शैक्षिक अनुभब विमोचित, शिक्षक सम्मानित, विद्यार्थीहरु पुरस्कृत

शैक्षिक अनुभब विमोचित, शिक्षक सम्मानित, विद्यार्थीहरु पुरस्कृत
भक्तपुर, असोज १२ । सेवा निवृत्त शिक्षक समाजको आयोजनामा भक्तपुर नगरपालिकाका प्रमुुख सुनिल प्रजापतिले ख्वपको पहिचान विषयमा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई सम्मान गर्नुभयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशभर फैलिएको डेंगु रोग नियन्त्रणका लागि विद्यालय सहकारी तथा सरोकारवालासबैसँग सहकार्य गर्नुपर्ने बताउँदै व्यक्तिको सोच व्यवहारमा समाज अनुकूल परिवर्तन ल्याउन शिक्षकले योगदान पु¥याउने बताउनुभयो । चाडपर्वमा खानपिनलाई विशेष ध्यान दिई बिदाको जीवनलाई नयाँ योजना बनाई अध्ययनबाट प्राप्त ज्ञान जनताको हित अनुरुप प्रयोग गर्नुपर्ने बताउँदै उहाँले स्थानीय पाठ्यक्रमको विषयवस्तु शिक्षकले बुझेपछि पाठ्यपुस्तक भन्दा प्रयोगात्मक रूपमा विद्यार्थीलाई प्रभावकारी रूपमा बुझाउन सकिने भन्नुभयो । उहाँले ख्वपको पहिचान विषय अध्ययन गरेका विद्यार्थी कुनै पिएचडीवाला भन्दा कम नरहेको जानकारी दिँदै टोलटोलका सांस्कृतिक गुरुलाई विद्यालयमा प्राध्यापनको मौका दिन खोजेको बताउनुभयो । आजका विद्यार्थी अभिभावकको कुुरा भन्दा बढी शिक्षकको कुरामा बढी विश्वास गर्नेे हुँदा शिक्षक केन्द्रित विभिन्न तालिम दिएर सक्षम बनाउने भन्दै उहाँले नागरिकता विधेयक, अंगीकृत नागरिकबाट वंशजको नागरिकता दिँदा एटम बम भन्दा खतरापूर्ण रहेको बताउनुभयो । अतिथि प्रजापतिले भक्तपुर नगरपालिकालाई विश्वविद्यालय र मेडिकल कलेज खोल्न हरेक सरकारले आनाकानी गरिरहेको भन्नुभयो । उक्त कार्यक्रममा सेवा निवृत्त शिक्षक समाजका संस्थापक अध्यक्ष नातिभाई कवांले अन्य स्थानीय सरकारको लागि भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणमा अनुकरणीय भएको भूमिका खेलेको बताउँदै शैक्षिक रूपमा निवृत्त शिक्षकहरूले प्रकाशन सहित अझै राष्ट्रलाई केही सेवा दिने उद्देश्यले सो समाजको स्थापना भएको बताउनुभयो । जिल्ला शिक्षा समन्वय समिति कर्ण बहादुर बुढाथोकीले शिक्षकहरू राजनीतिक रूपमा निवृत्त भएपनि सामाजिक अनुभव, ज्ञान क्षमताले समाज र राष्ट्रको निर्माण एवं विकास हुन्छ भन्नुभयो । उक्त कार्यक्रममा सम्मानित निवृत्त शिक्षक प्राध्यापक उद्वव सुजखूले भक्तपुरको पहिचानलाई कायम राख्न सामुदायिक विद्यालयमा गैरनेवार विद्यार्थीहरु जन्म मृत्युु, भूगोल, इतिहास, स्वास्थ्य, शिक्षा र संस्कारमा पनि पारंगत र सहज भएको बताउँदै खारिएको अनुभवलाई वुढ्योली नभएको बरु प्रजातन्त्र, संघर्षमा रूमलिएको शिक्षकहरूले नयाँ उत्साह थपेको बताउनुभयो । विमोचित पुस्तकका सम्पादक मण्डलका सदस्य ज्ञानसागर प्रजापतिले सो पुस्तकमा १९ जना शिक्षकहरूले विभिन्न विषय माथि आफ्नो अनुभवको कलम चलाएको भन्दै जेष्ठ वा निवृत्त जीवनमा पनि उत्साहका साथ अगाडि बढेकोले अमुल्य सुझाव माग्नुभयो । उक्त कार्यक्रममा २३ वटा सामुदायिक विद्यालयबाट प्रथममा ४, द्वितीयमा ७ र तृतीय ७ जनाले १८ वटा मेडल पाउन सफल भएका छन् भने ३० वटा संस्थागत विद्यालयबाट प्रथममा ३७,द्वितीयमा १२ र तृतीयमा ८४ जनाले १३३ वटा मेडल पाएका छन् । सेवा निवृत्त शिक्षक समाजका संस्थापक भक्त राजभण्डारीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा उपाध्यक्ष रामगोपाल कर्माचार्य र कोषाध्यक्ष विश्वराम कवां लगायतले बोल्नुभएको थियो ।