मावि तहका विज्ञान शिक्षकहरुलाई एक दिने कार्यशाला गोष्ठी
भक्तपुर । २०८० साउन १९ गते, शुक्रबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षण पेशालाई केबल जीविका निर्वाह गर्ने ढंगले नहेरी नयाँ पुस्तालाई देश र समाजको लागि सेवा गर्ने भावनासहितको जनशक्ति तयार गर्ने पेशाको रुपमा ग्रहण गर्न आग्रह गर्नुभएको छ । उहाँले उक्त आग्रह मावि तहका विज्ञान शिक्षकहरुको कार्यशाला गोष्ठीको उद्घाटन गर्दै व्यक्त गर्नुभएको हो ।
नगरपालिका मावि तहका विद्यालयहरुमा विज्ञान र गणित प्रयोगशाला बनाउँदै जाने नीति रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, विज्ञान विषयको शिक्षण प्रयोग विना प्रभावकारी हुँदैन । संसारको विकास र विनास विज्ञानकै कारण भएको चर्चा गर्दै उहाँले विद्यार्थीहरुलाई विज्ञान देश र समाजको सेवा गर्ने उद्देश्यसँग जोडेर अगाडि लानुपर्नेमा जोड दिनुभयो ।


विज्ञानको प्रगतिको लागि संसारमा अहिले चीन र अमेरिकाबीच प्रतिस्पर्धा भइरहेको तथ्यांक प्रस्तुत गर्दै उहाँले उहाँले भन्नुभयो, ‘अनुसन्धानमा अमेरिकाले वार्षिक ६ खर्ब डलर खर्च गर्छ भने चीन ४ खर्ब डलर खर्च गर्छ जबकि नेपालले ४१ करोड रुपैयाँ अनुसन्धानको लागि बजेट छुट्याउँछ, त्यही पनि पूरा गर्न सक्दैन ।’
अनुसन्धानले आविष्कार गर्छ र आविष्कारले देशलाई अगाडि बढाउँछ भन्दै उहाँले संसारका ठूल्ठूला वैज्ञानिकहरु पनि हाम्रै विद्यार्थीजस्तै थिए, हाम्रा विद्यार्थीहरुलाई उत्साहित गर्न सके अवश्य पनि प्रगति हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
इमानदारीपूर्वक काम भएको भए हाम्रो देशको कृषि अनुसन्धान केन्द्र ‘नार्क’ लाई नरक भनिने थिएन भन्दै उहाँले गोष्ठीमा नयाँ र पुराना शिक्षकहरुबीचको अनुभव आदानप्रदानले फलदायी हुने अपेक्षा गर्नुभयो ।
गोष्ठीमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले आफू पनि १७ वर्ष शिक्षणपछि निजामतिमा आएको बताउँदै हरेक शिक्षकले पाठ्यपुस्तक मात्र होइन पाठ्यक्रम पनि पढ्नुपर्छ भन्नुभयो । उहाँलेभयरहित शिक्षणको चर्चा गर्दै विद्यार्थीलाई बढीभन्दा बढी प्रश्न गर्न सक्ने बनाउन सके शिक्षण सिकाइ बढी प्रभावकारी हुने विचार व्यक्त गर्नुभयो ।
विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समितिका संयोजक एवम् वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले स्वागत गर्दै गोष्ठीमा समस्या पहिचान गरी समाधानको खोजी गर्ने र विज्ञान शिक्षण आगामी दिन थप प्रभावकारी हुने अपेक्षासहित गोष्ठीको आयोजना गरेको बताउनुभयो ।
नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले गोष्ठीको औचित्यतामाथि प्रकाश पार्दै नगर शिक्षा शाखाबाट भएका क्रियाकलापहरुको जानकारी दिनुभयो ।
नगरका ५० जना विज्ञान शिक्षकहरुको सहभागिता रहेको उक्त गोष्ठीमा सहजकर्ताको भूमिकामा वरिष्ठ विज्ञान शिक्षक राजेन्द्रबहादुर कायष्ठ रहनुभएको छ भने ११ वटा पाठ्य इकाइअनुसार ११ वटा समूहमा विभाजन गरी छलफल गराइएको छ ।













