भक्तपुर उद्योग वाणिज्य संघ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच बीमा सेवासम्बन्धी सम्झौता

भक्तपुर उद्योग वाणिज्य संघ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच बीमा सेवासम्बन्धी सम्झौता
भक्तपुर : भक्तपुर उद्योग वाणिज्य संघ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबीच सोमबार बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा भक्तपुर उद्योग वाणिज्य सघको तर्फबाट वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको तर्फबाट नायव महाप्रबन्धक दीपककुमार धूतले हस्ताक्षर गरे । सो अवसरमा वरिष्ठ उपाध्यक्ष न्यौपानेले संघ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच बीमा सेवासम्बन्धी सहयोग आदानप्रदान गर्ने प्रयोजनका लागि सम्झौता गरिएको बताए । सम्झौताअनुसार संघमा आबद्ध सदस्यहरुलाई बीमा सम्बन्धी सचेतना, बीमा जागरण एवं तालिम सञ्चालन गरिने उनको भनाइ छ । उनले बीमा कुनै पनि व्यक्तिलाई आर्थिक नोक्सान हुँदा वा जोखिम हुँदा दिइने क्षतिपूर्तिको ग्यारेन्टी भएकाले बीमा सबैको लागि जरुरी रहेको बताए ।


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका नायव महाप्रबन्धक धूतले भक्तपुर जिल्लाका उद्योगी, व्यवसायीहरुसँग सहकार्य गरी बीमा सम्बन्धी सेवा प्रदान गर्न भक्तपुर उद्योग वाणिज्य संघसँग सम्झौता गरेको स्पष्ट पारे । उनले समयमै बीमा गरे भविष्यमा हुनसक्ने क्षतिबाट राहत रकम मिल्ने भएकाले सबैले बीमा गर्नुपर्नेमा जोड दिए । प्रक्रियागत भएमा दाबी रकम समयमै भुक्तानी हुने प्रतिबद्धता जनाउँदै उनले ढुक्क भएर बीमा सेवा लिन आग्रह गरे ।
संघका उपाध्यक्ष गणेशहरि प्रजापति, महासचिव नविन प्रजापति, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका बजार व्यवस्थापन विभाग प्रमुख रामजी ढकाल र क्लस्टर मेनेजर नीमा कर्माचार्यको रोहवरमा सम्झौता गरिएको हो ।