भक्तपुरको प्रसिद्ध खः प्याखं यसकारण इतिहासमा सिमित
भक्तपुर, श्रावण २०गते
कुनै बेला निकै चर्चित भक्तपुरको खः प्याखं २०४० साल देखि लुप्त अवस्थामा रहेको छ । पर्यटन प्रवर्धन र सम्पदा संरक्षणका लागि आज भक्तपुरमा आयोजित सम्पदा पद यात्राकोक्रममा ठूलो ब्यासी पोखरीसँगैको पाटीमा प्रदर्सित ऐतिहासिक खः प्याखंका पोसाक र सामग्रीहरुले खः प्याखंको इतिहास झल्काइ रहेको थियोे । खः प्याखंका केही सामग्री जस्ताको तस्तै छ तर यसका गुरु, बाध्यबादकहरु सबै बितेर गइसकेकाले यो नाँच इतिहासमा मात्रै सिमित रहेको स्थानीयले बताए ।

२०४० सालसम्म टोल टोलमा देखाउँदै आएको खः प्याखंका अधिकांस कलाकारहरु जिउँदै रहे पनि यसका गुरुहरु र बाध्यबादकहरु नभएकोले मात्र होइन, सो नाँचका लागि सयौं कलाकारहरु चाहिने र तिनीहरुलाई महिनौ प्रशिक्षण दिनुपर्ने भएकाले चाहेर पनि खः प्याखंलाई जिबन्तता दिन नसकिरहेको स्थानीय लक्ष्मीबहादुर सुवालले बताए । सुवालका अनुसार २०३० साल पछि २०४० सालमा प्रदर्शन गरेपछि अहिलेसम्म सो नाँच देखाउन नसके पनि आज बाँकी रहेका पोशाक, नाँचका सामग्री एवं गुरु, कलाकारका फोटोहरु प्रर्दशनिमा राखेको बताए । अन्तिम पटक २०४० सालमा खः प्याखं देखाउँदाका कलाकारहरु अधिकांश रहे पनि पुनः प्रस्तुत गर्न संभव नदेखेको उहाँको भनाई छ । २०४० सालको खः प्याखंमा आफूले अभिमन्यूको भुमिका खेलेको स्मरण गर्दै यो नाँच महिनौसम्म अभ्यास गरेर महिनौ दिनसम्म देखाउनुपर्ने भएकाले चाहेर पनि पूरा देखाउन नसकिने बताए यद्यपी नाटकका केही भागहरु बाघ र घोडाका नाँचहरु भन्ने देखाउन सकिने उनले बताए ।
खः प्याखंमा महाभारतमा आधारित पदकथाहरुलाई स्थानीय कलाकारहरुलाई प्रशिक्षण दिएर धार्मिक नाटक र परम्परागत नाँचको रुपमा टोल टोलमा देखाउने गरिन्थ्यो ।













