आज ११ औँ विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै ।

आज ११ औँ विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै ।
११ औँ विश्व रेडियो दिवस आज विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईँदैछ । यसवर्षको विश्व रेडियो दिवसको नारा ‘विश्वासका लागि रेडियो’ भन्ने तय गरिएको छ । संयुक्त राष्ट्रसङ्घको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । युनेस्कोको ३६ औँ सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखमा रेडियो दिवस मनाउने घोषणा गरेको थियो । दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालका अध्यक्ष अर्जुन गिरीले विभन्न घटनाक्रम, विपद्को समयमा नेपालका सामुदायिक रेडियोहरूको भूमिका महत्वूर्ण र अविस्मरणीय रहेको बताउनुभयो । तीन तहको सरकार बनेपछि रेडियोप्रतिको दृष्टिकोण एकै नहुनु, स्थानीय सरकार नै रेडियो सञ्चालनमा लागिपर्नु लगायतका केही समस्या देखिए पनि सरकारले नीतिगत रूपमा यी समस्या समाधान गर्दै जानुपर्ने अध्यक्ष गिरीको भनाइ छ । नेपालमा २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा औपचारिक रूपमा रेडियो सञ्चालन भएको हो । एफएम रेडियोको प्रसारण भने २०५२ सालदेखि सुरु भएको हो ।