ६७ नेता तथा कार्यकर्तालाई फासीको माग गर्दै जेल नेल तथा शारीरिक,मानसिक यातना दिएका थिए भने कतिपय नेताहरुको भौतिक सम्पतीहरु पनि जफत गरेका थिए ।
२०४५ साल भाद्र ५ गते विहान गएको विनासकारी भूकम्पबाट पीडितहरुलाई राहत वितरणको नाममा अनियमितता गरेको तथा पीडितको पहुँचमा नपुगेको विरोधमा भएको झडपलाई राजनैतिक रुप दिएर नेमकिसंलाई समुल नष्ट गर्न सो पार्टीका नेता कार्यकर्ता र समर्थक एवं सर्वसाधारण जनतालाई दिएको दुःख, यातनाको संस्मरण गर्दै राजनैतिक सचेतनाका लागि पनि भक्तपुर काण्डको हरेक वर्ष भाद्र ९ गतेलाई भक्तपुर काण्डको रुपमा स्मरण गर्दै आएको हो ।














