सूर्यविनायक नगर प्रमुखलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण
भक्तपुर । नेपाली कांगं्रेस सूर्यविनायक नगर कार्य समितिले सूर्य विनायक नगर प्रमुख बासुदेव थापालाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।बुधबार नगरपालिका कार्यलय, कटुज्नेमा प्रमुखको कार्यकक्षमा काग्रेस नगर कार्य समिति सभापति निशान ढुंगेलको नेतृत्वको टोलीले ध्यानाकर्षण पत्र दिएको हो।
ध्यानकर्षण पत्र बुझ्दै नगर प्रमुख थापाले कांग्रेसले दिएका सुझावहरुलाई आफूले गंभिरतासाथ लिने बताउनु भयो । ‘हामी जनताकै सेवक भएर काम गर्ने छौं’ थापाले भन्नुभयो ‘तपाईहरुले दिएका राय, सल्लाह, सुझावलाई मैले सकारात्मक रुपमा लिएको छु ।’
थापाले, नेपाली कांग्रेस र एमाले मुलुकका जिम्मेवार पार्टीहरु भएको चर्चा गर्दे दुबै पार्टी विकासका बाहक भएको बताउनुभयो । थापाले भन्नुभयो ‘तपाईहरुले दिएका सुझावहरुलाई मनन् गरेर आगामी नगर परिषदमा समेटने प्रयास गर्ने छु ।’
नेपाली कांग्रेस सूर्यविनायक नगर कार्य समितिका सभापति निशान ढुंगेलले आफूहरुले दिएका सुझाव र ध्यानाकर्षणलाई सकारात्मक रुपमा लिएर अगाडी बढ्ने बताएकोमा पार्टी र आफ्नो तर्फबाट धन्यवाद दिनुभयो ।’
‘जनमुखी र जनतालाई सुखः दिने विकासका काममा सधै नेपाली काग्रेसको साथ र समर्थन रहने छ ’ढुंगेलले भन्नुभयो ‘आगामी नगर परिषदमा हामीले ध्यानाकर्षण पत्रमा दिएका सुझावहरुलाई विशेष ध्यान दिनु हुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’
ढुंगेलले नगरपालिका‘शासक भन्दा जनताको सेवक’ बनेर अगाडी बढेमा सूर्य विनायक कांग्रेस हातमा हात मिलाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
ध्यानाकर्षण पत्र, सूर्यविनायक नगर कार्य समितिका सचिव विश्वराम थापाले वाचन गरेर सुनाउनु भएको थियो । कार्यक्रममा उपप्रमुख सरिता भट्टराई तथा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेलको उपस्थिति रहेको थियो ।ढुंगेलको नेतृत्वमा कांग्रेस सूर्यविनायक नगर कार्यसमितिका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेस सूर्यविनायक नगर कार्य समितिले बुझाएको ध्यानाकर्षण पत्र
२०७९ वैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनमा सूर्यविनायक नगरपालिकाको नगर प्रमुख लगायतका पदहरुमा निर्वाचित पदाधिकारीहरुलाई नेपाली कांग्रेस सूर्यविनायक नगर कार्य समिति हार्दिक बधाई ज्ञापन गर्दे सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
सूर्यविनायक नगरपालिकाले गर्ने जनसरोकारका सकारात्मक काममा नेपाली कांग्रेस सूर्यविनायक नगर कार्र्य समितिको निरन्तर साथ, समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दे नगरपालिकाको नीति निर्माण,पूर्वाधार विकास लगायत जनसरोकारका विषयमा बुँदांगत रुपमा ध्यानाकर्षका केही विषय प्रस्तुत गरेका छौंं ।
ध्यानाकर्षणका बुँदाहरु
१.निर्माण सुरु गरिएका तर सम्पन्न हुन नसकेर अलपत्र बनेका, बिग्रिएका सडक,पुल पुलेसा,विद्युत, खानेपानी लगायतका पूर्वाधारका कामहरु अभिलम्ब निर्माण सम्पन्न गरियोस।
२.उपभोक्ता समिति गठन गर्दा सरोकारवाला समुह, समुदायको बृहत भेला बोलाएरमात्र उपभोक्ता समिति गठन गरियोस । उपभोक्ता समितिका काम कारवाही पारदर्शि हुने व्यवस्था गरियोस र सार्वजनिक सुनुवाईको व्यवस्था सुनिश्चित होस्।
३.नगरपालिकाका सार्वजनिक जमिनमा भइरहेको अतिक्रमण अन्त्य गरियोस । सार्वजनिक जमिन संरक्षणका योजना तयार गरियोस।
४.निजी क्षेत्रले जमिन प्लटिङ्ग गर्दा सार्वजनिक जमिन अतिक्रमण नगरियोस।
५.सूर्यविनायक नगरपालिका सबै वडामा आवतजावत गर्न सहज हुने गरी नगर यातायात सेवा संचालन गरियोस।
६.प्रत्येक वडामा न्यूनतम ५ वटा बेडको अस्पताल संचालनमा ल्याइयोस। अस्पतालमा स्तरीय प्रयोगशाला तथा प्रर्याप्त चिकित्सकको व्यवस्था गरियोस।
७.सामुदायिक विद्यालयहरुमा गुणस्तरिय प्राविधिक शिक्षाको व्यवस्था गर्दे विद्यालयहरुको गुणस्तर वृद्धि गरियोस।.संंस्थागत विद्यालयहरुलाई लगानी मैत्री वातावरण सृजना गर्दे व्यवस्थित गरियोस।
८.राजनीतिक आस्था तथा व्यक्तिगत प्रभावका आधारमा शिक्षकहरुबीच विभेद नगरियोस।
९.सूर्यविनायक नगरपालिकालाई प्लाष्टिक झोला मुक्त नगरपालिका बनाइयोस।
१०.नगरको फोहर व्यवस्थापनलाई व्यवस्थित गरियोस । महगो फोहर संकलन शुल्क तत्काल घटाइयोस।
११.खुला दिशा मुक्त सूर्यविनायक नगरपालिका लाई सफल, सार्थक बनाउन नगरपालिकाका सार्वजनिक स्थानहरुमा सार्वजनिक शौंचालय व्यवस्था गरियोस।
१२.खानेपानी समस्या देखिएका क्षेत्रहरुमा तत्काल सफा खानेपानीको व्यवस्था गरियोस।
१३.चर्को कर दर घटाइयोस, शुल्क समायोजन गरी व्यवहारिक बनाइयोस।
१४.‘जनप्रतिनिधी जनताका सेवक हुन, शासक होइनन्’ भन्ने मान्यतालाई आम नागरिकले अनुभव गर्नेगरी व्यवहारमा उतारियोस।
१५.विकास योजना कार्यान्वयन गर्दा ‘अधिकतम सहमति, न्यूनतम क्षती’को नीति अपनाईयोस।
जय नेपाल
निशान ढुंगेल
(सभापति)














