माघ १ गते सम्यक दान पर्व मनाउने तयारी सुरु
भक्तपुर, पुस २३
भक्तपुरको ऐतिहासिक विहार थथु बहिमा आजबाट सम्यक दान (हामो जा नकेगु) पर्वको तयारी थालेको छ । माघ १ गते मनाईने सो पर्वकालागि आजबाट तयारी सुरु भएको सम्यक महादान सहयोग समितिका सचिव राजुमान बज्राचार्यले जनाएको हो । समितिका अध्यक्ष गणेश बज्राचार्यका अनुसार नेवारी परम्परा अनुसार सम्यक दानलाई हामो जा नकेगु भन्ने गरिएता पनि यस अवसरमा ८४ ब्यञ्जनदान गर्ने पर्व भएको बताए । परापूर्व कालमा ८४ ब्यञ्जनदान गर्ने प्रचलन रहे पनि हाल कृषि उत्पादन घटेकाले सो अनुसार दान गर्न आवश्यक कृषि उत्पादन नभएको अर्का सदस्य रविकिरण बज्राचार्यले बताए । उहाँका अनुसार सो पर्व ३ सय वर्ष पहिलेबाट सुरु भएको हो । सो पर्व मनाउन बज्राचार्यहरु काठमाण्डौबाट भक्तपुर आएर जीर्ण अवस्थामा रहेको थथु बहि सहित अन्य सम्पदाहरु संरक्षण गरेको उहाँले बताए । काठमाण्डौमा ५।५ वर्ष र ललितपुरमा १२। १२ वर्षमा मात्र हुने यो पर्व भक्तपुरमा हरेक वर्ष आयोजना हुँदै आएको उहाँले बताए ।


दान नै पूण्य भएको भन्दै बौद्ध दर्शन अनुसार यो पर्व बनाउन आजबाट गहुको पीठोबाट बनाइने परम्परागत लडु बनाउन सुरु गरेको समितिका उपाध्यक्ष सप्तमान बज्राचायले बताए । यस वर्ष आफ्नै नेतृत्वमा सम्यक दानको तयारी भएको भन्दै उहाँले गत वर्ष १७ सय सहभागि भएको र यस वर्ष २ हजार भन्दा बढी सहभागि हुने भएकाले लडु र स्वारी बनाउने कार्य थालेको उहाँले बताए ।
समितिका चिनियाँकाजी बज्राचार्यले सम्यक महादानको अवसरमा हुने पूजापाठ बारे जानकारी दिदै पुस महिनाको अन्तिम दिनमा भक्तपुरका ५ दिपंकरहरुलाई निम्तो दिन जाने र माघ १ गते यज्ञ गरी सम्यक महादान पर्व भव्य रुपमा मनाउने तयारी भइरहेको जानकारी दिएका छन् ।












