नगर प्रमुख प्रजापतिबाट ह्वाङ ह्वाङ पाटी शिलान्यास

नगर प्रमुख प्रजापतिबाट ह्वाङ ह्वाङ पाटी शिलान्यास
२०७८ साउन ९ गते, शनिबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार भक्तपुर नपा वडा नं. १ सल्लाघारीमा अवस्थित रानी पोखरी (न्हु पुखु) को दक्षिण भागमा रहेको ह्वाङ ह्वाङ पाटीको शिलान्यास गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले २०७६ साल जेठ १५ गतेबाट सुरु भएको भक्तपुरको रानी पोखरी पुनःनिर्माण कार्य करिब करिब अन्तिम चरणमा पुगेको बताउनुभयो ।
पुर्खाले सिर्जेको सम्पत्तिलाई मौलिक शैलीमा संरक्षण गर्ने कार्य भक्तपुर नपाले सफलताका साथ सम्पन्न गर्ने अभियानमा जुटेको बताउनुहुँदै प्रमुख प्रजापतिले इतिहास, भूगोल, संस्कृतिलगायतका जनशक्ति उत्पादन गर्ने उद्देश्यले ती विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्तिको समेत व्यवस्था गर्दै आएको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is 222693016_863833127574988_6897903698215785828_n.jpg
भक्तपुरको रानीपोखरीलाई पुनर्जीवन दिने प्रयासमा नगरपालिका अग्रसर रहेको बताउनुहुँदै प्राप्त पुराना प्रमाणको आधारमा पोखरी पुनःनिर्माण अघि बढाइएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले काठमाडौंको रानीपोखरी संरक्षणमा समेत सहयोग गरेको बताउनुहुँदै देशकै सम्पत्ति संरक्षण गर्न नगरपालिका निरन्तर प्रयासरत रहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नपाले मन्दिर, पोखरी, पाटीपौवालगायतका सांस्कृतिक सम्पदा संरक्षण र जीर्णोद्धार गरी सम्पदालाई पुनःजीवन दिने कार्य गरिरहेको बताउनुहुँदै सर्वसाधारण, आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि खुल्ला गर्ने गरी पोखरी पुनःनिर्माण कार्य छिटो सम्पन्न हुनेगरी काम अगाडि बढाइरहेको बताउनुभयो ।
त्यस्तै इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले रानीपोखरीको निर्माण नेपाल संवत् ७५० अर्थात् वि.सं.१६८७ मा मल्ला राजा जगज्योती मल्लले गरेको बताउनुहुँदै रानीपोखरीको दक्षिणपटि रहेको ह्वाङ ह्वाङ पाटीमा रहेको शिलालेखअनुसार सो पोखरीको नामाकरण पुष्करणी भनी उल्लेख गरिएको पाइएको बताउनुभयो । राखी पोखरीलाई न्हु पुखुको नामबाट चिनिने गरेको बताउँदै इतिहासविद् श्रेष्ठले रानी पोखरीको निर्माण पाँच महिनाको छोटो अवधि बनेको इतिहास रहेको बताउनुभयो । पोखरीको दक्षिणभागमा अवस्थित ह्वाङ ह्वाङ पाटी २०५६ सालमा भत्केको इतिहासबारे प्रष्ट पार्नुहुँदै डा. श्रेष्ठले भक्तपुर नपाले इतिहास ब्युँताउन गरेको पुनःनिर्माण कार्य सदास्मरणीय हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेमकिपा वडा नं. १ का पार्टी इन्चार्ज लक्ष्मीनारायण राजलवट, ह्वाङ ह्वाङ पाटी पुनःनिर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष राजन कोजु, सदस्य रक्सी गारु र सुलोचना कोजूले पनि आफ्नो धारणा राख्नुभएको थियो । ह्वाङ ह्वाङ पाटी पुनःनिर्माण कार्यको लागत इस्टिमेट रु. ६१ लाख रहेको पनि सो कार्यक्रममा जानकारी गराइएको थियो ।