एसईईको नतिजा प्रकाशित, कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय

एसईईको नतिजा प्रकाशित ।।
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्याङ्कन देशभरबाट सङ्कलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो । विद्यालयबाट आएको मूल्याङ्कनलाई प्रमाणीकरण गरी सार्वजनिक गरिएको परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । विद्यालयको आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणीकरण गरेकोले यो वर्ष पनि बोर्डले नतिजा विश्लेषण नगरेको उहाँले जानकारी दिनुभयो । परीक्षा नियन्त्रण कार्यालयले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फ प्राप्त गर्न सकिने बताएको छ ।

कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय ।।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिनुभयो । कोरोना सङ्क्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकोले स्थगित गरेको उहाँले बताउनुभयो । यसअघि कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले कोरोना सङ्क्रमण बढ्दै गएको कारण तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार गरेको थियो । विद्यार्थी संगठन र अभिभावकहरुले सबै परीक्षार्थी र परीक्षामा संलग्न सबैलाई कोभिड विरुद्धको खोपको व्यवस्थापन गर्न, व्यवस्थापन गर्न नसक्ने भए स्थगित गर्न माग गर्दै आएका थिए ।