राष्ट्रियसभामा एमालेको उम्मेदवारी लोकतन्त्रको सुदृढ गर्नका लागि हो : सभासद थापा

राष्ट्रियसभामा एमालेको उम्मेदवारी लोकतन्त्रको सुदृढ गर्नका लागि हो : सभासद थापा

भक्तपुर । वागमती प्रदेशसभाका सदस्य किरण थापाले आसन्न राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेले प्रमुख पक्षले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समृद्ध नेपालको पक्षमा १९ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको बताएका छन् ।
रफत सञ्चार क्लब भक्तपुरमा मंगलबार आयोजित सञ्चार–संवाद कार्यक्रममा सांसद थापाले भने, “राष्ट्रिसभामा एमालेको उम्मेदवारीले राष्ट्रिय राजनीतिमा एमाले एक जिम्मेवार प्रतिपक्ष हो भन्ने सिद्ध गराउन आफ्नो अस्तित्वसँग सम्झौता नगरेको हो । राजनीतिमा एमालेको छुट्टै पहिचान रहेको स्मरण गराउन पनि एकल उम्मेदवारी दिएको हो ।”


उनले वागमती प्रदेशको आन्तरिक राजनीतिक स्थितिको विश्लेषण गर्दै भने, “विगतमा प्रतिपक्ष र सत्तापक्षबीच भएको सहमतिअनुसार प्रदेशस्तरीय बजेट बाँडफाँटमा समेत निष्पक्षता कायम गर्न नसकेकाले वागमती प्रदेश सरकार निकम्मा भएको छ । यो सरकारले जनप्रतिनिधिहरूलाई समेत विभेदकारी नीति लागू गरेको छ । जनु दोषपूर्ण नीतिका कारण वागमती प्रदेशका स्थानीय र राष्ट्रियस्तरका विकास निर्माणका कार्यहरू ठप्प रहेको अवस्था छ । विकासका मामिलामा राजनीति गर्न हुँदैन भन्ने एमालेको मान्यता रहेको छ ।”
सांसद थापाले प्रदेशसभामा पाँच वटा समिति गठन गरिएता पनि उक्त समितिको सभापति अहिलेसम्म चयन गर्न सकेको छैन । जसका कारण ज्येष्ठ सदस्यमार्फत समितिको गतिविधि सञ्चालन गर्नुपरेको छ । यसले समग्रमा संसदीय मूल्यमान्यताको सिद्धान्तलाई खिल्ली उदाएको छ । एमाले विधि र विधानअनुसार संसदीय समितिहरू निष्पक्ष र स्वतन्त्र ढंगले चल्नुपर्दछ भन्ने पक्षमा उभिन चाहन्छ । वागमती प्रदेशको गठबन्धन सरकार संसदीय विकासको संस्थागत विकासमा ध्यान नदिएर तदर्थवादमा बस्न रमाएको देखिन्छ।”
उनले गठबन्धन सरकारले एमाले र नेमकिपाका उम्मेदवारहरूले चुनाव जितेको क्षेत्रमा योजना, आयोजनाहरू सञ्चालन नगरेर ती तत् तत् क्षेत्रलाई योजनाबाट विमुख बनाइएको आरोप पनि लगाए । वर्तमान वागमती प्रदेश सरकारको एकलौटी, एकाधिकारवादी चरित्रका कामकारवाहीबाट जनतामा प्रदेश र संघीयता भनेको सेतो हात्ती हो भन्ने टिप्पणीलाई बल पुर्‍याउने काम गरेको सांसद थापाको भनाइ रह्यो । उनले भने, “गठबन्धनको प्रदेश सरकारको अदूरदर्शी कामले रणनीतिक सडकहरू, सिरुटार, बालकोट र दधिकोटमा सञ्चालित आयोजनाहरू अलपत्र अवस्थामा रहेको छ । ख्वप विश्वविद्यालय बनाउन पनि सबै एकजुट भएर लाग्नुपर्दछ । जनताको विकास र निर्माणका कार्यमा पार्टीगत रङले प्रश्रय पाउनु हुँदैन ।”
उनले एमाले प्रतिपक्षमा रहेर पनि सूर्यविनायक–धुलिखेल सडकका काम समयमै सक्याउन पर्छ भनेर हरेक सहयोग र समन्वय गरेर अगाडि बढिरहेकोे बताए । उनले भक्तपुरमा रहेका १७ वटा अस्पताललाई विशेषज्ञता (स्पेसिलाइज्ड सर्भिस दिने) को अस्पलातको रुपमा विकास गर्ने हो भने भक्तपुरवासीलगायत अन्यले पनि सुलभ र सहज तरीकाले उपचार हासिल गर्न सक्ने विचार व्यक्त गरे । सांसद थापाले चुनावबाट निर्वाचित भएर आइसकेपछि राजनीतिक पार्टीको सदस्यलाई जस्तो व्यवहार नगरेर जनप्रतिनिधिको रूपमा समान र उचित व्यवहार गर्ने राजनीतिक संस्कारको आवश्यकता रहेको चर्चा पनि गरे ।