स्थानीय सरकारको सुशासन प्रवद्र्धनमा पत्रकारले खोजे भूमिका

स्थानीय सरकारको सुशासन प्रवद्र्धनमा पत्रकारले खोजे भूमिका

भक्तपुर, असार ६ गते
स्थानीय तहका कर्मचारी भ्रष्ट भएकाले स्थानीय तहमा सुशासन प्रवद्र्धन नभएको भन्दै भक्तपुरका पत्रकारहरुले सुशासनका लागि आफ्नो भूमिका खोजेका छन् । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि पत्रकारहरुले स्थानीय तहका कर्मचारीहरुले पत्रकार मैत्री व्यवहार नदेखाएको दाबी गर्दै जनप्रतिनिधीहरुले निर्वाचनमा व्यक्त गरेका प्रतिवद्धता कार्यान्वयन गर्न जोड दिए । मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल, एफएच ३६० र यूएसएडसँगको सहकार्यमा आयोजित सो अन्तरक्रियामा स्थानीय तहलाई सही मार्गमा दोह्याउनका लागि पत्रकारहरुले वाचडगको रुपमा खोज पत्रकारितालाई निरन्तरता दिनुपर्ने आवश्यकतामा जोड दिएका हून ।
स्वरोजगारमूलक पत्रकारितामा रहेका भक्तपुरका पत्रकारहरुले दबाब, अभाव र प्रभाव झेल्दै पत्रकारिता गर्दा स्थानीय सरकारका वेठितिहरु बाहिर ल्याउन नसकिने प्रतिक्रिया पनि दिए । सरकारले दिने लोक कल्याणकारी विज्ञापन सञ्चार माध्यमका लागि विद्युत खर्च र नविकरणसम्मलाई पनि नपुगेको अवस्थामा सुशासनका लागि पत्रकारिता गर्नु आफैमा चुनौतिको विषय भएको पनि चर्चा गरेका थिए भने सो अवसरमा पत्रकारहरु आफैले पनि कुन उदेश्य र लक्ष्यका लागि पत्रकारिता गरिरहेका हुन सो पनि प्रष्ट गर्न सके पत्रकारहरुको भूमिका प्रष्ट हुने विश्लेषण गरेका थिए । सो अवसरमा पत्रकार रमेश गिरी, पेसल आचार्य, नारायण सुन्दर किलम्बु, कृष्ण नेपाल, कृष्ण किसी, सुन्दर सिल्पकार, सञ्जिब शुभचिन्तक, सुरेश सैंजूसहित २ दर्जन क्रियाशिल पत्रकारहरुले सहभागिता जनाएका थिए भने नेपाल पत्रकार महासंघका पूर्व सचिव प्रभात चलाउनेले स्थानीय सरकारको सुशासन प्रवद्र्धनमा सञ्चार क्षेत्रको भूमिकाका विभिन्न आयामहरु बारे प्रस्तुतीकरण गरेका थिए ।