मध्यपुर थिमीले मनाए, २८ औं स्थापना दिवस

मध्यपुर थिमीले मनाए, २८ औं स्थापना दिवस
मध्यपुर थिमि, चैत्र १४ गते
मध्यपुर थिमी नगरपालिकाले आफ्नो २८ औं स्थापना दिवसको अवसरमा सामाजिक अभियान्ता, स्वास्थ्यकर्मी, करदाता, उत्कृष्ठ कार्य गर्ने उपभोक्ता समिति, उत्कृष्ठ कर्मचारीहरुलाई पुरस्कृत गरेका छन् । कृषि विकास तालिम केन्द्रको सभाहलमा आज आयोजित स्थापना दिवसको अवसरमा ऐतिहासिक मध्यपुर थिमीलाई कसरी अगाडी बढाउने भन्ने सवालहरुमा अतिथीहरुले चिन्तन समेत गरेका छन् । २८ औं स्थापना दिवसको उद्घाटन गर्दै भक्तपुर क्षेत्र नंम्वर २का सांसद दुर्लभ थापाले मध्यपुर थिमीलाई ऐतिहासिक बस्ती, नयाँ बस्ती र आर्थिक क्षेत्र गरी तिन किसिमले नगरलाई विकास गर्ने आफ्नो अवधारणा प्रस्तुत गरेका थिए भने बागमति प्रदेश सांसद भावना श्रेष्ठले देशकै उत्कृष्ठ नगरपालिका घोषणासँगै नगरपालिकाको गौरव बढेको जनाउँदै नगर विकासकालागि बागमति प्रदेश सरकारबाट पनि विभिन्न योजनाहरु आएको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख ईशवर थापाले जिल्लाको विकास निर्माणमा ४ वटै नगरपालिकाहरु बीच सहकार्य हुनुपर्नेमा जोड दिदै जिसस समन्वयकारी भूमिका खेल्न तयार रहेको बताए । चाँगुनारायण नगरपालिकाले बाहेक अन्य नगरपालिकाले जिसससँग समन्वय प्रभावकारी नबनाएकोमा आपति जनाउँदै जिल्लाका अन्य सरकारी कार्यालयहरु भन्दा जिसस अलि माथि परेकाले सद्भाव खस्केको अनुभूति सुनाएका थिए ।

नगरपालिकाको २८ औं स्थापना दिवसको अवसरमा शुभकामना दिदै भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जनप्रतिनिधीले निश्पक्षरुपमा जनपक्षिय कार्य हुने अपेक्षा गर्दै नगरको सुशासन, सार्वजनिक जग्गा संरक्षण, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन लगायतमा नगरपालिकाले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

२०५३ सालमा मध्यपुर थिमीका ५ वटा गाविसलाई गाभेर नगरपालिका घोषणा भएसँगै क्रमिकरुपमा नगर विकास भएको संस्थापक नगर प्रमुख मदनकृष्ण श्रेष्ठले बताएको सो कार्यक्रमका सभापति नगर प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमी नगरपालिकालाई शिक्षा र स्वास्थ्य निःशुल्क बनाउने नगरपालिकाको लक्ष्य रहेको बताउँदै नगरपालिकाका विभिन्न महत्वपूर्ण योजना र कार्यक्रमहरु बारे जानकारी समेत गराएको थियो ।
सो अवसरमा नगरपालिकाको स्मारिका विमोचन र अनलाईन सेवा सुभारम्भ समेत गरेको थियो ।