१८ औं महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस
२०७८ मंसिर १९ गते, आइतबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस आइतबार सम्पन्न भयो । दिवसकै अवसरमा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाका ३ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले नेपालमा बालबालिका र मातृ मृत्यु दर घट्नुमा स्वास्थ्य स्वयम्सेविकाहरुको भूमिका उल्लेखनीय भएको बताउनुहुँदै उहाँले महिला स्वास्थ्य स्वयम्सेविकाहरुको कदर र मनोबल बढाउने उद्देश्यले यो दिवस मनाउँदै आइरहेको बताउनुभयो ।
महिला स्वयम्सेविकाहरुले महिला, ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्यको क्षेत्रमा घरदैलोमा पुगेर आवश्यक स्वास्थ्य सेवा दिने काम गरिरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले स्वास्थ्य कार्यकर्ताहरुलाई समाजिक र राजनीतिक कार्यकर्ताको रुपमा परिभाषित गर्दै राजनीतिक गतिविधिहरुमा पनि स्वास्थ्य स्वयम्सेवकहरुले अभिरुचिपूर्वक चासो राख्नुपर्ने बताउनुभयो ।

समाजको निःस्वार्थ रुपमा सेवा गर्नु नै स्वास्थ्य स्वयम्सेविकाहरुको कर्तव्य भएको बताउनुहुँदै उहाँले समयको परिपालना, अनुशासन, इमानदारितालाई विशेष ध्यान दिएर आफ्नो कर्तव्य पालना गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एकमात्र सरकारी निकाय सिंहदरबार वैद्यखानाको स्तर झन् झन् खस्किँदै गइरहेको र पर्याप्त औषधीको अभाव, आधुनिक उपकरण नहुँदा त्यसप्रतिको विश्वसनीयता घट्दै गइरहेको उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले घरदैलो नर्सिङ सेवामा महिला स्वास्थ्य स्वयम्सेविकाहरुको भूमिका उल्लेखनीय रहँदै आएको बताउनुहुँदै उहाँले स्वय्सेविकाहरुले समुदायमा विभिन्न विषयमा सचेतना कार्यक्रमहरु गर्दै जनतालाई सचेत बनाउनुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी नियन्त्रणमा महिला स्वास्थ्य स्वयम्सेविकाको भूमिकाबारे चर्चा गर्नुहुँदै भक्तपुर नपाले स्टाफ नर्स र स्वास्थ्य स्वयम्सेविकाबाट घरदैलो नर्सिङ सेवा पुनः सञ्चालनमा ल्याएको पनि अवगत गराउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले स्वास्थ्य स्वयम्सेविकाहरुले उच्च मनोबलका साथ आफ्नो कर्तव्य निर्वाह गरे समाजमा त्यसको परिणाम पनि सकारात्मक हुने बताउनुभयो । भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा, सुशासनलगायतका क्षेत्रमा स्थापित गरेको सेवा सुविधासम्बन्धी व्यवस्था ख्वप मोडलको रुपमा जनजन जिब्रोमा झुन्डिन थालेको उहाँले चर्चा गर्नुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले नेपालको संविधानले स्वास्थ्यलाई आधारभूत मौलिक हकको रुपमा स्थापित गरेको र उक्त संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी अधिकारलाई सबै नागरिकले उपभोग गर्न पाउने अवसरको सिर्जना राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले गरेको बताउनुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका स्टाफ नर्स रचना सुवालले पनि बोल्नुभएको थियो ।
१८ औं महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवसमा सम्मान हुने स्वास्थ्य स्वयम्सेविकाहरु वडा नं. ७ का लक्ष्मीकेशरी तुईतुई, वडा नं. ८ का तारादेवी धन्छा र ५ का सजना कवां रहेका छन् ।













