भक्तपुरवासीको पीडा ः घरभित्र समेत मास्क लगाउनुपर्ने स्थिति

भक्तपुरवासीको पीडा ः घरभित्र समेत मास्क लगाउनुपर्ने स्थिति
० हरिसुन्दर छुकां
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालको रातोपाटीका मदन गिरी सडकको धुलोबाट विगत ६ महिनादेखि हैरानी खेपिरहेका छन् ।
भत्केको पाटी–कलमसी सडक स्तरोन्नतिका लागि भन्दै निर्माण व्यवसायीले काम अलपत्र पार्दा उनीमात्र हैन, सो क्षेत्रका अधिकांशको समस्या उस्तै छ ।
सुडालको रातोपाटीका गिरी मात्र हैन, ताथलीको च्याम्हासिंह–नाला सडकको दूरावस्थाको कारण पूरै ताथलीवासी पनि पीडित छन् । निर्माण व्यवसायीले समयमै सडक स्तरोन्नतिको काम नगर्दा खपिनसक्नुको पीडा ताथलीवासीले विगत ६ महिना यतादेखि भोगिरहेका छन् ।
स्थानीयले सडकको काम तत्काल सुरु गर्न निर्माण व्यवसायीलाई पटकपटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले आलटाल गरिरहेको छ । निर्माण कार्यको समय सीमा सकिँदा पनि कालोपत्रे नहुँदा धुलोबाट पीडित ताथलीवासीले दुईपटकसम्म सडक अवरुद्ध गरिसकेका छन् । तर कामले गति लिन सकेको छैन ।
यो समस्या चाँगुनारायणका विभिन्न वडाहरुमा उस्तै छ । दुवाकोट–वीर अस्पताल सडकको कथा पनि उस्तै छ । निर्माण व्यवसायीले सडक बनाउने भन्दै भएको पीच कोटर्ने, ठाउँठाउँमा ग्राभेल थुपार्ने, अनि विभिन्न बहानामा काममा ढिलाइ गर्ने ।
यस्तै समस्या लिएर चाँगुनारायण नगरस्तरीय स्वच्छ हावा प्रवद्र्धन सञ्जालका पदाधिकारी, सदस्य तथा स्थानीय आइतबार जिल्ला प्रशासन कार्यालय, डिभिजन सडक र जिल्ला समन्वय समितिमा पुगेका छन् ।


धुवाधूलोबाट पीडित उनीहरुले सो क्रममा धूलोबाट निक्कै हैरानी खेप्नु परेको गुनासो गर्ने क्रममा मदन गिरीले भने, ‘ठेकेदारले काम गर्छु भन्दै नगर्दा अहिले घरभित्र बस्दा पनि मास्क लगाउनु परेको छ । घरमा बुढी आमा छिन्, बालबच्चाहरु छन्, उनीहरुलाई श्वास फेर्ने गाह्रो भो ।’
सडकको कारण मात्र नभई विगत लामो समयदेखि सञ्चालनमा रहेका इँटा उद्योगहरुबाट निस्कने धुलो र धुँवाको कारण पनि आफूहरु पीडित रहेको सञ्जालका सदस्यहरुले गुनासो गरे । उनीहरुले जिल्लामा बढिरहेको प्रदूषण घटाउन ठोस कदम चाल्न सरोकारवाला निकायसँग आग्रह गरे ।
उनीहरुले भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, जिल्ला समन्वय समितिका प्रमुख तथा सडक डिभिजन भक्तपुरका प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै बढ्दो प्रदूषण न्यूनीकरणका लागि तत्कालै ठोस कदम चाल्न आग्रह गर्दै सो विषयमा समयमै ठोस कदम नचालिएर भक्तपुरको वातावरणीय स्थिति अझ भयावह हुनेतर्फ सचेत गराए ।
उनीहरुले चाँगुनारायण नगरपालिका क्षेत्रमा रहेका ईटा उद्योगको प्रदूषण नियन्त्रण गर्न, वातावरण मैत्री प्रविधि प्रयोग गर्न एवं सामाजिक दायित्व निर्वाह गर्दै सुरक्षित स्थानमा उद्योग स्थापनार्थ र स्थानान्तरणको लागि आवश्यक सहजीकरण गर्न तथा नगरपालिका क्षेत्रमा निर्माणाधीन पक्की सडकहरु (सल्लाघारी दुवाकोट सडक, कमलविनायक नगरकोट सडक, भत्केको पाटी–कलमसी सडक, च्यामासिंह–नाला सडक आदि) निर्माण कार्यमा भईरहेको ढिलासुस्तीको कारण बढेको धुलो र धुवाँ नियन्त्रणका लागि समेत अनुरोध गरेका छन् ।
