ताथलीमा महाखली, एक दर्जन धामी भुंग्रोमाथि

ताथलीमा महाखली, एक दर्जन धामी भुंग्रोमाथि
भक्तपुर, जेष्ठ ३ गते
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ स्थित ताथलीको बस्नेत गाउँमा हिजो राती महाखलि कार्यक्रम आयोजना गरेको छ । समाजमा नयाँ धामी वा नयाँ पुस्ता तयार गर्न यस्तो कार्यक्रम आयोजना गर्ने गरेको स्थानीय रमेश बस्नेतले बताए । १सय ८ भारी डाउरालाई जलाएर भएको भुंग्रोमाथि नांगो खुट्टाले कुल्चेर आगो सेलाउने पम्परालाई खलि पर्व भन्ने गरेको उनको भनाई छ । यसरी आगोमाथि नांगो खुट्टा टेकेर आगो निभाउँदा पनि केही नहुने जनविश्वाससँगै नयाँ धामिले अग्नी परीक्षा उत्तिर्ण गर्ने पर्वको रुपमा खलि पर्व मनाउने चलन छ ।
आफ्नो जीवनमा धामी भएर यसरी आगोमा ६ पटक होमिएको स्मरण गर्दै रामकाजी खड्काले धामी भएका व्यक्तिमा कुल देवता चढ्ने अनुभूती सुनाउनु भयो । धामी भएको बेला आगो अगाडी पुग्ने बितिक्कै त्यतिकै उफार्ने र आगो माथि चढाउने गरेको उनको भनाई छ । ६ पटक यसरी आगोमा होमिन्दा पनि केही नभएकोमा आफै अचम्म मानेका खड्काले आफू मात्र होइन नयाँ पुस्तालाई पनि धामीको शिक्षा दिएर आगो निभाउन यस्तो पर्व आयोजना गर्ने गरेको बताए ।
समाजका मानिसहरुमा जो जोसँग देउटा चढ्छ । तिनीहरुको शरीर काम्ने र अकालमा बितेका मानिसहरुको कहानीहरु बक्ने भएकाले बायु उतार्ने पर्वको रुपमा पनि खली पर्व बनाउनुको महत्व छ उनले बताए । समाजमा धामीको कमी भएपछि देउटा चेढेका मानिसहरुलाई धामीसम्बन्धि शिक्षा दिएर तिनीहरुको विधिपूर्वक परीक्षा लिने परम्परा नै खली पर्व भएको अर्का भक्तजन नविन बस्नेतको बुझाई छ ।


खाली खुट्टामा केशरी बाहेक अरु डल्दैन । अविर जस्तो पहेलो केशरी डलेर खालि खुट्टाले भुग्रो माथि टेकेर आगो निभाउनु आफैमा चुनौतिको विषय हो । यस पर्वसँग कुलदेवता जोडिएकाले दिवंगतहरुको कल्याण र उद्धारका लागि समेत यसको महत्व रहेको र नयाँ पुस्तामा यो परम्परा र संस्कृति हस्तान्तरण गर्ने पर्वको रुपमा खली पर्व रहेको उहाँहरुको भनाई छ । हरेक वर्ष कुलदेवता पूजा गर्दै आएका ति समुदायले हरेक दुई दुई वर्षमा खली कार्यक्रम आयोजना गर्दै नयाँ धामीलाई दिक्षित गर्दै आएको छ । यस वर्ष नयाँ ३ जना धामी सहित एक दर्जन धामीहरुले महाखली पर्वमा सहभागिता जनाएका थिए । खली पर्व मनाउन दिनभर ब्रत बस्नुपर्ने परम्परा समेत रहेको स्थानीयको भनाई छ । परम्परागत बाजागाजा सहित नाँचगान गरी ताथलीको बस्नेत गाउँमा कौशिक गोत्र खप्तडी बस्नेत बन्धु कुल देवता एवं वायु देवता महाखली कार्यक्रम कुल गुरु रुद्रबहादुर खड्काद्को आतिथ्यतामा खप्तडी बस्नेत परिवारले यस वर्ष महाखली कार्यक्रम आयोजना गरेको थियो ।