अन्तर नगर महिला कबड्डीमा १७ पालिकाको सहभागिता हुने निश्चित
भक्तपुर, फाल्गुण २७ गते
भक्तपुर नगर पालिकाले आयोजना गर्ने अन्तर नगर महिला कबड्डी प्रतियोगितामा १७ वटा स्थानीय पालिकाहरुले सहभागिता जनाउने निश्चित भएको छ । नगरपालिकाले आज आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख तथा प्रतियोगिता संयोजक सुनिल प्रजापतिले देशभरका स्थानीय तहहरुमा पत्राचार गरे पनि १७ वटा स्थानीय तहहरुले सहभागिताकालागि आवेदन दिएको बताएका हुन । फाल्गुण २९ गते उद्घाटन हुने सो प्रतियोगिताको तयारी बारे जानकारी दिन आज नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख प्रजापतिले कबड्डी खेलमा देशमै पहिलो पटक अन्तर नगर महिला कबड्डी प्रतियोगिता भक्तपुर नगरमा आयोजना हुने उल्लेख गर्दै उहाँले भक्तपुर नगरका ९२ विद्यालयहरु मध्ये ८१ वटा विद्यालयका हजारौ खेलाडी विद्यार्थीहरुको सहभागितामा नगरव्यापी विद्यालय स्तरीय खेलकूद प्रतियोगिता सम्पन्न गरेपछि घोषणा भएको अन्तर नगर महिला कबड्डी प्रतियोगिताको तयारी थालेको जानकारी दिएका हुन ।


सो अवसरमा नगद खेलकूद समितिका संयोजक एवं भनपा १का वडाध्यक्ष श्यामकृष्ण खत्रीले प्रस्तुत विज्ञप्ति अनुसार प्रतियोगितामा प्रथम हुने पालिकालाई नगद रु. १ लाख ५० हजार, दोस्रो हुनेलाई १ लाख, तेस्रो र चौथौ हुनेलाई ५०।५० हजार नगद सहित मेडलबाट पुरस्कृत गर्ने छन् । प्रतियोगिता आयोजना गर्न नगर प्रमुखको संयोजकत्वमा १५१ सदस्य समिति बनेको उल्लेख गर्दै ११ वटा उपसमितिहरु बनेको पनि सो अवसरमा जानकारी दिएका छन् । भक्तपुर नगरपालिकाले सो प्रतियोगिता चैत्र ३ गते सम्पन्न गर्ने गरी कार्यक्रमहरु पनि तर्जुमा गरेको छ । फाल्गुण २९ गते उद्घाटन सभाकालागि भनपा ९ स्थित दत्तात्रय मन्दिर परिसरबाट खेलकूद र्याली आयोजना गरी शहीद स्मृति खेल मैदानमा प्रतियोगिता गर्ने जनाएको छ । भक्तपुर जिल्लाका ४ वटा नगरपालिकाहरु मध्ये मध्यपुर थिमी र भक्तपुर नगरपालिकाहरुका खेलाडीहरुले सहभागिता जनाउने सो प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले गर्नु हुने नगरपालिकाले जनाएको छ । पत्रकार सम्मेलनमा नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई र कबड्डी रेफ्रि विनोद प्रजापतिको पनि आतिथ्यता थियो ।

अन्तरनगर महिला कबड्डी प्रतियोगिताबारे
प्रेस विज्ञप्ति
पत्रकार मित्रहरू,
भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणस“गै खेलकुद क्षेत्रमा पनि विशिष्ट स्थान हासिल गर्दै आइरहेको छ । विद्यालयका विद्यार्थी र युवाहरूलाई शारीरिक रुपमा स्वस्थ्य र तन्दुरुष्ट बनाउन कुनै न कुनै खेलमा सहभागी बनाउनुपर्छ भन्ने मान्यताअनुरुप भक्तपुर नगरपालिकाले भलिबल, फुटबल, करा“ते, बक्सिङ्ग, टेबुलटेनिस, जिम्नाष्टिकलगायत ६ वटा खेलकुदको नियमित प्रशिक्षण चलाउँदै आइरहेको छ ।
ज्येष्ठ नागरिक, युवा, विद्यार्थीलगायत सम्पूर्णले सजिलैस“गै अभ्यास गर्न मिल्ने श्वासप्रश्वाससँग सम्बन्धित छिकोङ शारीरिक अभ्यासको वडा–वडामा प्रशिक्षण व्यवस्था गरिएको छ । विद्यालयहरूमा खेलहरूको विकास गर्ने उद्देश्य अनुसार विगत ४ वर्षदेखि पूर्णकालीन प्रशिक्षकहरू व्यवस्था गरी खेलकुद प्रशिक्षणलाई निरन्तरता दिई कराँते खेलका प्रशिक्षार्थीहरूलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण सञ्चालन गरी विद्यालयहरुका छात्राहरूलाई प्रशिक्षण सञ्चालन गर्दै आइरहेको छ । २०८० कार्तिक १७ गतेदेखि २४ गतेसम्म नगर भित्रका ४९ वटा विद्यालयका शिक्षकहरूलाई एक हप्ते प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरी पाठ्यपुस्तकमा रहेको आधारभूत सीपहरू सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।
