भक्तपुरमा कोभिड १९ सूचना एकाई सुरु,
सूचना पाउन अझै ढिलाइ !
भक्तपुर, भाद्र ७ गते
भक्तपुरमा कोभिड १९ सूचना व्यवस्थापन एकाई सुरु भएको छ तर समयमै सूचना सम्प्रेषणको व्यवस्था हुन नसक्दा यसको प्रभावकारीता देखिन थालेको छैन । कोभिड १९को संक्रमण बढ्न थालेसँगै भक्तपुर जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले सूचना व्यवस्थापन एकाई यस हप्ता देखि सञ्चालनमा ल्याएको हो । कोभिड १९सम्वन्धि सम्पूर्ण सूचना एकद्धार प्रणालीबाट व्यवस्थित गर्न भन्दै जिल्ला स्वास्थ्य कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका एक एक जना प्रतिनिधीहरुको समन्वयमा सो एकाई सञ्चालनमा ल्याएको हो । स्वास्थ्य मन्त्रालयले संक्रमितहरुको सूचना सम्प्रेषण गर्ने बितिकै जिल्लाका ४ वटै स्थानीय तहहरुलाई संक्रमितहरुको सूचना दिएर आवश्यक सुरक्षा र उपचार व्यवस्था गर्न सो एकाईले सूचना व्यवस्थापन गर्ने जिम्मेवारी पाएको एकाई प्रमुख निष्ठा बल्लले बताए ।

जिल्ला प्रशासन कार्यालय प्रांगणस्थित शहरी विकास कार्यालय भक्तपुरको भवनमा सञ्चालित सो एकाईले जिल्लाका कोरना संक्रमित, मृत्यु, उपचारको अवस्था, निको भएकाहरुको अभिलेख राख्नुका साथै विभिन्न अस्पतालहरुको आइसियू, भेन्टिलेटर, आइसोलेशन र क्वारेन्टिनको समेत अभिलेख राखी सो एकाईले कोभिड १९को संकट व्यवस्थापनमा सूचना व्यवस्थापन गर्ने भएको उहाँले जनाए । सूचना व्यवस्थापन बारे थप जिम्मेबारी आउन बाँकी रहेको उल्लेख गदै उहाँले संक्रमितहरुको नामाबली स्थानीय तहमा पुर्याएपछि स्थानीय तहकै नेतृत्वमा संक्रमितहरुको उपचार व्यवस्थापन र सुरक्षा व्यवस्था हुने बताए । आवश्यक परे नेपाल प्रहरी, नेपाली सेना, र सशस्त्र प्रहरी समेत परिचानकालागि तयारी अवस्थामा आ आफ्नो सुरक्षा निकायमा समेत सर्कुलेशन गर्न सो एकाईमा सुरक्षाकर्मीहरु पनि विहान १० बजे देखि साँझ ५ बजेसम्म आईतबार देखि ड्यूटीमा बस्न थालेको बताए ।
शनिबार विदाको दिन पनि घर मै बसेर भए पनि सूचना व्यवस्थापनमा जुत्ने बताउँदै उहाँले स्वास्थ्य मन्त्रालयबाट सूचना आएपछि मात्रै स्थानीय तहहरुका प्रतिनिधीहरुलाई सूचना दिन सक्ने उहाँले बताए ।
मन्त्रालयबाट कहिले चाँदै सूचना आउने त कहिले धिला गरी सूचना आउने र कहिले संशोधन समेत भएर फेरी विवरण आउने गरेकोले अहिले तुरुन्त सूचना दिन नसकिरहेको उहाँको ठम्याई छ । कहिले काहि संक्रमितको नाम, ठेगाना समेत गलत सूचना सम्प्रेषण हुँदा समुदायमा कोभिड १९को त्रास बढेको, संक्रमित क्षेत्रको सुरक्षा एवं उपचारमा बिलम्ब हुने कुरामा सर्तक भई थप व्यवस्थित सूचना सम्प्रेषणमा आफूहरु जुत्ने उहाँले बताए ।
शनिबार संक्रमित भएका ५० जना मध्ये बुलाछें हुनुपर्नेमा भोलाछें भएको सूचना प्रेषित हुँदा भोलाछेंका समुदायमा कोरोनाको भय बढाएको स्थानीयले गुनासो गरेका छन् ।














