यस बर्षको २४ औं भूकम्पीय सुरक्षा दिवस पाटन दरवार क्षेत्रमा  मनाइने

यस बर्षको २४ औं भूकम्पीय सुरक्षा दिवस पाटन दरवार क्षेत्रमा  मनाइने
काठमाण्डौ
“भूकम्पीय सुरक्षा सचेतना, सुरक्षित भवन सरचना” नाराका साथ यस वर्षको राष्ट्रिय भूकम्प सुरक्षा दिवस पाटन दरवार क्षेत्रमा मनाउने भएको छ । हरेक वर्ष माघ २ गते मनाउँदै आएको यस दिवसको मूल समारोह यस वर्ष पाटनमा आयोजना गर्ने भएको हो । शहरी विकास मन्त्रालयमा आज पत्रकार सम्मेलन आयोजना गरी सो दिवसको अवसरमा देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम तर्जुमा भएको पनि जानकारी दिए ।
गत पुस २५ गते देखि नै भूकम्पीय सुरक्षा दिवसको अवसरमा कार्यक्रमहरु सुरु भएको भन्दै यस वर्ष माघ १५ गतेसम्म देशका विभिन्न क्षेत्रमा ५२ वटा कार्यक्रमहरु आयोजना हुने बताए । सरकारी तथा गैर सरकारी तवरबाट मनाईने सबै कार्यक्रमलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका कार्यक्रमहरुको रुपमा लिएको छ । यस वर्ष २४ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवसले कमजोर संरचना निर्माणका कारण भूकम्पको बेला बढी धनजनको क्षति भएकाले बलियो र सुरक्षित निमार्णलाई जोड दिएको छ ।
वि.सं १९९० सालको महाभूकम्प गएको समय माघ २ गते दिउँसो २ बजेकै समयमा मूल समारोह आयोजना गरी हरेक वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउदै आएको छ । गत वर्ष मध्यपुर थिमीस्थित कुमारी पाटीमा २३ औ भूकम्प दिवस मनाएको थियो । भूकम्पीय सुरक्षामा जनचेतना अभिवृद्धिका लागि यो दिवस प्रधानमन्त्री, गृह मन्त्री, भूकम्पविद्हरुको आतिथ्यतामा आयोजना हुँदै आएको छ । काठमाण्डौ उपत्यकामा मुल समारोह आयोजना गर्दै देशभर विभिन्न कार्यक्रम गरेर यो दिवस मनाईदै आएको छ । यस दिवसमा भूकम्प प्रविधि राष्ट्रिय समाज सहित विभिन्न संघ संस्थाले ब्यवस्थापन र सहभागिता हुँदै आएको छ ।

सो अवसरमा देशका ७७ जिल्लाका जिल्ला विपद् व्यवस्थापन समिति, रेडक्रस सोसाईटी सहित बिभिन्न संघ संस्थाहरु तथा स्थानीय तहहरुले पनि सचेतनामूलक गतिविधिहरु आयोजना गर्दै आएका छन् ।