हनुमानघाटस्थित लोकेश्वर महादेव मन्दिर शिलान्यास

हनुमानघाटस्थित लोकेश्वर महादेव मन्दिर शिलान्यास
२०७९ पुस २० गते, बुधबार
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ७ हनुमानघाटस्थित लोकेश्वर महादेव पुन:निर्माण कार्यका लागि बुधबार शिलान्यास गर्नुभएको छ ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुरका सा“स्कृतिक, धार्मिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थान र सम्पदाहरु पर्यटन आकर्षणको आधारहरु भएको बताउनुहुँदै यहाँका मूर्त र अमूर्त सम्पदा संरक्षणमा भक्तपुर नपाले प्राथमिकताका साथ अगाडि बढिरहेको बताउनुभयो ।


हनुमानघाट परिसर यहाँका जनताको आस्थाको केन्द्रको रुपमा रहेको महत्वपूर्ण धार्मिक स्थल भएको बताउनुहुँदै उहाँले यस ठाउँको सुधारको लागि नियमित सरसफाइ, मठ मन्दिर पुन:निर्माण, पुल निर्माण, सुधारिएको शवदाहगृह निर्माणलगायतका कार्य निरन्तर रुपमा सञ्चालन भइरहेको बताउनुभयो ।
भक्तपुर धार्मिक पर्यटनको रुपमा विकास गर्ने धेरै सम्भावनाहरु रहेको ठाउँ हो भन्दै प्रमुख प्रजापतिले भक्तपुर नपाले धार्मिक स्थल व्यवस्थापनमा पनि विशेष पहल गर्दै आएको र सम्पदा पुन:निर्माणमा उपभोक्ता समितिलाई नै जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर धेरै मठमन्दिरहरु भएको ठाउँ हो र जीर्ण अवस्थामा रहेका सम्पदाहरुको पुन:निर्माण क्रम जारी रहेको बताउनुहुँदै मन्दिर पुन:निर्माणमा स्थानीय जनताबाट आर्थिक र भौतिक सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
मन्दिर पुन:निर्माण उपभोक्ता समितिका सदस्य जीवनराज राजोपाध्यायले हनुमाघाटको इतिहास र महत्वबारे प्रष्ट पार्नुहुँदै लामो समयदेखि जीर्ण अवस्थामा रहेको लोकेश्वर महादेव पुन:निर्माण हुनु सुखद पक्ष रहेको बताउनुभयो ।
कार्यक्रममा भनपा ७ का वडा सदस्य हेरा ख्याजू र उपभोक्ता समितिका अध्यक्ष बुद्धिराम दुवालले पनि मन्दिर पुन:निर्माणमा स्थानीय जनताबाट सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।