कर्मचारीहरु मालिक होइन सेवक भएर नगरबासीको सेवा गर्नुपर्ने जोड
भक्तपुर, १५ जेठ । कर्मचारीहरु मालिक होइन सेवक भएर नगरबासीको सेवा गर्नुपर्ने नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिले नेपाल कर्मचारी समाज भनपा ९ एकाई समितिको आयोजनामा स्थानीय तह निर्वाचन २०७९ का नव निर्वाचित जनप्रतिनिहिरुलाई शुभकामना एवम् बधाई ज्ञापन तथा सम्पूर्ण मतदाता, सहयोगी र शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन कार्यक्रम २०७९ मा बताउनुभयो । उक्त कार्यक्रम नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा एक समारोहबीच भक्तपुर साकोसको तालिमहलमा आईतबार सम्पन्नभयो ।

कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापतिले कर्मचारी र पार्टी कार्यकर्ताबीच भिन्नता रहेको बताउँदै कर्मचारीहरु आफ्रनो हक हितको निम्ति सोच्छ भने कार्यकर्ताहरु देश र जनताको निम्ति सोच्छ भन्नुभयो । उहाँले कर्मचारीहरुको व्यवहार राम्रो हुनु पर्ने बताउँदै नराम्रो कमजोर बानी व्यवहार सुधार गरी आफु प्रति आकर्षण बढाउनुपर्ने बताउनुभयो । उहाँले मानिसको मृत्यु कहाँ हुन्छ भनि भन्न नसक्ने भएकोले हाम्रो सानो कमजोरीले कसैको ज्यान जान सक्ने भएकोेले सचेत हुनुपर्ने बताउनुभयो । उहाँले हरेक व्यक्तिले अरु आफुभन्दा योग्य राम्रो भनि सोचे घमण्ड नआउने बताउनुभयो । उहाँले प्रशंसा गरेर विगार्नसक्ने तर्फ कर्मचारीहरु सचेत बन्नुपर्ने बताउँदै सामुहिक भावनाको विकास गरी सभ्य, सुसंस्कृत र राम्रो समाज बनाउने लक्ष्य पुरा हुने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारीहरु नियम विपरित गए दुर्घटना हुने बताउँदै सानो सानो कुरामा ख्याल राखे बोलीव्यवहार सुधार गरी समाज सेवा गर्ने भावना जागृत गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नव निर्वाचित वडाध्यक्ष रविन्द्र ज्याख्वले जनताले मादलमा छाप हाली अत्यधिक मतले विजय गराएको भनेको पार्टीलाई मत दिएको बताउँदै एमसिसि विरुद्धको कार्यक्रम, कोभिडको समयमा जनतासंग नजिक रहेर काम गरेको, नगरपालिकाले नगरबासीलाई दिएको सेवा नै मत बढ्नुको कारण भएको बताउनुभयो । उहाँले कार्यपालिका सदस्यको निर्वाचन, जिल्ला समन्वय समितिको निर्वाचन, प्रदेश र संघीय निर्वाचन आइरहेको बारे बताउनुभयो । उहाँले आजको बजेत भाषण चुनाबमुखी भएको बताउँदै कार्यान्वयनमा आशंका व्यक्त गर्दै श्रीलंका, बंगलादेशसंगै नेपालमा पनि आर्थिक संकतको तर्फ ढकेलिने बजेत भएको बताउनुभयो । उहाँले दिल्ली मोडेल, गुजरात मोडेल र ख्वप मोडेल फरक रहेको बताउँदै ख्वप मोडेल सय बर्ष पछिको भक्तपुर जुन समाजवादी व्यवस्था उन्मुख मोडेल भएको बताउनुभयो । उहाँले देको, मिवा र इटापाको आवास योजना बारे र प्रतिबद्धता अनुसार काम गर्ने बारे बताउनुभयो ।
कार्यक्रममा नेपाल कर्मचारी समाज भनपा ९ का अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा भनपा ९ समन्वय समितिका अध्यक्ष कृष्णभक्त लवजु, चुनाब परिचालन समिति भनपा ९ दत्तात्रय समितिका सञ्जय मानन्धर, चुनाव परिचालन समिति भनपा ९ सूर्यमढीका काशीलाल प्रजापति, इन्द्र बहादुर प्याथ, ज्ञानबहादुर मानन्धर, विकास प्रजापति र हरिकृष्ण दुवालले पनि निर्वाचितहरुलाई बधाई र मतदाता र सहयोगीहरुलाई धन्यवाद मन्तव्य राख्नुभयो ।













