६ महिनामा ४ पटक पेट्रोलियम पदार्थको भाउ बढ्यो ।

६ महिनामा ४ पटक पेट्रोलियम पदार्थको भाउ बढ्यो ।।
सुसीला श्रेष्ठ सीआईएन काठमाडौं
चालु आर्थिक वर्षको ६ महिनामा नेपाल आयल निगमले ४ पटक पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले अन्तरराष्ट्रिय बजारमै पेट्रोलीयम पदार्थको मुल्य १२ पटकसम्म बढ्नुलाई नेपालमा पनि बढाउनुपर्ने बाध्यता भन्छ तर विद्यार्थी सङ्गठनहरुले बढेको भाउ फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।गत भदौ र कात्तिकमा गरी ३ पटक नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको मूल्य बढायो । सत्ताधारी दलका विद्यार्थी सङ्गठनले बढेको भाउ फिर्ता गराउने भन्दै केही दिन आन्दोलन गरे तर फिर्ता हुनुको साटो २ महिनामै फेरि बढाइएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटिर ३–३ रुपैयाँ बढेअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ र डिजल, मट्टीतेललाई १ सय २२ रुपैयाँ तिर्नपर्नेछ । मूल्य बढाइएकोमा सत्ताधारी र विपक्षी दल निकट विद्यार्थी सङ्गठनको विरोध छ । निगम भने जतिसुकै विरोध भए पनि बढेको भाउ फिर्ता लिने पक्षमा छैन । पेट्रोलियम पदार्थको मूल्य समायोजनपछि पनि १५ दिनमा १ अर्ब ८८ करोड घाटा हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायको दाबी छ । निगमका अनुसार प्रतिलिटर पेट्रोलमा १० रुपैयाँ ७२ पैसा र डिजेलमा ६ रुपैयाँ ३३ पैसा अझैँ पनि घाटा छ । तर मट्टितेलमा प्रतिलिटर २२ रुपैयाँ ६४ पैसा, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ९ रुपैयाँ ६२ पैसा तथा वाह्य हवाई इन्धनमा प्रतिलिटर २९ रुपैयाँ नाफा छ । पेट्रोलियम पदार्थको भाउ बढाउँदा चौतर्फी असर पर्ने भएकाले फिर्ता लिनुपर्ने उपभोक्ता अधिकारकर्मी बाबुराम हुमागाईको भनाइ छ । ६२ रुपैयाँ ४१ पैसामा एक लिटर पेट्रोल खरिद गर्दा ५६ रुपैयाँ ३६ पैसा सरकारले कर लगाउने गरेको छ । राजस्व, भन्सार, मूल्य अभिवृद्धि कर, सडक सम्भार कर, पूर्वाधार विकास कर र वातावरण करका नाउमा रकम लिइँदा इन्धनको भाउ बढ्न गएको नेपाल आयल निगमको भनाइ छ ।