भक्तपुर जिल्लाका ४ वटै नगरहरुले प्रस्तुत गर्यो आजै आव २०८१।८२कालागि बजेट, मथिनपाको सबैभन्दा बढी बजेट,
भक्तपुर, असार १० गते
भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाहरुले आज नीति तथा कार्यक्रम सहित आ.व. २०८१।८२कालागि बजेट प्रस्तुत गरेका छन् । आज भएको नगर सभाहरुमा नगरपालिकाहरुका उपमेयरहरुले आआफ्ना महत्वकाक्षी बजेटहरु प्रस्तुत गर्दै प्रस्तुत बजेटका शीर्षकहरुमा छलफल समेत सुरु गरेका छन् ।
भक्तपुर नगरपालिकाले असार ६ गते नै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्दै हिजो बसेको नगर सभाबाट पारित गरिसकेको थियो भने आज उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८१।८२को बजेट प्रस्तुत गरेका थिए । उपप्रमुख जोशीले २ अर्ब ६६ करोड ४३ लाख १० हजारको अनुमानित बजेट प्रस्तुत गरेका थिए ।




यसै गरी मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले ३ अर्व २२ करोड ७० लाख ४ हजार पाँचको बजेट विनियोजित गरेको थियो भने सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराईले २ अर्व २४ करोडको अनुमानित बजेट प्रस्तुत गरेका थिए ।
भुगोलको हिसावमा भक्तपुर जिल्लाको बढी ठाउँ ओगटेको चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले २ अर्व ८ करोड १८ लाख ९३ हजार पाँच सयको बजेट प्रस्तुत गरेका थिए ।
यसरी प्रस्तुत बजेटहरुमा भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा ५४ करोड अर्थात २० दशमलब २६ प्रतिशत बजेट विनियोजन गरेको छ भने चाँगु.नारायण नगरपालिकाले कृषि, पर्यटन र सामाजिक पूर्वाधार, समृद्ध चाँगुनारायणको मूल आधार नाराका साथ बचत खाता छोरीको, सुरक्षा जीवनभरीको, उज्यालो चाँगुनारायण सहित नगरकोट भ्रमण वर्ष २०८२ सहितका कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
यसै गरी मध्यपुर थिमि नगरपालिकाले आव २०८१।८२ भित्र नर्सिंग कलेज तथा पारामेडिक्स कोर्स सञ्चालन गर्ने लक्ष्यका साथ मध्यपुरलाई शैक्षिक गतन्तव्यकोरुपमा विकास गर्ने कार्यक्रम घोषणा गरेको छ । बजेट बक्तव्यमा भनिएको छ, शैक्षिक गन्तव्य र २१औं शताब्दीको ज्ञानविज्ञान केन्द्र बनाउने सहित एक दीर्घकालिन परियोजना अगाडी बढाइने छ ।
सूर्यविनायक नगरपालिकाले शिक्षा क्षेत्रमा २८ करोड ३७ लाख ३७ हजारको बजेट विनियोजन गर्दै सामुदायिक तथा संस्थागत विद्यालयहरु बीच आधारभूट रुपमा एकरुपता कायम गर्न आवश्यक व्यवस्था सहित विभिन्न कार्यक्रम र बजेट तर्जुमा गरेको छ ।
स्वास्थ्य क्षेत्रमा मध्यपुर थिमि नगरपालिकाले निःशुल्क स्वास्थ्य विमालाई निरन्तरता दिएको छ । योसँगै सर्ने तथा नसर्ने रोगहरुको नियन्त्रण तथा रोकथामकालागि आवश्यक कार्यक्रम तर्जुमा गरेको छ भने भक्तपुर नगरपालिकाले ख्वप अस्पताललाई आधुनिक सुविधा सम्पन्न जनताको अस्पताल बनाउनेक्रममा चालु आर्थिक वर्षबाटै आईसियु सेवा र ल्याप्रोस्कोपिक सर्जरी सेवा सुरु गरेको छ । साथै थप सुविधा सम्पन्न बनाउन सीटी स्क्यान खरिदको लागि यस वर्ष विनियोजित रकमका अतिरिक्त रु. ५ करोड बजेट व्यवस्था गरेको छ । चाँगुनारायण नगरपालिकाले नगर अस्पताल तथा स्वास्थ्य चौकीबाट गुणस्तरीय सेवा एवं पर्याप्त औषधी र आवश्यक उपचार सेवाको व्यवस्थापनकालागि आवश्यक बजेट व्यवस्था गरेको जनाएको छ भने सूर्यविनायक नगरपालिकाले नगर अस्पतालको सेवा विस्तारकालागि अप्रेशन थिएटर सहित ल्याब सेवाको विस्तार गर्नकालागि आवश्यक बजेटको व्यवस्था मिलाएको बक्तव्यमा उल्लेख छ ।