नेपाल मजदुर किसान पार्टीले स्थानीय तहको चुनावमा व्यक्त गरेका प्रतिबद्धतामध्ये प्रत्येक वर्ष एउटा खेलको अन्तर नगर खेलकुद प्रतियोगिता आयोजना पनि एक हो ।
निर्वाचनमा जनताबीच गरेको प्रतिबद्धताअनुसार भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आइरहेको पनि यहाँहरूमा जानकारी गराउन चाहन्छौं । पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथलेटिक्स, चौथो वर्ष बुद्धिचाल र गत वर्ष खो खो खेलको प्रतियोगिता सफलताका साथ सम्पन्न गर्यौं । २०८० साल फागुन २९, ३० र चैत्र १,२,३ गते सम्म शहिद दिवसको अवसरमा अन्तर नगर महिला कब्बडी प्रतियोगिता गर्ने नगर प्रमुख सुनिल प्रजापतिले घोषणा लगत्तै उहाँकै संयोजकत्वमा १५१ सदस्यीय मूल समिति र ११ वटा उपसमितिहरू गठन गरिसकेका छौं । हरेक वर्षको प्रतियोगिताले हामीलाई हौसला र उत्साह प्रदान गरिरहेको छ । हाम्रा हरेक प्रतिबद्धताहरू दृढताका साथ पूरा गर्दैछौं ।
अन्तर नगर महिला कब्बवडी प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ज्युबाट हुनेछ ।
यस वर्षको अन्तर विद्यालय खेलकुद प्रतियोगितमा नगरमा रहेका ९२ वटा विद्यालयहरुमध्ये ८१ विद्यालयहरूले सहभागिता जनाएका थिए । कबड्डी खेलमा छात्रा – ८ र छात्र – ८ वटा विद्यालयहरूले भाग लिएका थिए । यस वर्षदेखि भक्तपुर नगरपालिका तयार पारिएको स्थानीय पाठ्यक्रममा उल्लेख गरिएको बाघचाल खेल पनि समावेश गरी १५ वटा खेलहरूको प्रतियोगिता भएको थियो । त्यसमध्ये बाघचाल प्रतियोगितामा विद्यार्थीहरु अत्यन्त उत्साहित देखिएको पाइएको छ भने आगामी वर्ष अझ बढी विद्यालय र विद्यार्थीहरूले भाग लिने हामीले आशा गरेका छौं ।
अखिल नेपाल कबड्डी संघबाट मान्यताप्राप्त कबड्डी प्रतियोगितामा आजसम्म देशका विभिन्न १७ वटा नगरपालिकाहरूबाट भाग लिन नाम दर्ता गराइसकेका छन् । अन्तर नगर महिला कबडडी प्रतियोगिता नेपालकै पहिलो प्रतियोगिताको रुपमा भक्तपुर नपाले आयोजना गर्दैछ । भक्तपुर न.पा.ले यस प्रतियोगितामा प्रथम हुने टिमलाई रु. १ लाख ५० हजार, दोस्रोलाई रु. १ लाख, तेस्रो र चौथोलाई रु. ५०/५० हजार प्रतिसमूह नगद पुरस्कारको व्यवस्था गरेको छ भने सहभागी खेलाडी र अफिसियलहरुलाई खाने र बस्ने व्यवस्था पनि गर्दैछ ।
अन्तमा, फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुने कबड्डी प्रतियोगिता उद्घाटन र्याली भक्तपुर न.पा. वडा नं. ९ दत्तात्रय प्राङ्गणबाट बिहान १० बजे शुरु भई तचपाल, इनाचो, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दुधपाटी हुँदै नगरको मुख्य बजार परिक्रमा गरी शहिद स्मृति खेलमैदानमा पुगी उद्घाटन कार्यक्रम हुनेछ । यस प्रतियोगिताबारे आ–आफ्नो सञ्चारमाध्यमबाट व्यापक प्रचारप्रसार गरी सहयोग गरि दिनुहुन सम्पूर्ण सञ्चारकर्मी मित्रहरूमा हार्दिक अनुरोध गर्दछौं ।
भक्तपुर नगरपालिका
२०८० फागुन २७ गते
(भक्तपुर नगरपालिकाको आयोजनामा २०८० फागुन २९ गतेदेखि चैत्र ३ गते सम्म सञ्चालन हुने अन्तर नगर महिला कबड्डी प्रतियोगिताबारे भएको पत्रकार भेटघाट कार्यक्रममा युवा तथा खेलकुद समितिका संयोजक एवम् भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीद्वारा प्रस्तुत प्रेस विज्ञप्ति)














