ईसिडि शिक्षकहरुका मागहरु तत्कालै पूरा गर्न जोड

ईसिडि शिक्षकहरुका मागहरु तत्कालै पूरा गर्न जोड

१७ भाद्र,भक्तपुर ।

ई.सि.डि. शिक्षक संघर्ष समितिको आयोजनामा श्री भारती आधारभूत विद्यालयमा ईसिडि शिक्षकहरुको बृहत भेला सम्पन्न भयो । संघर्ष समितिका संयोजक सीतालक्ष्मी छुस्याकीको सभापतित्वमा सम्पन्न उक्त भेलामा नेपाल क्रान्तिकारी शिक्षक संघ केन्द्रीय समितिका कोषाध्यक्ष चक्रबहादुर चाकतुले ईसिडि शिक्षकहरुका मागहरु तत्कालै पूरा गर्नुपर्छ भन्नुभयो ।

वहाँले भन्नुभयो— विद्यालय शिक्षाको दायित्व सरकारको भएको हुँदा र संविधानमा नै निशुल्क शिक्षाको व्यवस्था उल्लेख भएको हुँदा इसिडि शिक्षकको तलबभत्ता तथा अन्य सुविधाहरु सरकारले नै बन्दोबस्त गर्नुपर्छ । सरकारले इसिडि कक्षालाई पनि विद्यालयीय कक्षामा समावेश गरिसकेको हुँदा सरकारी कार्यालयमा कार्यरत श्रेणीविहीन कार्यालय सहयोगी कर्मचारीको पारिश्रमिक रु.२४,२१० भैसकेकोले इसिडि शिक्षकको तलब सोभन्दा एक तह माथिको पारिश्रमिक रु.२६,०८२ संघीय सरकारले नै बन्दोबस्त गर्नुपर्छ । गत आ.व. स्थानीय तहलाई रु.७००० दिन सरकारले सूचना दिए पनि केही पालिकाहरुले मात्र दिएको हुँदा इसिडि शिक्षकहरुमाथि अन्याय भैरहेको छ । स्थानीय तहले पनि शिक्षा क्षेत्रमा योगदान गर्नुपर्छ । कम्तिमा पनि भौतिक पूर्वाधारको व्यवस्था र अनुगमन कार्य स्थानीय तहबाट हुनुपर्छ ।

विद्यालय शिक्षाको आधार इसिडि तह हो । शैक्षिक स्तर उकास्नको लागि दिवाखाजा सहितको इसिडि कक्षा सञ्चालन हुनुपर्छ । सरकारले हाल दिदै आएको दिवाखाजा भत्ता रु.१५ ज्यादै न्यून छ,कम्तिमा रु.३० हुनुपर्छ । कार्यक्रममा उर्मिला प्रजापति लगायत इसिडि शिक्षकहरुले आफ्ना मागहरु बारे बोल्नुभएको थियो ।