नेवारी शैलीको बस्ती संरक्षण गर्न शनिबार हस्ताक्षर अभियान हुने

नेवारी शैलीको बस्ती संरक्षण गर्न हस्ताक्षर अभियान हुने
भक्तपुर, पुस १५ गते
ईटा र माटोका परम्परागत शैलीको नेवार समुदायको घर निर्माण हराउन थालेपछि मेथड कन्सल्टेन्सिले यस प्रविधिको संरक्षण र प्रोत्साहनका लागि आवश्यक नीति निर्माणमा जोड दिन शनिबार हस्ताक्षर संकलन गर्ने भएको छ । शहरी विकास मन्त्रालयले ईटा र माटोको जोडाईको घरलाई दुई तत्लामा मात्र सिमित गर्ने मापदण्डहरु तय गरेको भन्दै नेवार वस्तीका मौलिक एवं परम्परागत घर सम्रचनाहरु छेलि, मातां, चुता र थातु चुता तथा बैग(दने) गरी ४।५ तल्लासम्म भूकम्प मैत्री परम्परागत प्रविधिबाट बनाउने मापदण्डहरु बनाउन आवश्यक भएको भन्दै यस विषयमा सरोकारवालाहरुको ध्यानाकर्षण गराउन सो हस्ताक्षर अभियान गर्न लागेको जनाएको हो । नगरपालिकाहरुले ईटा र माटोको जोडाईको घर भनेपछि नक्सा दर्ता समेत गर्दैनन् । दर्ता गरे पनि स्टक्चर एनालिसिस माग्छ तर एनालिसिस गर्ने प्रणालीको नीतिगत व्यवस्था छैन यस कारण परम्परागत शैलीको नेवार बस्ती हराउन थालेको छ । यसको संरक्षणको लागि सम्पदाप्रेमी नागरिकको हैसियतमा सो हस्ताक्षर अभियान थालेको कन्सल्टेन्सिका प्रमुख सृजना प्रजापतिले जनाए ।


कंक्रिट र सिमेन्टले बन्नेको घर सम्रचना बढीमा एक सय बर्ष रहन्छ तर परम्परागत शैलीले बनेका ३।४ सय वर्ष पूरानो घर सम्रचना अहिले पनि सबल छ । यस्तो सम्रचनाका सामग्री पुन: प्रयोग समेत गर्न मिल्ने भएकाले यो प्रविधिलाई प्रोत्साहित गर्न आवश्यक भएकोमा जोड दिदै कन्सल्टेन्सिका संस्थापक तुल्सी बासुकलाले विकसित देशहरुमा सय वर्ष नपुगेको कंक्रिटका घरहरु भट्टाभट भत्काउन थालेको उदाहरणहरु प्रस्तुत गर्नु भयो । उहाँले मानिसको स्वास्थ्य र संस्कृति संरक्षणका लागि समेत मौलिक र परम्परागत शैलीको घर सम्पदा संरक्षणार्थ आवश्यक नीति बनाउन आग्रह गर्दै हस्ताक्षर अभियान गर्न लागेको बताए ।
भक्तपुरको ५५ झ्याले दरवार, पाँच तल्ले मन्दिर जस्तै समुदायका घरहरु पनि बलियो र सुरक्षित तथा दिगो गरी बनाउन सकिने कुरा उल्लेख गर्दै स्थानीय श्रोत र सामगी्रबाट बन्न यस्तो प्रविधिलाई संरक्षण र प्रोत्साहित गर्न मेरो घर बनाउन पाउँ सहभागि होऔं भन्दै भोलि विहान ८ बजे देखि ११ बजेसम्म भक्तपुरको खौमामा हस्ताक्षर संकलन अभियान कार्यक्रम तर्जुमा गरेको कन्सल्टेन्सिका संस्थापक तुल्सी बासुकलाले आज भक्तपुरमा पत्रकार सम्मेलन गरी सो बारे जानकारी दिए ।