वागीश्वरीमा बधाई तथा मार्गनिर्देशन सम्पन्न

वागीश्वरीमा बधाई तथा मार्गनिर्देशन सम्पन्न
भक्तपुर, १८ असार
भक्तपुर नगरपालिकाका प्रमुख एवम् वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनील प्रजापतिले समाज सेवामा समर्पित भावना भएको व्यक्ति हरेक विषयमा सफल हुने बताउनुभएको छ । उहाँले वागीश्वरी माध्यमिक विद्यालयले आयोजना गरेको एसईई २०८० मा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा मार्ग निर्देशन कार्यक्रममा उक्त भनाइ व्यक्त गर्नुभएको हो । उहाँले देशका लागि बुद्धिजीवीकरण गर्ने कार्यमा भक्तपुर नगरपालिकाबाट देशमै उच्च शिक्षा अध्ययन गर्नेका लागि ऋण तथा छात्रवृत्तिको व्यवस्था गरेको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाको गन्तव्य भक्तपुरका रूपमा लिई प्लस टु पछि पनि जुनसुकै विषय भक्तपुरमै पढ्न पाउने स्पष्ट पार्नुभयो । एसईई उत्तीर्ण २४४ मध्ये ३.९६ जीपीए आउने सर्वोत्कृष्ट चार विद्यार्थीलाई मायाको चिनो वितरण गर्दै उहाँले विद्यार्थीको सफलतामा साथ दिने शिक्षक, अभिभावक, विद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
एसईई उत्तीर्ण अन्य A+का ७५, Aका ७७, B+का ७०, B का १८ विद्यार्थीहरूलाई मायाको चिनो वितरण गर्दै वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष एवम् भनपा ९ वडा अध्यक्ष रवीन्द्र ज्याख्वले प्ले ग्रुपदेखि स्नातकोत्तर तहसम्म वागीश्वरीमै पढ्न पाउने व्यवस्था भएकाले पढाइका लागि अन्त जान्नै नपर्ने जिकिर गर्नुभयो । उहाँले केही गर्नुछ भने व्यवहार, आचरणमा सुधार गर्नुपर्ने बताउँदै प्रविधि, सिप जुनसुकै ठाउँमा सिके पनि त्यसको प्रयोग आफ्नो माटोको लागि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले एसईईपछि जुनसुकै ठाउँमा जाँदा पनि कसैको छत्रछायामा नबसी आत्मनिर्भर भई अघि बढ्नुपर्ने बताउनुभयो ।
वागीश्वरी कलेज अफ म्यानाज्मेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले बढी मेहनत गरे जीवनको लक्ष्य भेटाउन र विभिन्न विषयमा विज्ञ बन्न यो कार्यक्रमको आयोजना भएको बताउनुभएको छ । उहाँले विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै धेरैपटकको ठक्करबाट सफलता हासिल गर्न सकेको बताउनुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले अल्मलिरहेका विद्यार्थीलाई बाटो देखाउने काममा शिक्षकले सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले विद्यार्थीको उज्ज्वल भविष्यका लागि वागीश्वरीले निरन्तर साथ सहयोग दिइरहने बताउनुभयो ।
प्लस टु संयोजक ज्ञानसागर प्रजापतिले अरू कसैले भनेकै भरमा विद्यालय नछानी विद्यालयको दिगोपनाका आधारमा छान्नुपर्ने बताउनुभयो । उहाँले देशभरका २७ हजार विद्यालयमा सर्वोत्कृष्ट दशौं स्थानमा पर्न सफल भएकोले विद्यार्थीको गन्तव्य वागीश्वरी नै हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मानविकी विज्ञानको जननी भएको बताउँदै सबै विषय उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो । कुशल व्यवस्थापनका कारण वागीश्वरी नमुना विद्यालय बन्न सफल भएको बताउँदै उहाँले हरेक प्रतिभावान् विद्यार्थीका लागि पैसाकै कारण बाधा अड्चन नहुने बताउनुभयो । उहाँले वागीश्वरीमा वार्षिक १ करोडभन्दा बढीसम्मको छात्रवृत्ति प्रदान गरिआएको बताउनुभयो ।
निमित्त प्रधानाध्यापक कृष्णप्रसाद कमाचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्राविधिक टेक्स कार्यक्रमका संयोजक दिनेश प्रधान, व्यवस्थापन शिक्षक नवीन प्रजापति, मानविकी शिक्षक भानुभक्त हुमागाइँ र पूर्वविद्यार्थी एवम् एमबीबीएसमा छात्रवृत्ति पाउन सफल झलक खत्रीले विद्यार्थीहरूलाई मार्ग निर्देश गरेका थिए । कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थीहरूका तर्फबाट विमलकुमार थापा र आस्था गुमाञ्जुले वागीश्वरी स्कुलमा आफूले अध्ययन गर्दाको मीठो अनुभव सुनाउनुभएको थियो ।

eQmk’/, !* c;f/