भक्तपुर बचतको २६औं वार्षिक साधारणसभा सम्पन्न
भक्तपुर, २८ असोज– सहकारिता: लगनशीलता र पारदर्शिता हाम्रो प्रतिवद्धतालाई अंगिकार गरी भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २६औं वार्षिक साधारणसभा आइतबार संस्थाको प्राङ्गणमा सम्पन्न गरेको छ ।
प्रमुख अतिथि एवम् नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)बाट उद्घाटन गर्नुहुँदै भाषिक दक्षताको अभावमा र भाषामा आउने त्रुटिका कारण भक्तपुरका महिलाहरुले धेरै दु:ख पाएको स्मरण गर्नुभयो । उहाँले सहकारी संस्थाहरु किसानकै हितमा सुरु भएको इतिहासलाई स्मरण गर्दै सरकारबाट त्यसखालका संस्थाहरुलाई कृषिसम्बन्धी कार्यमा प्रोत्साहन गर्नुपर्नेमा नगरेको औंल्याउनुभयो ।


उहाँले शासक दलका नेताहरुले सहकारीभन्दा बैंक र फाइनान्सलाई महत्व दिइरहेकोप्रति खेद प्रकट गर्नुभयो । साथै सहकारी विरुद्ध विभिन्न नीतिनियम बनाइरहेकोप्रति निरन्तर सहकारी सदस्यहरुले संघर्ष गरिरहनुपर्ने उहाँको भनाइ छ । हरेक महिलालाई राजनीतिक, खेलकूद र सामाजिक रुपमा सचेत र संगठित गर्न सकेमात्र शोषक र भ्रष्टसँग लड्न सक्ने भएकाले त्यस्ता तालिम संस्थाबाट दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
न्याय र कानुनी क्षेत्रका वाङ्मय व्यक्तित्व वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र वरिष्ठ पत्रकार, सम्पादक एवं पूर्व शिक्षक लक्ष्मणराज जोशीलाई प्रमुख अतिथि विजुक्छेँबाट सम्मान गरिएको उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ध्रुवराज विष्टले सहकारी बैंकले संस्थाका लागि गर्न सक्ने सहयोग निरन्तर गरिरहने बताउनुभयो ।
त्यस्तै भक्तपुर नगरपालिका ९ वडाका अध्यक्ष रविन्द्र ज्याख्वले आर्थिकसँगै रोजगारमूलक, सिपमूलक र व्यक्तित्व विकासका गतिविधिहरु भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले समाजमा व्याप्त विकृति विसंगति हटाउन र जिम्मेवारबोध गर्न सहकारीको ठूलो योगदान हुने बताउनुभयो । स्थानीय निकायका लागि सहकारी र सहकारीका लागि स्थानीय निकाय एकाकार भई अघि बढिरहेको बताउनुभयो । वडाका विभिन्न गतिविधिबारे जानकारी दिँदै उहाँले स्थानीय निकायले समाजवादी व्यवस्था अनुरुप नै जनताको सेवा गरिरहेको जानकारी दिनुभयो । उहाँले नाफा र नोक्सान सबैको भागिदार संस्थाका सदस्यहरु हुने भएकाले सहकारी संस्थाबारे जानकारी लिइरहनुपर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष कान्छाभक्त घजुले सहकारी संघ संस्थामा आएको व्यथिति, विकृतिबारे जानकारी दिँदै विभिन्न लोभलालचमा परी सहकारी नीति, नियम, निर्देशिका र स्थानीय सहकारी सम्बन्धी विज्ञप्तिलाई ध्यान नदिँदा सहकारीहरु समस्याग्रस्त भैरहेको बताउनुभयो । उहाँले भक्तपुर जिल्ला बचतमा आवद्ध सहकारीहरुमा त्यस्तो समस्या नआएको औंल्याउनुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का अध्यक्ष परितोष पोडेलले भक्तपुर बचतले गरेको हरेक गतिविधि प्रशंसनीय भएको बताउँदै संस्थामा आइपर्ने नीति, विधि र प्रविधिमा नेफ्स्कूनले सहयोग गरिरहेको बताउनुभयो । विभिन्न क्षेत्रसँगै अब संस्थाले सम्पूर्ण सदस्यका लागि पैसा कमाउने विद्या, वुद्धि र शिप आवश्यक भएको बताउनुभयो । उहाँले व्यवसाय प्रबद्र्धनका निम्ति नयाँ आयामको रुपमा सहकारीले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका कानूनी सल्लाहकार राम प्रसाद प्रजापतिले न्याय र कानून क्षेत्रमा आएको राजनीतिक भागवन्डाले न्यायपालिकाभित्रै व्यथितिको जन्म भएको स्पष्ट पार्नुभयो । सहकारी संस्थाभित्र आर्थिकसँगै शासकहरुबाट बनाइएका सहकारी ऐन नियमले नयाँ चुनौती थपिरहेको उहाँको भनाइ छ ।
आ.व. २०८०/०८१ को कूल सम्पत्ति ३ अर्ब ६८ करोड र ऋण लगानी ३ अर्ब ८ करोड पुर्याउने लक्ष्य रहेको उक्त संस्थाले स्थीर सम्पत्ति ७ करोड ४४ लाख ९५ हजार पुर्याएको छ ।
संस्थाका सल्लाहकार शब्दरचना र प्रेम प्रजापतिको संगीतमा मनिषा श्रेष्ठ र दिपिका कुसीबाट सहकारी गीत प्रस्तुत भएको उक्त कार्यक्रममा कोषाध्यक्ष राम प्रसाद प्रजापतिको सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक कृष्ण सुन्दर प्रजापतिको प्रतिवेदन, आ.व. २०७९/०८० को लेखा परिक्षकको प्रतिवेदन, आ.व. २०८०/८१ को लागि लेखा परीक्षक नियुक्ति निजको पारिश्रमिक निर्धारणलगायतका विभिन्न १३ वटा प्रस्तावहरु संशोधनसहित पारित गरेको छ ।
कार्यक्रममा सम्मानित व्यक्तित्व वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी, वरिष्ठ पत्रकार लक्ष्मणराज जोशी, ई. सुजिता वाटीले बोल्नुभएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष निर्मल प्रजापति, सचिव लक्ष्मी प्रसाद कुसी लगायतले बोल्नुभएको थियो ।
संस्थाका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रशिक्षार्थीहरुबाट विभिन्न सांगीतिक प्रस्तुति गरेको थियो ।
सभाको बन्दसत्रबाट निर्मल प्रजापतिको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र जितेन्द्र ज्याख्वको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको चार वर्षे कार्यकालका लागि चयन भएको छ ।