सामाजिक विकासमा सूर्यविनायक नगरपालिकाले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र संरक्षण, समावेशीकरण जस्ता उपक्षेत्रहरुमा बर्गीकरण गरी बजेट विनियोजन गरेको छ भने चाँगुनारायण नगरपालिकाले व्यवहारिक र प्राविधिक शिक्षाको लहरः ज्ञान र सीपले जगमग चाँगु नगरका विभिन्न कार्यक्रमहरु सहित बजेट तर्जुमा गरेको छ । भक्तपुर नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत नगरका जेष्ठ नागरिकहरुको सोको निमित भक्तपुर नगरपालिका वडा ६ मा निर्मित आदर निकेतन दिवा सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति सहितका लागि रु. ५०लाख बजेट विनियोजन गरेको छ भने मध्यपुर थिमी नगरपालिकाले सार्वजनिक स्थानमा खुल्ला ब्यायामशाला सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिने सहितका कार्यक्रममा बजेट विनियोजन गरेको छ ।
सम्पदा र साँस्कृतिक संरक्षणमा भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगर पालिकाकाले विभिन्न शीर्षकहरुम बजेट विनियोजन गरेको छ भने सूर्यविायक नगरपालिका र चाँगुनारायण नगरपालिकाले प्राकृतिक र मानविय कारणले हुन सक्ने विपद्जन्य क्षतिलाई न्यूनिकरण गर्दै सम्भावित स्थानहरुमा बाँध निर्माण, आगलागी, बाढी, पहिरो लगायत आकस्मिक रुपमा आईपर्ने जोखिम न्यूनीकरण र विपद व्यवस्थापनकालागि बजेट विनियोजना गरेको छ । यसमा चानपाले ३ करोडको बजेट विनियोजन गरेको छ भने सूर्यविनायक नगरपालिकालले साझेदारीमा सञ्चालित दमकलको सेवालाई थप व्यवस्थित तथा सुदृढीकरण गर्नकालागि आवश्यक बजेट विनियोजन गरेको छ । सूनपाले बन वातावरण तथा विपद् व्यवस्थापनतर्फकालागि जम्मा २ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।
भक्तपुरको ऐतिहासिक कला संस्कृति संरक्षण तथा पर्यटन प्रवर्धनकालागि भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिकाले विशेष कार्यक्रमका साथ बजेट विनियोजन गरेको छ । भनपाले वडा वडामा रहेका जीर्ण र लोपोन्मुख सम्पदाहरु पुनःनिर्माण र जीर्णोद्धार गर्न वडास्तरमै सम्पदा संरक्षणकालागि छुट्टै बजेटको व्यवस्था गरेको छ । साथै सास्कृतिक बाजागाजाको बोललाई क्रमशः लिपिवद्ध गर्न तथा दाफा भजनको थ्या साफु पुनः प्रकाशन गर्न आवश्यक व्यवस्था मिलाएको छ ।सम्पदा पुनःनिर्माण तथा साँस्कृतिक संरक्षणकालागि १० करोड ७९ लाख रुपैया विनियोजना गरेको भनपाले ऐतिहासिक थन्थु दरवार, लाय्कु पाहाँ छें, इन्द्रायणी मन्दिर, लक्ष्मीनरसिंह मन्दिर सहितका सम्पदाहरुको जिर्णद्धार गर्न उचित बजेट विनियोजन गरेको छ भने मध्यपुर थिमीले आफ्नो क्षेत्रको टोलवस्तीको मौलिक स्थान, नाम, अभिलेखिकरण एवं पूर्ण स्थापना अभियानलाई निरन्तरता दिने कार्यक्रम सहित मूर्त अमृर्त सम्पदाहरुको संरक्षण, प्रर्वद्धन, अभिलेखीकरण तथा सम्बद्र्धनको नीति लिएको छ ।
यसै बीच भक्तपुर ४ वटै नगरपालिकाहरुले कृषि, पशुपन्छि तथा खानेपानी, पर्यटन प्रवर्धन एव. खेलकूद तथा आर्थिक, सामाजिक क्षेत्रका विभिन्न योजना र कार्यक्रम सहित बजेट विनियोजन गरेको छ ।
बजेट प्रस्तुत गर्नु अघि आज भएको नगरसभामा चानपाका प्रमुख जीवन खत्री, मध्यपुर थिमीका मेयर सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापले आआफ्नो नगर सभामा आव २०८१।८२कालागि आआफ्नो नगरको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
चानपाको नगरसभामा सभासदस्य गणेश त्यातले कर तथा गैरकर राजश्व सम्बन्धी विधेयक २०८१पेस गरी सदस्यहरु बीच छलफल गरी पास समेत गरेको छ । भने आर्थिक विधेयक २०८१, शिक्षा ऐन २०७४को संशोधन विधयेक २०८१, चानपाको परिमार्जित संगठन तथा व्यवस्थपन सर्वेक्षण प्रतिवेदन, चाँगुनारायण नगरपालिकाको स्थानीय रोजगार रणनीति २०८१ समेत सभामा पेश गरेको थियो ।














