भक्तपुर नपाको बाह्रौँ नगरसभामा स्थानीय समस्या र समसामयिक विषयमा छलफल

भक्तपुर नपाको बाह्रौँ नगरसभामा स्थानीय समस्या र समसामयिक विषयमा छलफल
२०७९ असार १४ गते, मंगलबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बाह्रौं नगरसभाको बैठक मंगलबार बस्यो ।
सभाको विशेष समयमा नगर सभासद्हरुले नगरको शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, खानेपानीलगायतका स्थानीय समस्याहरु र अन्य समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयहरुमा आ—आफ्नो धारणा राख्नुभयो ।
सभामा नगर प्रमुख प्रजापतिले नगरकोटमा पानीको मुहानसँगै वन म्हासेर निर्माण गरिएको खेलमैदानका कारण जनताले वर्षाको समयमा पनि राम्रोसँग पानी पिउन नपाएको उल्लेख गर्नुहुँदै खानेपानीको मुहान सुक्नेगरी जथाभावी गैरजिम्मेवार काम गर्नेहरूमाथि कारबाही हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाको सेवा प्रवाहलाई पारदर्शी, जिम्मेवार, सरल र प्रभावकारी बनाउन नगरपालिकाले नागरिक बडापत्र राखिएको बताउनुहुँदै भक्तपुर नपालाई हालै ख्वप टेलिभिजन सञ्चालन स्वीकृति प्राप्त भएको बताउनुभयो ।


सभाको विशेष समयमा सभासद्हरु सिद्धिराम अवाल, जितेन्द्र मुनंकर्मी, कृष्णलाल किसी, राजकुमार शिल्पकार र सूर्यप्रसाद श्रेष्ठले किसानहरुलाई अन्नबालीको वीऊ उत्पादन गर्न प्रोत्साहित गर्नुपर्ने, नगरपालिका र वडा कार्यालयहरुमा सहायता कक्षको आवश्यकता रहेको, व्यवसायिक खेती गर्ने किसानहरुलाई सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्ने, बाटोको बीचमा रहेका बिजुलीका पोलहरु उपयुक्त ठाउँमा सार्न पहल गर्नुपर्ने र प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत भइरहेको कामको समय समयमा निरीक्षण तथा अनुगमन गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै सभासद्हरु कृष्णनारायण दुमरु, कृष्णसुन्दर प्रजापति, सुमित्रा बोहजू, रामसुन्दर बासी, इन्द्रबहादुर प्याठ र हरिरत्न गोर्खालीले देकोचादेखि चाँगुनारायण सडक चौडा गर्न पहल गर्नुपर्ने, पुराना माटाका भाँडाकुँडासहितको संग्रहालय निर्माण गर्नुपर्ने, बालबालिकाहरुको लागि चिल्ड्र्रेन पार्क बनाउनुपर्ने, एक विद्यालय एक खेलकुद नीति अवलम्बन्ध गर्नुपर्ने, वडा निरीक्षणहरुलाई प्राविधिक तालिम आवश्यकता रहेको र वडा वडामा रहेका व्यायामशाला मर्मतसम्भार गर्नुपर्ने, नपाले कृषि र भेटेनरी शाखा स्थापना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सभासद्हरु मन्जुमैंया लाखा, श्यामसुन्दर मातां, रिता फसिकवा, गंगालक्ष्मी बमनू र गोविन्द दुवालले वडाको नागरिक बडापत्र राख्नुपर्ने, भक्तपुर क्यानसर अस्पतालेदेखि हाकुफोहिटीको पश्चिमतर्फको पेटी निर्माणमा जोड दिनुपर्ने, सम्पदा क्षेत्र अगाडि सावरीसाधन पार्किङ निषेध गर्नुपर्ने, निकोसेरा पुल पेटी निर्माण गर्न पहल गर्नुपर्ने र खानेपानी समस्याको दिगो समाधान आवश्यक रहेकोलगायतका विचार राख्नुभएको थियो ।
त्यस्तै आजको बैठकमा आ.व. २०७९÷८० को बजेटबारे छलफलमा सभासद्हरु सूर्यप्रसाद श्रेष्ठ, नारायणप्रसाद त्वानाबासु, हेरा ख्याजु र गोविन्द दुवालले अघिल्लो कार्यकालका अधुरो योजनाहरुको निर्माण सम्पन्न गर्न बजेट व्यवस्था गर्नुपर्ने, घरबहाल कर उठाउनुपर्ने, करको दायरा बढाउनुपर्ने, छुमा गणेश मन्दिर द्योछेँ पुनःनिर्माणको लागि छुट्याएको बजेट अपुग भएको बताउनुभयो ।
सभाको अर्को बैठक २०७९ असार १६ गते बिहीबार दिनको १ बजे बस्ने गरी स्थगित भयो ।