लगानीको वातावरणले देशको अर्थतन्त्र सबल हुने उद्यमीको धारणा

लगानीको वातावरणले देशको अर्थतन्त्र सबल हुने उद्यमीको धारणा
भक्तपुर, पुस २९ गते
विदेश गएका युवाहरुको रेमिटेन्सले देशको अर्थतन्त्र धानिरहेको देख्दा नेपाली उद्यमीहरुले देशको अर्थतन्त्रमा योगदान गर्न नसकेको अनुभूति गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निर्यातमुखी अर्थतन्त्रको विकास गर्न पर्याप्त पूर्वाधार निर्माणमा जुत्न आग्रह गरेको छ । भक्तपुर उद्योग वाणिज्य संघको ३५ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष गोल्छाले विश्वभर फैलिएको आर्थिक मन्दिले ब्यवसायी भन्दा देश नै समस्यामा परेकाले स्थानीय उत्पादनलाई प्रर्वधन गर्न पर्यटन विकासमा जोड दिनुपर्ने बताउनु भयो । नेपाल आएका पर्यटकहरु भक्तपुर नघुमि नेपाल आएको महसुस गर्न नसकिने बताउँदै उहाँले संस्कृति र पर्यटनको विकासले देशको अर्थतन्त्र बलियो हुने विश्वास ब्यक्त गर्नु भयो । साथै उहाँले देशको अर्थतन्त्र जोगाउन लगानीको बातावरण बनाउनुपर्नेमा जोड दिनु भयो ।


“हामी सामाजिक दायित्वप्रति सचेत प्रतिस्पर्धी ब्यवसाय विकासका लागि प्रतिबध छौं” भन्ने भक्तपुर उद्योग वाणिज्य संघको उद्घोष सान्दर्भिक भएको भन्दै उहाँले जिल्लाका उत्कृष्ठ निर्यातकर्ता तथा व्यवसायीहरुलाई सम्मानित गर्नुका साथै भक्तपुरबाट निर्वाचित सांसदहरुलाई उद्यमी व्यवसायीहरुको तर्फबाट सम्मानित गर्नु भयो । साधारण सभाको अवसरमा प्रकाशित बुलेटिनको पनि अतिथीहरुले सो अवसरमा विमोचन गरेका थिए ।
संघका अध्यक्ष शिव मानन्धरको सभापतित्वमा आयोजित सो सधारण सभामा महासंघका जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ, बस्तुगततर्फका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठ, पूर्व अध्यक्ष केपी ताम्राकार, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, कार्यक्रमका संयोजक रोशनी द्यौबन्जा, सदस्य ऋषी श्रेष्ठर जनप्रतिनिधीहरुले पनि उद्योग मैत्री वातावरण निर्माणकालागि जोड दिदै आआफ्नो विचार ब्यक्त गरेका थिए ।