मंसीर १९
लामो समयदेखि पत्रकारिताको क्षेत्रमा क्रियाशील रहेका चार जना पत्रकारहरुलाई नेवाः पत्रकार राष्ट्रिय दबूले पुरस्कृत गरेको छ । नेवाः पत्रकार राष्ट्रिय दबूको नवौं वार्षिक साधारण सभा एवं कार्यकारिणी सभाको अवसरमा लामो समयदेखि पत्रकारीता क्षेत्रमा रहेर नेपालभाषा र पत्रकारीताको क्षेत्रमा दिएको योगदानको सम्मान गर्दै चार जनालाई विभिन्न पुरस्कार दिएको हो ।
सो अवसरमा २० हजार रुपैयाँ राशीको पोखराका पत्रकार उदयबहादुर अमात्यलाई ज्ञानज्योति–लक्ष्मीप्रभा पत्रकारिता पुरस्कार, १५ हजार राशीको कान्तिपुर दैनिकमा कार्यरत पत्रकार प्रशान्त मालीलाई ज्ञानदेवी–मणिरत्न स्मृति पत्रकारिता पुरस्कार प्रदान गरियो ।
त्यसैगरी १२ हजार रुपैयाँ राशी रहेको भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार बोधि टेलिभिजनका पत्रकार विमला शाक्य र १० हजार रुपैया राशी रहेको बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार वरिष्ठ फोटो पत्रकार पद्मसागर कक्षपतिलाई प्रदान गरियो ।
उनीहरुलाई नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्यले माल्यार्पण, नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले दोसल्ला, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले प्रमाण पत्र प्रदान गरे । नगद पुरस्कार भने सम्बन्धित पुरस्कार दाताले प्रदान गरिएको थियो । साथै धर्मादित्य धर्माचार्यको मुर्तीका निर्माता मनोज शाक्यलाई दोसल्ला ओढाएर सम्मान गरियो ।
सो अवसरमा मन्त्री श्रेष्ठले नेपाल भाषाको पत्रकारिताको विकासको लागि, सञ्चारमाध्यम समावेशी बनाउने कार्यमा सरकारको तर्फबाट आफ्नो महत्वपूर्ण पहलकदमी रहने बताए । उनले समाजको विकासको लागि जनउत्तरदायी स्वस्थ पत्रकारिता हुुनुपर्नेमा जोड दिए ।
सो अवसरमा पत्रकार राष्ट्रिय दबूका सल्लाहकार नरेशवीर शाक्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष गजुरधन राई, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव नारायणसुन्दर किलम्बु, राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह लगायतले मातृभाषा पत्रकारिताको माध्यमबाट भाषाको संरक्षणको साथै परम्परा, संस्कृति, सम्पदाको प्रवद्र्धन गर्न सकिनेमा जोड दिँदै मातृभाषा पत्रकारिताको विकासको लागि राज्यले विशेष प्याकेजकै घोषणा गर्नुपर्ने माग गरे ।
मंसीर १९ गते ।
देशभरका नेवार पत्रकारहरुको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूले २०७८ मंसीर १८ गते ललितपुरको सप्तपुर महाबिहारमा सम्पन्न गरेको ९ औं वार्षिक साधारणसभामार्फत १० बुँदे ललितपुर घोषणापत्र सार्वजनिक गरेको छ ।
दबूले सञ्चारमाध्यम पूर्ण समावेशी बनाएर मातृभाषाको पत्रकारितालाई थप सशक्त र व्यावसायिक बनाउनुपर्नेमा जोड दिएको छ ।
पत्रकार राष्ट्रिय दबूले शनिबार नेपालको पहिलो मातृभाषाका पत्रकारको धर्मादित्य धर्माचार्यको जन्मथलो ललितपुरको सप्तपुुर महाविहार चिकंबहीमा सम्पन्न ९ औं वार्षिक साधारण सभापछि जारी १० बुँदे घोषणापत्रमार्फत सो माग गरिएको हो । पत्रकार राष्ट्रिय दबूको नवौं साधारणसभा र बन्दसत्रमा उठाइएको विषयको आधारमा सो घोषणापत्र जारी गरिएको हो ।
पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्य र महासचिव सुनील महर्जनद्वारा हस्ताक्षरित सो घोषणापत्रमा भनिएको छ ‘बहुजातीय, बहुभाषिक र बहुधार्मिक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनामा प्रवेश गरिसकेको नेपाललाई समावेशी, सहभागितामूलक र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित जातीय विविधताले युक्त जीवन्त राष्ट्रका रूपमा अगाडि बढाउन सञ्चार माध्यम पूर्ण समावेशी हुनुपर्ने, मातृभाषा पत्रकारितालाई थप सशक्त बनाउनुपर्ने खाँचो छ ।’
घोषणापत्रमा नेपाली सञ्चार माध्यमको अन्तर्वस्तुमा नेपालको विविधता प्रतिविम्बित हुनुपर्ने र त्यसका लागि समाचारकक्षमा नेवाः लगायत आदिवासी जनजाति समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने, जनजाति सञ्चारकर्मीको क्षमता विकासका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी प्रेस काउन्सिलको इतिहासमै पहिलो नेपालभाषा र मैथिली भाषामा आचारसंहिता प्रकाशनले पत्रकार आचारसंहिताबारे सचेतना ल्याउन टेवा पु¥याएको उल्लेख गर्दै घोषणापत्रमा भनिएको छ ‘काउन्सिलले आगामी दिनमा नेपालको पहिलो मातृभाषाका पत्रकार धर्मादित्य धमाचार्य (जगतमान वैद्य) को व्यक्तित्व र कृतित्व बारे पुस्तकहरु प्रकाशन गर्न ध्यान जाओस् । साथै प्रेस काउन्सिलबाट प्रदान गरिने पत्रकारिता पुरस्कारमा मातृभाषाबाट पत्रकारिता गरिरहेका तथा नेवाः लगायत विभिन्न समुदायका पत्रकारहरु पनि प्रदान गर्न ध्यान आकृष्ट गर्न चाहन्छौं ।’
सो घोषणापत्रमा मातृभाषाको पत्रकारिताको विकासको लागि विशेष सुविधा तथा प्रोत्साहनको व्यवस्था हुनुपर्ने, राज्यले समानुपातिक र समानताका आधारमा अनुदान वितरण प्रणाली सञ्चालन गर्नुपर्ने पनि उल्लेख गरिएको छ । त्यसैगरी नेपाली पत्रकारहरु पहिलो पटक संगठित गर्ने सत्यनारायण बहादुर श्रेष्ठ नेपाल पत्रकार महासंघको संस्थापक भएको दाबी गर्दै उहाँको योगदानलाई कदर गर्नुपर्ने पनि घोषणा पत्रमा भनिएको छ ।
त्यसैगरी घोषणापत्रमा काठमाडौं महानगरपालिकाले स्थानीय पाठ्यक्रम ‘येँ देय् म्हसिके’ (काठमाडौंलाई चिनाऔं) पुस्तक प्रकाशन गरी महानगरपालिका क्षेत्रका सार्वजनिक र संस्थागत विद्यालय पठन पाठन अनिवार्य गरी पढाउने शिक्षक समेत व्यवस्था गर्नु युगौं सम्म महत्वपूर्ण राख्ने घटनाको रुपमा लिन भनिएको छ । यससंगै कीर्तिपुर नगरपालिकाले सो कार्यको शुरुआत गरेको छ ।