भक्तपुरका प्रजिअ शर्मालाई उद्यमीको बिदाई

भक्तपुरका प्रजिअ शर्मालाई उद्यमीको बिदाई

भक्तपुर ः भक्तपुरबाट सरुवा भई जान लाग्नुभएकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई भक्तपुर उद्योग वाणिज्य संघले आइतबार एक कार्यक्रमका बीच बिदाई गरेको छ ।
संघको सभाहलमा आयोजित कार्यक्रममा संघका अध्यक्ष शिवप्रसाद मानन्धरले शर्मालाई दोसल्ला ओढाई मयुर झ्याल मायाको चिनो प्रदान गरी बिदाई गरे । कार्यक्रममा अध्यक्ष मानन्धरले आफ्नो कार्यकालमा कर्तव्यनिष्ट भई जिल्लाको शान्ति सुरक्षा, अमनचयन कायम गर्न सफल भएकोमा शर्मालाई धन्यवाद व्यक्त गरे । आफ्नो कार्यकालमा भक्तपुरका सम्पूर्ण उद्योगी, व्यवसायीहरुसँग निकट भई काम गर्नुभएको भन्दै उनले प्रजिअ शर्माको कामको प्रशंसा गरे । ‘कोभिड महामारीको समयमा पनि प्रजिअ शर्माले विभिन्न चुनौतीको सामना गर्दै उद्योग वाणिज्य संघसँग सहकार्य गर्दै उद्योगी व्यवसायीहरुको पक्षमा धेरै काम गर्नुभएको छ’, उनले भने । उनले शर्माको नयाँ कार्यक्षेत्रमा पनि सफलताको शुभकामना व्यक्त गरे ।
प्रजिअ पाण्डेले आफ्नो १६ महिना भक्तपुर जिल्लामा बसेर काम गर्न पाउँदा निकै सन्तुष्ट भएको बताइन् । निजी क्षेत्र देशको अर्थतन्त्रको आधार स्तम्भ रहेको भन्दै उनले निजी क्षेत्रसँग सुमधुर सम्बन्ध कायम गर्न पाउँदा आफूलाई खुसी लागेको बताइन् । ‘निजी क्षेत्रको विकास बिना देशको अर्थतन्त्र उकास्न सकिँदैन, त्यही कारण निजी क्षेत्रमा देखिएका समस्या तथा चुनौती समाधान गर्न मैले सक्दो प्रयास गरेको छु’, उनले भनिन् । आफ्नो कार्यकालमा भएका अधिकांश कार्यसम्पादनमा भक्तपुर उद्योग वाणिज्य संघको साथ र सहयोग रहेको उनको भनाइ छ । उनले भक्तपुरको पुरातात्विक क्षेत्र, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका जात्रा, पर्व तथा संस्कृतिबाट आफू निक्कै प्रभावित भएको भन्दै भक्तपुरमा प्रजिअको रुपमा गरेको कार्य अविस्मरणीय भएको बताइन् ।


कार्यक्रममा संघको पूर्वअध्यक्ष एवं सल्लाहकार कृष्णप्रसाद अवाल, उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्बालगायतले प्रजिअ शर्माको कार्यको प्रशंसा गर्दै आगामी दिनको लागि शुभकामना व्यक्त गरे ।