सात बुँदे मागसहित ती कार्यालय पुगेर सञ्जालका पदाधिकारी तथा सदस्यहरुले उपत्यकाको वायु प्रदुषणले जनस्वास्थ्यमा ठूलो असर परिरहेको जनाउँदै त्यसको नियन्त्रण जरुरी रहेकोमा जोड दिए ।
सञ्जालका अध्यक्ष राम खड्काले विश्व स्वास्थ्य संगठनको तथ्याङ अनुसार उपत्यकामा धुलोका कणहरुको वार्षिक औसत घनत्व विश्व स्वास्थ्य संगठनको स्वास्थ्य निर्देशिकामा उल्लेख भएको भन्दा दशौं गुणा उच्च रहेको र यातायातको साधन, फोहोर तथा खेतको सुकेको बोट जलाउने, ईट्टा भट्टा, कलकारखानाबाट निस्किएको धुँवा, बाटो र निर्माण सामग्रीहरुबाट निस्किएको विषाक्त धुलो आदिलाई वायु प्रदुषणको मुख्य कारणको रुपमा रहेको बताए ।
उनले नेपालको तथ्याङ्ग अनुसार वायु प्रदुषणद्धारा जनस्वास्थ्यमा अत्याधिक असर देखिएको र सोही कराण फोक्सोको क्यान्सर र दीर्घकालिन स्वास प्रस्वाससम्बन्धी रोगहरु देखिन सुरु भएको बताए ।
सञ्जालका सहसंयोजक रविता कार्कीले बढ्दो धुलोका कारण घरभित्र बस्दा समेत मास्क लगाएर बस्नु परेको र त्यसकारण श्वासप्रश्वास सम्बन्धी रोगहरु देखिन थालेको गुनासो गरिन् । उनले नेपालको संविधान २०७२ को धारा (३०) मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको व्यवस्था गरिएको बताउँदै वातावरणीय प्रदुषणबाट हुने क्षति वापत पीडितलाई प्रदुषकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था भएकाले सोही अनुसार क्षतिपूर्ति भराउन समेत अनुरोध गरिन् ।
ज्ञापन पत्र बुझाउन पुगेका सदस्य तथा पीडितहरुले चाँगुनारायण नगर क्षेत्रमा विगत लामो समयदेखि वातावरण प्रदुषण भईरहे पनि त्यसको निराकरणका लागि कुनै काम नहुनु विडम्वनापूर्ण रहेको बताए । उनीहरुले तीन तहको सरकारबीच समन्वय र सहकार्यको अभावमा नागरिकहरुले प्रदुषणको पिडा भोगिरहेको बताए ।
ज्ञापन पत्र वाचन गर्दै सञ्जालका सल्लाहकार नवराज काफ्लेले बाटो, सडक, ठूला ठूला भवन, ढुङ्गागिटी बालुवाको उत्खनन् र ओसारप्रसार, ईटा लगायत अन्य उद्योगले उत्सर्जन गरेको धुवा धुलो जस्ता प्रदुषणको कारण दम, रुघा, खोकी, क्यान्सर, आँखा पाक्ने, लगायतका रोगहरु दिनानुदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।
सोही कारण सञ्जालले विभिन्न माग राखी सम्बन्धित पक्षको ध्यानाकर्षणका लागि ज्ञापन पत्र बुझाएर वातावरण संरक्षणको अभियान थालनी गरेको बताए ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले भक्तपुरमा बढिरहेको प्रदूषण न्यूनीकरणका लागि सर्वपक्षीय छलफल गर्ने प्रतिवद्धता जनाए । उनले भक्तपुरका धूले सडक र इँटा उद्योगहरुका कारण विभिन्न खाले प्रदूषण बढिरहेको बारे जनगुनासो आएको बताउँदै सो समस्या समाधान गर्नका लागि आफूले मिडियाकर्मीहरुसहित व्यवसायीहरुसँग छलफल गरी आवश्यक निचोड निकालिने बताए ।