भक्तपुर महोत्सवको पूर्व तयारी, सम्पदा पद यात्रा सम्पन्न
भक्तपुर,
हाम्रो सभ्यतासँगसँगै मानिसको संस्कृति र सम्पदा पनि सुरु भएको भन्दै नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले यथास्थितिमा सम्पदा संरक्षणमा चुनौती रहेको बताउनु भएको छ । भक्तपुर नगरपालिकाले आयोजना गरेको सम्पदा पद् यात्राको समापन समारोहमा बोल्नु हुँदै सांसद सुवालले सम्पदा संरक्षण भए पर्यटक र संस्कृतिको पनि संरक्षण हुनेमा जोड दिनु भयो । भक्तपुरको सम्पदा नहेरे आधा संसार छुट्ने विद्धान इएपावेलको भनाई अनुसार संसारभरका मानिसहरु भक्तपुरको सम्पदा हेर्न आउने भएकाले सम्पदा संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनु भएको होे ।
भक्तपुरको सरसफाईलाई देखेर युनेस्कोले सन् १९९६ मै पुरस्कृत गर्दै न्यायमूर्तिको पदवि दिएको सांसद सुवालले स्मरण गर्नु भयो । रानी पोखरीको प्रांगणमा भएको पद यात्रा समापन समारोहमा सांसद सुवालले सम्पदा मानव निर्मित र प्राकृतिकरुपमा बनेका दुबै भएकाले यसको संरक्षणमा ध्यान दिनुको सत्ता सरकारमा गएका दल र नेताहरु भ्रष्टाचारमा डुबेको बताउनु भयो । सुन तस्करी, ललिता निवास, काठमाण्डौको कमलपोखरी मासेर बनाएको छायादेबी कम्प्लेक्सको चर्चा गर्दै सांसद सुवालले सम्पदा संरक्षणमा सरकारको ध्यान नपुगेको टिप्पणी गर्नुु भयो ।
भक्तपुर नगरको १० वडा कमलविनायकस्थित लामगाःबाट सुरु भएको सम्पदा पद् यात्रा नगरको उत्तरी क्षेत्रका करिव एक दर्जन पोखरीहरुको अवलोकन गरी रानी पोखरीमा सम्पन्न गरेको थियो । पद् यात्राको क्रममा रावनले घुडा टेकेबाट बनेको लामागाः पोखरी, ङातापोल मन्दिर बनाउन माटो झिकेर बनेको ग्वंग पुखु, दत्तात्रयस्थित सल्ला गणेश पोखरी यसै गरी नागपोखरी, भोलाछेंको विरालो र मुसा जुधेर बनेको भोलाछें पुखु, ख्वप कलेजसँगै रहेको ऐतिहासिक अँचा पोखरी यसै गरी औद्योगिक क्षेत्रमा रहेको प्रसिद्ध सिलु दह (काल दह), दुधपाटीस्थित भक्तपुरकै ठूलो पोखरी तः पुखु, त्यसपछि जमिनभन्दा माथि बनेको ऐतिहासिक सिद्धपोखरी र अन्तमा हालै जिर्णोद्धार सम्पन्न गरेको न्हु पुखु (रानीपोखरी)को यात्रा गर्दै सम्पदा पद यात्रा सम्पन्न गरेको थियो । सांस्कृतिक बाजा सहित आयोजना भएको सो पद् यात्रा भक्तपुर महोत्सवको पूर्व तयारी भएको नगर प्रमुख सुनिल प्रजापतिले बताए । नगरपालिकाको आर्थिक स्रोत सम्पन्नतासँगै शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र नगरवासीहरुको हितका लागि पर्यटन विकासमा जोड दिदै आएको भन्दै उहाँले पुर्खाले सर्जेको सम्पदा नयाँ पुस्ताकालागि समर्पित गर्न तयारी गरेको बताए ।
उपप्रमुख रजनी जोशी, स्थानीय जनप्रतिनिधी, संस्कृति र सम्पदा प्रेमी समुदाय, पर्यटन व्यवसायी, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरु सहित परम्परागत बाजागाजा र नाँचगान सहितको सम्पदा यात्रा पर्यटन विकास र संस्कृति संरक्षणका लागि उपलब्धी मूलक रहेको सहभागिहरुको भनाई छ । यस्तो यात्रा वर्षमा एक दिन गरेर नपुग्ने भन्दै महिना दिनको फरकमा आयोजना गर्दै जानुपर्नेमा सम्पदा प्रेमीहरुले जोड दिएका छन् ।
हरेक पोखरीसँगै दाफा भजन, स्थानीय उत्पादन, मौलिक खाजा, वः चतामारी, योमारी, सम्मेबजी सहितको स्थलहरुले पदयात्रालाई जिबन्त बनाएको थियो । सिद्धपोखरी प्रांगणमा भने नेवारी चिउरा बनाउने परम्परागत सिप प्रस्तुत गरेको थियो । ति पोखरीहरुमा आज साँझ दिपावली गर्दै सम्पदा पद यात्रालाई थप सार्थकता दिदै छन् ।