परागण एकेडेमीको २१ औं अभिभावक दिवस
शिक्षाको बलियो जगले समाज रुपान्तरणमा सकारात्मक भूमिका खेल्ने भनपा प्रमुखको भनाई
भक्तपुर । २०८० माघ १६ गते, मंगलबार
भक्तपुर नगरको कमलविनायकस्थित पारागण ईग्लिस स्कूलले २१ औं अभिभावक दिवस, पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेको सो कार्यक्रममा विद्यालयका क्रियाशिल शिक्षक, शिक्षिकाहरुलाई सम्मानित गर्दै एसईई उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान पत्र समेत वितरण गर्दै नगर प्रमुख प्रजापतिले शिक्षाको बलियो जगले समाज रुपान्तरणमा सकारात्मक भूमिका खेल्ने बताउनुभयो । उहाँले समाजलाई सभ्य र सुसंस्कृत बनाउन शैक्षिक संस्थाहरु अगाडि बढ्नुपर्छ भन्नुभयो ।
भक्तपुर नपाले शिक्षालाई जोड दिँदै विद्यालय केन्द्रित प्रतियोगिता सञ्चालन गर्दै आइरहेको बताउँदै उहाँले भक्तपुरको शिक्षा विकासमा सामुदायिक र निजी विद्यालयहरुको उल्लेखनीय भूमिका रहेको बताउनुभयो ।
भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र र शैक्षिक गन्तव्यस्थलको रुपमा विकास गर्ने भक्तपुर नपाको लक्ष्य विस्तारै मूर्त रुप लिँदै गएको बताउँदै उहाँले विद्यार्थीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान सँगसँगै दिनु आवश्यक भएकोमा जोड दिनु भयो । कार्यक्रममा भक्तपुर नगरपालिका विद्यालय अनुगमण समितिका संयोजक भक्तपुर नपा वडा नं। ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले भक्तपुर नपाले शैक्षिक क्षेत्रका गतिविधिमाथि प्रकाश पार्दै विद्यार्थीहरुलाई दिशानिर्देश गर्ने कार्यमा अभिभावक र शिक्षकहरु संवेदनशील भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद कुसीको सभापतित्वमा भएको सो कार्यक्रममा विद्यालयका प्रअ पुन्यराम कवांले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै पारागण एकेडेमी नाफाभन्दा सेवालाई प्राथमिकता दिन समाजसेवीहरुको समूहबाट सञ्चालित विद्यालय भएको बताउनुभयो ।
उक्त कार्यक्रममा इसान भक्तपुरका अध्यक्ष कृष्णराम त्वानाबासु, आदर्श आजाद माविका प्रअ श्रीकृष्ण किसी, सानु अमात्य, अभिभावक प्रतिनिधि सुरेश नकर्मी, पूर्वविद्यार्थी जस्मिन गोरा, शिक्षक राजेन्द्र फोँजु र विद्यार्र्थी एन्जेल खड्काले पनि बोल््नुभएको थियो ।
वार्षिकोत्सव अवसरमा उत्कृष्ट शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।